धेरै महिला पिसाब चुहिने समस्याबाट प्रताडित

 काठमाडौं जेठ १०,

गर्भवती हुनुअघिसम्म मंगलमाया मानन्धरको जीवन निकै सुन्दर ढंगले चलिरहेको थियो । भक्तपुर घर भएकी उनीसँग परिवार थियो, माया गर्ने श्रीमान् थिए । सबथोक थियो । विवाह भएको केही वर्षपछि श्रीमान्सँग सल्लाह गरेर उनले बच्चा पाउने योजना बनाइन् । बच्चा पाउन केही असहज भयो । दुई दिन प्रसव वेदना नै झेल्नुपर्यो । यही दुई दिनको गुमाइन्, आफ्ना जीवनका सम्पूर्ण खुशी । ९ महिना कोखमा हुर्काको बच्चा अप्रेसन गरेर मृत अवस्थामा निकालियो र अर्काे पिसाब चुहिने समस्या (फिस्टुला)  भएर फर्किइन् । उनमा त्यो समस्या देखिएपछि माया गर्ने श्रीमान् पर–पर हुन थाले । यातना दिन थाले ।

सबथोक छाडेर २३ वर्षअघि किर्तिपुरस्थित एक विहारमा पुगिन्  । अहिले पनि त्यहीँ बस्छिन् । बिहारमा आएर एक्लो जीवन बिताउन बाध्य उनले त्यहाँ पनि उस्तै व्यवहार भोगिन् । मान्छेको छिः छि र दुरदुर उनले २२ वष सहिन् । दुई वर्षअघि अघिमात्रै उनको उपचार भयो । जसले उनलाई नयाँ जीवन पाएको महशुस भएको छ ।
त्यस्तै, सोलुखुम्बु, छेस्कामकी मेनुका राई १७ वर्षकी हुँदा विवाह भयो । विवाह लगत्तै गर्भवति भएकी मेनुका  एक हप्ता लामो प्रसव व्यथा पछि उनले मृत शिशु जन्म दिइन् । प्रसव व्यथा लामो हुँदा पिसाब थैली र योनीमार्गको बिचमा प्वाल बन्न गई लगातार पिसाब चुहिरहने समस्या आइलाग्यो उनलाई । गाउँ नजिक स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी नहँदा एकवर्षसम्म उनी आफ्नो समस्या लुकाएर बस्न बाध्य भइन् । गत माघमा उनको शल्यक्रियाद्वारा उपचार गरियो । अहिले उनको जीवन प्रक्रिया सामान्य बनेको छ ।

फिस्टुला अर्थात् पिसाव चुहिने समस्याको उपचार ढिलै भएपनि उनीहरुले पाए । त्यसैले अहिले सामान्य जीवन यापन गरिरहेका छन् । तर, अझै यसबारे जानकारी नभएका थुप्रै महिलाहरु आफ्नो समस्या लुकाएर बस्न बाध्य छन् । जो, दिनदिनै अपहेलना सहन बाध्य छन् ।

मेनुका र मंगलमायाले यो समस्याका कारण आफूले झेलेका दुःख सुनाए, सोमबार । कााठमाण्डु मोडेल अस्पतालले अन्तर्राष्ट्रिय फिस्टुला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनीहरुले उपचारअघि भोगेका नारकीय जीवन र उपचारपछिको अनुभव बाँडेका थिए ।

सन् २०१३ देखि निःशुल्क रुपमा फिस्टुला पिडित महिलाहरुको उपचार गर्दै आएको अस्पतालले हालसम्म एक सयजनाको उपचार गरिसकेको छ । तर, अझै थुप्रै महिला पिडा लुकाएर बसेको र तिनीहरु समक्ष पुग्ने नसकिएको अस्पतालका चिकित्सकहरुले बताए ।

लामो समयसम्म प्रसव व्यथा लाग्दा शिशुको टाउकोले आमाको योनीमार्ग र पिसाब थैली वा मलासयलाई धेरै समयसम्म च्याप्दा वा थिच्दा प्वाल  पर्ने चिकित्सकले बताए । असुरक्षित सुत्केरी गराउने हाम्रोजस्तो अविकसित देशमा धेरै महिलामा यस्तो समस्या देखिन्छ । तीमध्ये कति काठमाण्डु मोडेल अस्पतालमा आउने गरेको अस्पतालकी स्त्रीरोग विशेषज्ञ अरुणा कार्की बताउछिन् ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार प्रति एक हजार महिला प्रसव हुँदा तीनजना महिलामा प्रसव फिस्टुलाको समस्या देखिन्छ । सन् २०१२ को यू.एन.एफ.पि.ए. तथा ओरेकको संयुक्त प्रतिवेदन अनुसार नेपालमा प्रत्येक वर्ष २ सय देखि ४ सय महिलाहरुमा यस्तो समस्या देखा पर्छ ।

नेपालका महिलाको स्वास्थ्य समस्या मध्ये विकराल  रुपमा पनि यसलाई हेर्न सकिन्छ । किनकी निरन्तर दिसापिसाव चुहिने हुँदा समाजमा  अपेहेलित हुने डरले उनीहरु खुल्न चाहदैनन् । आफ्नो समस्या अरुलाई सुनाउन डराउँछन् ।

गर्भवति महिलाको उपयुक्त हेरचाह, नियमित स्वास्थ्य जाँच गराउनुका साथै प्रसव अवस्थामा दक्ष स्वास्थ्यकर्मीको उचित सहयोग र समुचित व्यवस्थापनले फिस्टुला हुने सम्भावनाबाट बचाउने सकिने डा.कार्कीले बताइन् ।
देशैभरीका जिल्ला अस्पतालमा यसको उपचार गर्ने व्यवस्था हुनुपर्ने उनले बताइन् । उनी भन्छिन्, ‘यदि सबै जिल्ला अस्पताल यो सेवा पु¥याउन सक्ने हो भने महिलाहरु घरपरिवार र समाजबाट अपहेलित हुने, दुव्र्यवहार खेप्ने र  बहिस्कृत हुने पीडाबाट जोगिन्थे ।’

अस्पतालका डाइरेक्टर डा.भरत प्रधानले फिस्टुलाको उपचार सेवाको विस्तार जरुरी भएको बताए । उनले भने, ‘ग्रामीण भेगमा यस सम्बन्धि चेतना विस्तार गरिनुपर्छ र जिल्ला अस्पतालमै उपचार सेवाको व्यवस्था मिलाउन सक्नुपर्छ ।’-स्वास्थ्य कबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com