जन्मिँदै एचआइभीको सङ्क्रमण

काठमाडौँ बैशाख २६,

अन्जली बस्नेत : उनी पाँच वर्षका भए । अन्य सामान्य बालबालिकाको जस्तै उनको बौद्धिक र शारीरिक विकास हुन सकेको छैन । राम्ररी बोल्नसमेत उनलाई गाह्रो हुने गर्छ ।

जन्मँदै एचआइभी एड्स सङ्क्रमित उनलाई उक्त सङ्क्रमण भएको दुई वर्षअघि मात्र पत्ता लाग्यो । नेपालको पश्चिमी क्षेत्रमा घर भएका उनका बुबा भारततर्फ कामको सिलसिलामा गइरहन्थे । उनकै बाबुबाट आमालाई यो रोग लागेको र गर्भमा छँदा उनी पनि त्यसबाट सङ्क्रमित भएको अनुमान मात्र गर्न सकिन्छ । किनकि यो कुरालाई अझ स्पष्ट पार्न उनका आमाबुबा दुवै जीवित छैनन् ।

ती पाँच वर्षीय बालककी आमा पनि गत वर्ष एड्स सङ्क्रमणकै कारण बितिन् । त्यस बेलादेखि उनको लालनपालन र रेखदेख एक गैरसरकारी संस्थाले गर्दै आएको छ । महिनाको एकपटक एआरभी ९एन्टी रेट्रोभाइरल० थेरापीका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको एआरटी शाखामा ल्याइन्छ । उनलाई त्यहाँ ल्याउने लैजाने व्यवस्था पनि त्यही गैरसरकारी संस्थाले नै गर्छ ।

प्रौढ अवस्थामा पुगेका एक जोडी सात वर्षका बालकलाई काखी च्यापेर महिनाको एकपटक उक्त अस्पतालमा देखिने गर्छन् । एआरटी शाखामा भेटिने उनीहरु आफ्ना लागि उपचार गराउन आएका भने हैनन् । सन्तानको साह्रै रहर लागेपछि प्रौढ अवस्थामा भए पनि ती बालकलाई उनीहरुले धर्मपुत्रका रुपमा ग्रहण गरे ।

बालकलाई खेलाउँदै ती आमाले भनिन् – “पाँच वर्षको उमेरसम्म त खासै स्वास्थ्यमा समस्या देखिएको थिएन । तर त्यसपछि भने निमोनियाले सतायो । उपचार पटक पटक गराउँदा पनि निको नभएपछि भने एचआइभीको परीक्षण गरियो । रिजल्ट पोजेटिभ देखियो ।”

“त्यसपछि मलाई छाँगाबाट खसेको जस्तो भयो,” उनले भनिन् – “जुन बालकलाई आफ्नो भविष्य भनि सोचेका थियौँ, उसैलाई कहिल्यै निको नहुने रोग लागेपछि के होला रु तैपनि हामीले हिम्मत हारेका छैनौँ । जहिलेसम्म सक्छौँ हामी उसको उपचारमा लागि रहनेछौँ ।”

बच्चालाई चिसो नलागोस् भनेर उनको हातमा थर्मसको तातो पानी कहिल्यै टुट्दैन । यो रोगले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा कमी ल्याउँछ भन्ने जानकारी भएरै होला फलफूल पनि उनको झोलामै भेटिन्छ ।

अर्की एक बालिकाको व्यथा पनि उस्तै छ । आर्थिक अवस्था अत्यन्त कमजोर रहेको परिवारमा उनका बुबा भारतमा कामकै सिलसिलामा जाने क्रममा नै आफ्नो शरीरमा एचआइभीको कीटाणु बोकेर आए । उनीबाट श्रीमती र श्रीमतीबाट सन्तानमा एचआइभीको जीवाणु सर्दै गयो । उनका आमाबाबु त जीवितै छन् तर उनीहरुको शारीरिक अवस्थामा सुधार आउन सकेको छैन । परिवार नै एक गैरसरकारी संस्थाको भरमा बाँचेका छन् । 

बालिकाको रोगबारे उनलाई जानकारी गराइएको छैन । अहिले उनी अन्य स्वस्थ बालबालिकासँगै कक्षा ५ मा अध्ययन गरिरहेकी छिन् । उनलाई महिनाको एक पटक अस्पताल ल्याएर औषधि खुवाइन्छ तर के का लागि के औषधि हो उनलाई अहिलेसम्म थाहा दिइएको छैन ।

आफूले केही गल्ती नगरे पनि आमाबाबुको गल्तीका कारण यस्तो पीडा भोग्ने बालबालिका कैयौँ छन् । अस्पतालसम्म पुगेर उपचार गर्न ८९ बालबालिकाले पाइरहेका छन् । सन् २००४ देखि उक्त अस्पतालमा एआरभी थेरापी सुरु गरिएको थियो । त्यतिबेला १४ वर्ष उमेरसम्मका ८९ बालबालिकामध्ये अहिले धेरै युवावस्थामा पुगिसकेका छन् । अस्पतालमा एचआइभी सङ्क्रमितलाई परामर्श दिँदै आएका चिकित्सक अनुप बास्तोलाका अनुसार ती बालबालिकामध्ये युवावस्थामा पुगिसकेका अहिले कोही डाक्टर बन्ने क्रममा छन् भने कोही अन्य विशिष्ट क्षेत्रमा क्रियाशील छन् ।

“बालकबाट किशोरावस्थामा प्रवेश गर्ने बेला उनीहरुले खाँदै आएका औषधि के हो र यो खुवाउनुको कारण के हो भनेर उनीहरुलाई जानकारी दिन साह्रै गाह्रो छ,” उनी भन्छन् – “कोही त डिप्रेसनमा नै पर्ने गर्छन् । यस्तो रोग मलाई मात्र किन लागेको होला भनेर एकोहोरिने गर्छन् । उनीहरुलाई परामर्श दिन गाह्रो हुन्छ ।” एचआइभी भएको आमाले गर्भधारण गरेर सन्तानलाई जन्म दिन चाहिन् भने २० देखि ४५ प्रतिशतसम्म मात्र बच्चालाई पनि एचआइभी सर्ने सम्भावना हुन्छ । यदि उनले गर्भावस्थादेखि नै एआरभी उपचार सुरु गरिन् भने एक प्रतिशतभन्दा पनि कम बच्चालाई पनि एचआइभी सर्ने जोखिम रहने डा बास्तोलाले स्पष्ट पारे ।

मानव शरीरमा रोग प्रतिरोधात्मक कोशिकाको सङ्ख्या ५०० देखि एक हजार ५०० सम्म भयो भने सामान्य नै मानिन्छ । डा बास्तोलाले भने – “५०० भन्दा कम भयो भने अवसरवादी रोग अर्थात् क्षयरोग, निमोनिया, रुघाखोकी जस्ता रोग लागिरहन्छन् । त्यसैले एआरभीले कोशिकाको सङ्ख्या घट्न दिँदैन र बढाउँदै लग्छ ।” 

एआरभी उपचार सुरु गर्नुभन्दा अघि अवसरवादी रोग लागेमा भने औषधिको प्रभाव कम हुन सक्ने उनले बताए । उनका अनुसार अधिकांश बच्चालाई निमोनिया, क्षयरोग लागेपछि मात्र एचआइभी परीक्षण गराउने भएकाले उपचार नै ढिला हुन पुग्छ र प्रभाव कम हुन जान्छ । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com