बाजुरा, रगतको अभाव हुँदा सुत्केरी पीडामा छटपटीदै...

 बाजुरा बैशाख २०,

बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको जिल्ला स्वास्थ्य कार्यालयको आकस्मिक कक्षमा प्रसूति हुन नसकेर बोकेर ल्याइएका दुई महिला छट्पटाइरहेका छन् ।

जिल्लाको पूर्वोत्तर जगन्नाथ गाविस–३ की २२ वर्षीया वसन्ती विष्ट चार दिन अगाडिदेखि प्रसव पीडामा छट्पटाइरहेकी हुन् । उनलाई गाउँको स्वास्थ्य चौकीमा प्रसूति गराउन ल्याइएको र त्यहाँ उपचार हुन नसकेपछि आफन्तले बोकेर कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य चौकीमा पु¥याए । त्यहाँ पनि उपचार हुन नसकेको र तीन दिनसम्म कोल्टी विमानस्थलमा जहाज नआएका कारण सदरमुकाम ल्याइएको कुरा उहाँका देवर रामबहादुर विष्टले बताए।

“कोल्टीमा जहाज आएन, जिल्लामा ल्याएका हौँ, यहाँ पनि रगत नपाएर समस्या भएको छ । घरका चारैजना यहाँ आएका छौँ । भाउजुको अवस्था यस्तो छ । उहाँको शरीरमा हेमोग्लोविनको मात्रा ०.२ मात्र रहेको छ,” उनले भने।

विष्टको साल निस्केपनि बच्चा ननिस्केका कारण रक्तस्राव भएको हो । त्यसपछि शरीरमा रगतको कमी भएको छ । आकस्मिक प्रसूति सेवा दिनका लागिसमेत समस्या भएको कुरा जिल्ला स्वास्थ्य कार्यालय, बाजुराकी सि अनमी ललिता थापाले बताइन्। थापाले भनिन्– “विष्टलाई ‘ओ’ पोजिटिभ रगत कम्तीमा ६ पिन्ट रगत चाहिएको छ ।” एक पिन्ट रगत उपचारमा संलग्न डाक्टर राजन न्यौपानेले दिए भने थप रगत हालसम्म पाइएको छैन ।

त्यस्तै, रगत नपाएकै कारण सात दिनदेखि बडीमालिका नगरपालिका–९ कि सारदा विकसमेत छट्पटाइरहेकी छिन् । उनको शरीरमा रगतको कमी भएको हुनाले प्रसव पीडा भएका कारण जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचारका लागि ल्याइएको थियो ।

‘रगत पाइएको छैन, रगत पाइयो भने शल्यक्रिया गरेर बच्चा निकाल्न मिल्दो रहेछ,’ उनका श्रीमान् सुर्जे विकले भने ।

जिल्लामा रगत सङ्कलन केन्द्र नभएपछि यहाँका नेपाली सेना, प्रहरी जवान र स्वास्थ्यकर्मी आफैंले रगत दिएर बिरामी बचाउने गरेका छन् ।

‘नेपाल रेडक्रस सोसाइटी, बाजुराले ब्लड बैंक स्थापना गर्न केन्द्रबाट स्वीकृति नपाएका कारण समस्या भएको बताएको छ । ‘सर्वदलिय बैठक बसालेर धेरै पटक स्वीकृतका लागि लेखि पठाएका छौँ, तर हालसम्म आएको छैन,’ नेपाल रेडक्रस शाखा बाजुराका मन्त्री रामबहादुर शाहीले भने।

जिल्लामा रगत सङ्कलन केन्द्र छैन । रगत अभावका कारण अधिकांश महिलाले अकालमा ज्यान गुमाउनु परेको जिल्ला अस्पतालले जनाएको छ । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com