कामको प्रलोभन देखाएर भारत लगिदै गरेको ९ महिलाको उद्धार

रासस  कञ्चनपुर जेठ १२,

भारतमा काम गर्ने प्रलोभन दिएर लैजाँदै गरेका नौ जना महिलाको कञ्चनपुरको महेन्द्रनगरस्थित बसपार्कबाट उद्धार गरिएको छ ।

मानव बेचबिखन विरुद्धको कार्यमा संलग्न गैरसरकारी संस्था थ्री एन्जल्स् नेपालको सहयोगमा महिलाको उद्धार गरिएको हो ।

आफन्त कहाँ जाने भनेर बसपार्क हुँदै भारततर्फ हिँड्न थालेका चितवन, सिराहा, सिन्धुपाल्चोकका नौ जना महिलाको उद्धार गरिएको थ्री एन्ल्सका शाखा प्रबन्धक आरती शर्माले बताइन् ।

“भारततर्फ जान हिँडेका सबै महिलालाई जाने ठाउँबारे राम्ररी जानकारी नभएको, कामबारे जानकारी नभएको र काम गर्न जाने मान्छेसँग चिनजान नभएको सोधपुछका क्रममा पाइएपछि बसपार्कबाटै रोकथाम गरी उद्धार गरेका छौँ”, प्रबन्धक शर्माले भनिन् ।

उद्धार गरिएका महिला बेचबिखनको उच्च जोखिममा पर्ने सम्भावना भएकाले रोकथाम गरी आफन्तलाई बुझाइने उहाँले बताउनुभयो । उद्धार गरिएका सबै महिलाको उमेर बीस वर्षभन्दा माथि रहेको छ ।

यसैगरी, सोमबार पश्चिमी सीमा नाका गड्ड चौकी हुँदै भारतको मनाली हिमाञ्चल लैजाँदै गरेकी रामेछापकी १२ वर्षीया किशोरीको माइती नेपाल कन्चनपुरले उद्धार गरेको थियो ।

किशोरीलाई भारततर्फ लैजाँदै गरेका काभ्रे घर भई काठमाडौँमा डेरा गरेर बस्ने ३७ वर्षीय तेजबहादुर स्याङ्तान उर्फ विजय मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमार्फत प्रेमको प्रलोभनमा पारी मोक्तानले किशोरीलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको माइती नेपालले जनाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com