मेरी आमाको कसम

रबिन्द्र मिश्र ,

लामो बेलायत बसाईपछि सन् २००९ मा स्थायी रूपमा नेपाल फर्किँदा मैले कान्तिपुर दैनिकमा लेखेको थिएँ, ‘म फर्किएर कैयौं नेपालीहरूले झैं हिलोमा कमल फुलाउन नसकुँला, आकासको तारा खसाउन नसकुँला। म त्यस्तो कुनै महान् लक्ष्य लिएर फर्किन लागेको पनि होइन। तर ...कल्याणको काममा कसैका लागि पनि साहायकसिद्ध हुन पाएँ भने म आफूलाई भाग्यशाली सम्झने छु।’

फर्किएपछिका वर्षहरुमा मैले आफ्नो अधिकांश निजी समय त्यही काममा व्यतित गर्दै आएको छु। मैले परोपकारी गतिविधिमा संलग्न थुप्रै व्यक्ति या संस्थाहरूलाई कसैलाई समय खर्चिएर, कसैलाई व्यक्तिगत पैसा खर्चिएर र कसैलाई कोष संकलन गरिदिएर सहयोग गरेँ। साथमा आफू नै संलग्न भएर जन्माएको परोपकारी संस्था हेल्प नेपाल नेटवर्कका लागि गर्नु पर्ने कामहरू त आफ्नो ठाउँमा छँदै थियो। ‘व्यावहारीक परोपकार’ र ‘परोपकारी पत्रकारिता’ मेरो जीवनको लगाव बन्यो जसलाई मैले शब्द र कर्मबाट सधैँ प्रवर्धन गर्न चाहेँ।
हाम्रो समाजमा नकारात्मक खबर सुख्खा जंगलको डढेलो झैं फैलिने तर सकारात्मकताको चर्चा हत्तपत्त नहुने प्रकृतिको छ। सामान्यतया, नकारात्मकताको चर्चाले नकारात्मक नै र सकारात्मकताको चर्चाले सकारात्मक नै तरङ्ग सृजना गर्छ। जति हामीले राम्रोलाई प्रवर्धन गर्न सक्यौं त्यति नै समाजमा सकारात्मकता हावी हुने हो। त्यसैले मान्छे हुनाको परिणामस्वरूप म आफैंमा निहित अनेकौं कमजोरीका बाबजुद, मेरो पछिल्लो चरणका लेखाइमा मैले सकभर सकारात्मकताको मात्र चर्चा गर्न प्रयास गरेँ। त्यसैको परिणाम थियो परोपकारी स्तम्भ-निबन्धहरूको संग्रह,‘खान पुगोस्, दिन पुगोस्’।

राम्रो मन, वचन र कर्मबाट प्रेरित नेपालभित्र र बाहिरका ठूलो संख्यामा रहेका नेपालीहरूसँग मिलेर अनेकौं कार्यहरू गर्ने क्रममा मैले अत्यन्तै ठूलो सदभाव र सहयोग पाएँ, जुन सम्झिँदा पनि मेरो अन्तरआत्मामा एउटा अनौठो खुशी र शक्ति जागृत हुन्छ। त्यो सहयात्राका क्रममा अनगिन्ति नेपालीहरूसँग मिलेर गरेका सयौं साना-ठूला परोपकारी कार्यहरू मेरो जीवनको सबभन्दा ठूलो सम्पत्ति हो। तर ती सारा कामहरू गर्ने क्रममा मैले सिकेको एउटा पाठ के हो भने, जीवनको कुनै लगाव र विश्वासलाई बृहत्तररुपमा प्रवर्धन गर्न चाहने हो भने त्यो कहिल्यै सहज नहुने रहेछ, खासगरी त्यो आर्थिक पक्षसँग जोडिएपछि।

