भारत जान लागेका ४ किशोरीको उद्धार

 भैरहवा जेठ ५,

रोजगारीको खोजीमा भारत जान लागेका चार जना किशोरीहरुलाई नेपाल-भारत सीमा नाकाबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । बिना योजना र बिना आफन्त भारत जान लागेका रसुवा र बाग्लुङका युवतीहरुलाई भारतसँग जोडिएको भैरहवा नाकाबाट उद्धार गरिएको हो ।

घरबाट भागेर रोजगारी खोज्न भन्दै भारत जान लागेकाहरुलाई ईलाका प्रहरी कार्यालय बेलहियाको सहयोगमा महिला हिंसा तथा चेलिबेटी बेचबिखन बिरुद्धको क्षेत्रमा कार्यरत संस्था केआई नेपालले उद्धार गरी आफन्तको जिम्मा लगाएको हो । उद्धार गरिएका युवतीहरु १८ र १९ वर्ष उमेरका छन् ।

उनीहरुलाई दुई दिनसम्म संस्थाको संरक्षणमा राखी आफन्तको जिम्मा लगाइएको केआई नेपाल रुपन्देहीकी संयोजक तारा सापकोटाले बताइन् ।

‘सामान्य शिक्षामात्र लिएका उनीहरु रोजगारी गर्न भारत जाने भने पनि उनीहरुसँग कहाँ गएर के काम गर्ने भन्ने योजना थिएन, न त उनीहरुका कुनै आफन्तनै भारतमा थिए,’ सापकोटाले अनलाइनखबरसँग भनिन्, ‘यसरी भारतमा जाँदा अलपत्र परिने र दलालको परिबन्दमा पर्नसक्ने सम्भावना देखेर उनीहरुलाई परामर्श दियौं र घर फर्कन राजी भए ।’

गाउँमा जाने पर्यटकको भरीयाको रुपमा काम गरेर दैनिकी चलाउँदै आएका रसुवाका किशोरी रोजगारी खोज्न भन्दै भारत जाँदै थिए । भूकम्पपछि गाउँतिर पर्यटक पनि आउन छाडेको र पर्यटकको भारी बोक्ने काम पनि नपाएकाले काम खोज्न भारत जाने लागेको उनीहरुले बताए ।

‘पछिल्लो जुलाई महिनामा यसरी भारत जान लागेका १६ जनालाई उद्धार गरी घर फिर्ता पठाइएको र २७ जनालाई थप अनुसन्धानको लागि प्रहरीेलाई बुझाइएको उनले बताइन् ।’_स्रोत-अनलाइन;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com