‘हरेक घरमा एउटी छोरी नर्स बन्नुपर्छ’

 रेणुका खड्का, नर्स, बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान

हरेकवर्ष मे १२ का दिन मनाइने ‘विश्व नर्सिङ दिवस’ नर्सहरुका लागि उत्साहको दिन र महान चाडजस्तै बन्ने गरेको छ । यो दिनले बिरामीको सेवामा थप तल्लिन रहने प्रेरणा दिने  गर्छ । यो प्रेरणाको स्रोत नै फ्लोरेन्स नाइटिंगेल हुन् । आज उनकै देनले गर्दा प्रत्येक घरका छोरीहरु उनीजस्तै नर्स भएर बिरामीको सेवा गर्ने इच्छा राख्छन् ।

म आँफै पनि स्कुलमा उनको जीवनी पढ्दा साह्रै प्रभावित भएकी थिएँ र भविष्यमा एक नर्स बनेर सेवा गर्ने संकल्प गरेकी थिएँ । उनको जस्तो त्याग र तपस्या गर्न नसके पनि रोगी, बिरामीको सेवा अन्तिम अवस्था सम्ममा पनि गर्नेछु भन्ने विश्वास छ ।

कुनै पनि कुराको सुरुवात गर्दा बाधा अड्चन त अवश्य आइपर्छ । तर त्यसबाट कति पनि विचलित नभई आफ्नो लक्ष्यमा अडिग रहन सक्नुपर्छ । फ्लोरेन्स नाइटिङ्गेलले पनि आफू परिचारिका भएर काम गर्दा समाजका मानिसहरुले राम्रो मानेनन्, धेरै कुरा काटे । कसैले पनि उनी परिचारिका भएर काम गर्ने कुरा रुचाएनन् । उनकै बाबाले पनि उनलाई यस्तो काम नगर्न भने ।

परिचारिका भएर काम गर्दा अरुको दिसापिसाब सोहोर्ने, रगतसँग खेल्ने, फोहोर तथा घाउ सफा गर्ने भनी मानिहरुले उनलाई नराम्रो नजरले हेर्थे । त्यसका बाबजुद पनि उनले आलोचना गर्नेलाई वास्ता गरिनन् । बरु जति संघर्ष गरेर भए पनि यस पेशाको उत्थान गर्ने सोच बनाउँदै क्रिमियन युद्धमा घाइते सैनिकलाई युद्धक्षेत्रमै गएर उपचार गरिन् । उनी रातदिन केही नभनी सेवामा समर्पित भइरहिन् । पछि उनी आफ्ना दुवै आँखा गुमाई दृष्टिविहीन भइन् । यस घटनाले घाइते तथा बिरामी सैनिकहरु साह्रै दुःखी भए । उनले रातदिन नभनी अध्याँरोमा पनि मैनबत्ती बालेर बिरामीको सेवा दिने भएकाले उनी ‘लेडी विथ द ल्याम्प’ उपनाले प्रख्यात भइन् । उनको निरन्तरको मिहनेत र अठोटका कारण विश्वसामू आफूलाई चिनाउन सफल भइन ।

स्वदेशमा मात्र हैन विदेशमा समेत नर्सहरुको एकदमै माग छ । हिजो अस्पतालमा मात्र सीमित नर्स आज समुदाय, विद्यालय, उद्योग सबै ठाँउमा अपरिहार्य भएको छ । आज समाजलाई स्वस्थ बनाउन हामी नर्सहरुको भुमिका अपरिहार्य छ । हरेक घरकी एउटी छोरी नर्स नै हुनुपर्छ जस्तो लाग्छ । प्रत्येक घरका छोरीहरुको पहिलो चाहना पनि नर्स बन्ने र सेवा गर्ने नै हुन्छ । एसएलसी पछिको तीन वर्षे पढाई र प्लस टु विज्ञान गरेर ४ वर्षे बिएस्सी नर्सिङको पढाई पछि नेपाल नर्सिङ काउन्सिलको परीक्षामा पास भएपछि बल्ल नर्स भएर समाजको सेवा गर्ने लाइसेन्स प्राप्त हुन्छ ।हिजोसम्म हेयको भावले हेरिने यो पेशा आज विश्वमै सम्मानपूर्ण बनेको छ ।_स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com