किनभने, हरेक समाजमा एउटा यस्तो वर्ग हुन्छ जसले तपाईं नहिँड्दा ‘त्यो हिँड्दै हिँडेन’ भन्छ र हिँड्दाखेरी ठेस लाग्यो भने उठाउन आउँदैन बरू ‘देखिस्...मैले त भनेकै हो नि, त्यो फटाहा र ढोँगी थियो, लड्यो’ भनेर टिप्पणी गर्छ। संकिर्णताबाट ग्रस्त त्यो सानो वर्ग ‘मह काड्नेले हात त सधैं चाटी हाल्छ नि’ भन्ने विश्वास गर्छ। यो समाज जतिसुकै भ्रष्ट भए पनि, यही समाजमा राम्रो काम गर्न चाहाने प्रशस्त मान्छेहरू पनि छन् भनेर त्यो वर्गले सोच्दै सोच्दैन। मान्छेलाई समष्टिगतरूपमा मुल्यांकन गरिनु पर्छ, कोही पनि मान्छे पूर्ण हुन सक्दैन र हरेक सकारात्मक मान्छेले केवल पूर्णतातिर इमान्दारीपूर्वक अघि बढ्ने प्रयासमात्र गर्न सक्छ भन्ने सो वर्गका सदस्यहरू बुझ्नै चाहदैंनन्। उनीहरू तथ्य खोज्न चाहदैंनन्, हल्लैहल्लामा रूमल्लिएका हुन्छन्। तिनले आफूलाई पूर्णरूपमा ज्ञानी र विवेकी सम्झिन्छन् र आफूले मन नपराएको व्यक्तिमा अज्ञानता र विवेकशुन्यता मात्र भेट्दछन्। किनभने, ती समाजका काँडा हुन्, तिनको काम नै घोच्ने हो।

तर नकारात्मक सोच भएका मान्छेहरूको संख्या सधैं सानो हुन्छ। तिनको केवल आवाज ठूलो हुन्छ। त्यसैले कहिलेकाहीँ धेरैलाई तिनकै आवाज समाजको प्रतिनिधि आवाज हो कि भन्ने भान पर्छ। ती विषालु हुन्छन् र कहिलेकाहीँ कतिपयलाई सिँगो समाज नै विषाक्त छ कि भन्ने प्रतित हुन्छ। ती आक्रामक हुन्छन् र हिँसात्मक हुन्छन्। त्यसैले तिनको संख्या सानै किन नहोस् सिधा बाटोमा हिँड्नेहरू तिनीहरूदेखि डराउँछन्। ती सेतो कमिजमा लागेको कालो मसीको दाग जस्तै हुन् जसले सबैका आँखा खिच्दछन् तर तिनले सम्पूर्ण कमिजलाई कालो बनाउन सक्दैनन्। समाजमा राम्रो काम गरिरहेका कतिपय व्यक्तिहरूले मसँग त्यस्ता मानिसहरूले दिएको दु:खका बारे बारम्बार गुनासो गरेपछि मैले ‘निन्दकहरु’ शीर्षकको एउटा यस्तो कविता लेखेको थिएँ:
समालोचकहरू सन्तुलित हुन्छन्
निन्दकहरु नकारात्मकै हुन्छन्

तर ती खाक्सी जस्तै हुन्
जति ती धसिंदै जान्छन्
त्यति तिमी चम्किंदै जान्छौ, साथी
चिन्तै नगर!

ती भुसका आगो हुन्
आफैंभित्र भतभत बल्छन्
छटपटाउँछन्
खरानी हुन्छन्
तिमी त अटल दियो हौं, साथी
चिन्तै नगर!

ती दुखेका मन
विषाक्त मस्तिष्क हुन्
ती टुटेका मुटु
फुटेका आशा हुन्

ती वक्र दृष्टिका नायक हुन्
आफैसँग हारेका आत्मा हुन्
आत्मग्लानीले पोलेका तावा हुन्
ती बल्दै जान्छन्
ती डढ्दै जान्छन्

तिमी त तमसो मा बलेको ज्योति हौं, साथी
चिन्तै नगर!
(कविता संग्रह 'रवीन्द्र मिश्रका कविता'बाट)

