कमाउन कतार गएका उतिमलाल मृत्यु भएको २६ महिनापछी परिवारमा खबर

 सुष्मा साह/सर्लाही ,
वैशाख २० ,

अहिले प्रविधिले विश्वलाई एउटै गाउँ जस्तो बनाएको छ । विश्वको एउटा कुनाको सूचना छिनभरमै अर्को कुनामा पुग्ने समयमा महोत्तरीका एक परिवारले भने आफन्तको मृत्यु भएको खबर २६ महिनापछि मात्रै थाहा पाए । 

वैदेशिक रोजगारीका लागि कतार गएका उतिमलाल महतोको ज्यान गएको २६ महिनापछि मात्रै उहाँको परिवारले थाहा पाएको हो । २०६८ सालमा  मिथिला म्यानपावरमा १ लाख ९५ हजार बुझाएर कतार पुगेका उतिमलालले दुई दिनपछि घरमा फोन गरेर आफूले काम सुरु गरेको जानकारी गराउनुभयो । त्यसपछि उतिमलालले परिवारलाई सम्पर्क गर्नुभएन । उहाँसँग सम्पर्क नभएको एक महिना दुई महिना होइन दुई वर्ष भइसकेको थियो । तर परिवारले न त उतिमलालको खोजी गर्न सक्यो न त खोजीदिने संस्थासम्म पुग्न नै । 

‘हामीलाई विदेशमा हराएका व्यक्ति खोजिदिने संस्था छ भन्ने नै केहि थाहा थिएन’ उतिमलालकी आमा मती देवी, श्रीमती कविता देवीले भन्नुभयो ‘त्यसैले उहाँलाई खोज्न सकेका थिएनौं’। घरमा भएका छोराछोरी सधैँजसो आमा कवितासँग अरुका बुवा विदेशबाट आउँछन हाम्रो बुवा चाहिँ किन नआउनुभएको भनेर सोधिरहन्थे । कवितालाई छोराछोरीलाई पढाउने चिन्तासँगै घर चलाउने चिन्ता पनि त्यतिकै थियो । कमाउन गएका श्रीमान विदेशमा बेपत्ता भएपछि कविताले दाउरा बेचेर परिवार चलाउन थाल्नुभयो । तर दाउरा बेचेको पैसाले हातमुख जोर्न मात्रै ठिक्क भएपछि छोरीलाई पढाउन सक्नुभएन । ‘त्यसैले छोरी अहिले स्कूल जान्न’ कविताले भन्नुभयो ।  

घर चलाउन धौ धौ भएपछि कविता श्रीमानको पर्खाइमा हुनुहन्थ्यो । तर उतिमलालको भने नेपालबाट गएको दुई महिनामै ज्यान गइसकेको थियो । कतार पुगेको दुई महिनामा विरामी भएका उतिमलाललाई अस्पताल कहाँ छ भन्ने पनि थाहा थिएन । त्यसैले अरु नेपालीसँग सोधखोज गरेर अस्पताल त पुग्नुभयो । तर अस्पताल भर्ना भएको १०/१५ दिनमै उहाँको ज्यान गयो । तर उहाँको ज्यान गएको न त कसैले थाहा पायो न त कसैले भनिदियो नै ।  प्रशासनले जानकारी दिएन अस्पतालको जानकारीका आधारमा उतिमलालको ज्यान गएको खवर नेपाली दुतावाससम्म त पुग्यो तर १० महिनापछि मात्रै । 

अनि यो खवर नेपाल आइपुग्न २ वर्ष लाग्यो । २ वर्ष पछि दूतावासले उतिमलालको ज्यान गएको भन्दै परिवारलाई जानकारी गराउन जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई पत्राचार गर्यो । तर प्रशासनले न उतिमलालको परिवारको खोजी गर्‍यो न त जानकारी नै गरायो ।  उतिमलाललाई खोजीरहेका परिवार सर्लाही मलंगवामा रहेको सूचना केन्द्रमा पुग्दा पनि उहाँका बारेमा केहि जानकारी पाएका थिएनन् । त्यहिबिचमा जनकपुरको एउटा रेडियोले  उतिमलालको ज्यान गएको खबर भन्यो भन्ने हल्ला फैलियो गाउँमा । अहिलेसम्म त छोरो फर्किन्छ भन्ने आशा थियो आमा मति देवीलाई पनि । तर ज्यान गयो भन्ने हल्ला सुनेपछि अतालिँदै सूचना केन्द्रमा पुग्नुभयो । 

केन्द्रले दूतावाससँग बुझेपछि उतिमलालको ज्यान गएको पुष्टि भयो । ज्यान गएको खबर परिवारसम्म आइपुग्दा उतिमलालको शव आधा भन्दा धेरै गलिसकेको थियो । गलेकै भएपनि शव ल्याइदिन श्रीमती र आमाले आग्रह गरेपछि केन्द्रले उतिमलालको शव गएको २०७२ वैशाख ६ गते नेपाल ल्याएर दाहसँस्कार गरियो । उतिमलालको ज्यान गएपछि आर्थिक समस्यामा परेको उतिमलालको परिवारलाई वैदेशिक रोजगार प्रबद्धर्न वोर्ड र बीमा कम्पनीले ८ लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । _स्रोत-उज्यालो;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com