त्यति बोध हुँदाहुँदै र बारम्बार अरूका लागि अनौपचारीक मनोबैज्ञानिक परामर्शदाताको काम गर्दा गर्दै पनि म आफैंलाई बेलाबखत दिक्क लाग्ने नगरेको होइन। नकारात्मकताले गाँजेका व्यक्तिहरुको त कुरै छोडिदिउँ, तिनले त के-के लेख्छन्, लेख्छन्! केही समयअघि चर्चित समिक्षक तथा साहित्यकार हरि अधिकारीले समेत ‘रवीन्द्र मिश्रको कविताले ३५ लाख कमायो अरे’ भनेर एउटा लोकप्रिय अनलाइन पत्रिकासँगको अन्तर्वार्तमा भनेछन्। उनले त्यति भनेका के थिए, कविता वाचन गरेर मिश्रले लाखौं कुम्ल्यायो भन्नेहरुको कमी रहेन। अधिकारीजस्ता कालो र सेतो दुबै पक्षमा समदृष्टी राख्ने समिक्षकले वास्तविकता के हो भनेर एक पटक सोधिदिएको भए हुन्थ्यो।
तर उनले मेरो पुस्तकको सम्पुर्ण लेखकश्व चितवनका चेपाङ्गहरूका लागि असाध्यै राम्रो काम गरिरहेको मितेरी फाउण्डेशनलाई जान्छ र मैले गत एक वर्षमा परोपकारी कविता वाचनबाट जम्मा गरिदिएको झण्डै ५० लाख रूपैयाँबाट मैले एक पैसा पनि लिएको छैन, त्यो सबै रकम परोपकारी कार्यहरुका लागि गएको छ भन्ने बुझ्न आवश्यक नै ठानेनन्। मनमा जे आयो, त्यही ठोकिदिए शानका साथ। त्यसले पितामाता समानको उमेरका, शरीरमा किरा परेका, सडकमा त्यागिएका, मानसिक सन्तुलन गुमाएका बृद्धबृद्धा, अनाथ बालबालिका र विभत्सरुपमा बलात्कृत भएर अलपत्र परेका महिलाहरूको हेरचाह गर्ने मानव सेवा आश्रमजस्तो मैले सहयोग गरेको संस्थाको हितलाई कति घात गर्छ भन्ने सोच्दै सोचेनन्।

मैले असाध्यै धेरै सामना गर्नु पर्ने टिप्पणीचाहिँ परोपकारी गतिविधिको शिलशिलामा म पनि संलग्न भएर हेल्प नेपाल नेटवर्कका लागि संकलन गरिएको कोषसँग सम्बन्धित छ। कतिपयको चिन्ता मैले संकलित पैसा हिनामिना गरेँ भन्ने हुन्छ। एउटा आरोप परोपकारका लागि संकलन गरिएको पैसा रातो बंगालाजस्तो धनाड्य स्कुललाई दियो भनेर फैलाइएको हौवा छ। के म र मसँग काम गर्ने साथीहरू पागल हौं? के हाम्रो नाक छैन? के हाम्रो स्वाभिमान र इज्जत छैन? कि ती आरोप लगाउनेहरुमात्र चेतना भएका मान्छे हुन् र हामीचाहिँ पशु हौं? हामीले बारम्बार भनिसक्यौं, हामीले रातो बंगाला स्कुललाई एक पैसा पनि दिएको छैन, रातो बंगला स्कुलको परोपकारी अंग रातो बंगाला फाउण्डेशनको प्राथमिक शिक्षामा रहेको विशेषज्ञता प्रयोग गरेर ४ लाख ९६ हजार रूपैयाँ हाम्रो तर्फबाट खर्च गरेर काभ्रे जिल्लाका ९ वटा प्राथमिक विद्यालयका शिक्षकहरूलाई तालिम दिएका हौं भनेर। ती स्कुलहरू सो तालिमबाट यति खुशी भएका थिए कि उनीहरू त्यस्तै तालिम फेरि भइदिए हुन्थ्यो भन्ने चाहिरहेका छन्। तर नकारात्मकताका नायकहरू तथ्य बुझ्न चाहदैंनन्। ती सोच्छन् हामी पैसा खाने डाँका हौं र उनीहरू वुद्ध हुन्!

मैले कतै भ्रष्टाचार विरोधी मन्तव्य दिएँ भनें, उनीहरू उफ्रिदै लेख्छन्,‘तँ नै भ्रष्टाचारी होस्!’ उनीहरू बुझ्नै चाहदैंनन् कि हेल्प नेपाल नेटवर्कले स्थापनाकालदेखि नै परोपकारका लागि दिइएको पैसाबाट एक पैसा पनि कार्यलय संचालन र तलबका लागि खर्च गर्दैन। यो एउटा असामान्य शैली हामीले सदा कायम राखेका छौं र कार्यलय संचालनका लागि छुट्टै अक्षय कोष निर्माण गरेका छौं। संकलित कोष कसरी प्रयोग भएको छ भन्ने कुरा हेल्प नेपाल नेटवर्कको फेसबुक पेज (https://www.facebook.com/helpnepal.net/) र मेरो आफ्नै पेजमा फोटोहरूसहित बारम्बार अध्यावधिक गर्ने गरेका छौं। तर फेसबुक पेजमा हालेका सन्देश समान्यतया सो पेजलाई ‘लाइक’ गर्नेहरुमध्ये लगभग १५ प्रतिशत कहाँ मात्र पुग्ने विभिन्न अनुसन्धानले देखाएको छ। बाँकी ८५ प्रतिशत कहाँ त्यो नपुग्न सक्छ। जसले हामीले बेलाबेलामा दिएको जानकारी हेरेका हुँदैनन् तिनले हामीले पहिले नै त्यसबारे लेखिसकेको हुन सक्छ भनेर सोच्दै सोच्दैनन्। आफूले प्रश्न गरेकै बेला जवाफ खोज्दछन्। पब्लिक पेजमा अलि धेरै ‘लाइक’ भएकाहरूले हरेक प्रश्नको जवाफ दिन असम्भव त हुन्छ नै, फेरि हरेक पटक ‘तैंले पैसा खाइस्’ भन्दा स्पष्टिकरण दिइरहनु आवश्यक पनि हुँदैन।

यो देशका अधिकांश अंगहरु यति अव्यवस्थित ढंगबाट चलेका छन् कि यहाँ कुनै न कुनै समयमा बाध्यतावस् या अनजानवस् अधिकांश नागरिकले कहिँ न कहिँ नियम-कानुन तोडेकै हुन्छन्। अरु त कुरै छोडिदिउँ, नियम लागु गर्नेहरू नै त्यो समस्याबाट बच्न सकेका हुँदैनन् भन्ने कुरा ढुक्कसँग भन्न सकिन्छ। त्यो दृष्टिकोणबाट हेर्यो भने नियम-कानुनले नछुने यो देशका अत्यन्तै विकट गाउँमा बस्ने जनता बाहेक बाँकी सबैजसोलाई सचेत तुल्याउने या कानुनी कारवाही गर्ने ठाउँ रहन्छ। तर हाम्रो समस्या बाध्यता र अनजानमा हुने त्यस्ता अनियमितता होइन। हाम्रो समस्या नियतवस हुने भ्रष्टाचार हो।

त्यही परिप्रेक्षमा आज मैले ‘परोपकारका लागि उठाएको पैसा तैंले खाइस्’ भनेर बारम्बार आरोप लगाउनेहरूलाई सार्वजनिकरूमा विनम्रतापूर्वक केही भन्ने निर्णय गरेको छु। किनभने, यो हाम्रो समाजमा इमान्दारीपूर्वक काम गर्ने र आधारहीनरूपमा तथानाम चरित्र हत्या गर्न प्रयास गर्ने दुबैका लागि सान्दर्भिक हुनसक्छ। हुन त नेपालमा शब्दमा त्यति ठूलो आदर्श र शक्ति निहित  भएको भए हाम्रा कयौं भ्रष्ट नेता तथा प्रशासकले सदाचारका विषयमा जनाएका प्रतिबद्धता र दिएका भाषणहरू हामीले विश्वास गर्नु पर्ने हो, तर हामी गर्दैनौं। तैपनि कुनै शब्द र वाक्यहरू यस्ता हुन्छन् जुन महानीच र महाभ्रष्टले पनि भन्ने आँट गर्दैनन्।

तर म भन्छु र आज आमाको मुख हेर्ने दिनमैं भन्छु: ‘मैले नियतवस एक पैसा भ्रष्टाचार गरेको भए र मैले परोपकारका लागि संकलन गरेको रकमबाट एक त के आधा पैसा पनि हिनामिना गरेको भए, मलाई मेरी बृद्ध आमाको रगत पिए बराबरको पाप लागोस्!’ जसले बारम्बार पैसाको विषयलाई लिएर मेरो या अन्य कसैको चरित्र हत्या गर्ने प्रयास गरेका छन्, तिनमा पनि यति भन्ने आँट भए, म तिनीसँग चित्त दुखाउने होइन, तिनको जयजयकार गर्नेछु।_साभार - सेतो पाटी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com