कल्पना फाउण्डेसनद्वारा छात्रवृत्ति प्रदान

काठमाण्डौ जेठ २,

कल्पना फाउण्डेसन नेपालले श्री विजय निमाविमा अध्ययनरत गरिब तथा जेहेन्दार दुई विद्याथीहरुलाई यस वर्ष पनि छात्रवृत्ति प्रदान गरेको छ । 

२०७३ जेष्ठ १ गते विद्यालय परिसरमा एक समारोहको आयोजना गरी फाउण्डेसनले सो छात्रवृत्ति प्रदान गरेको हो । विद्यालय निरीक्षक ऋषिराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहमा फाउण्डेसनका तर्फबाट उपाध्यक्ष शान्ति पौडेल (रश्मी) ले गरिब तथा जेहेन्दार विद्यार्थीहरु कक्षा २ मा अध्ययनरत साजन पौडेल र कक्षा ४ मा अध्ययनरत चिनिमाया खाम्चा मगरलाई छात्रवृत्तिको रकम हस्तान्तरण गर्नु भएको हो । 

ती विद्यार्थीहरु उच्च अङ्क ल्याएर कक्षामा प्रथम र द्वितीय भएका थिए । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि विद्यालय निरीक्षक ऋषिराम शर्माले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कल्पना फाउण्डेसनलाई जिल्ला शिक्षा कार्यालयका तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो । उहांले विदेशमा पसिना बगाउन गए पनि आफ्नो देशको समाजमा रहेका गरिब तथा असहाय विद्यार्थीहरुका बारेमा चिन्ता गरेर छात्रवृत्तिको यो सिलसिला सुरु गर्नु भएकी संस्थाकी अध्यक्ष कल्पना पौडेलको यो कार्य प्रशंसनीय र अनुकरणीय रहेको समेत बताउनु भयो । 

सो समारोहको विशिष्ट अतिथि विद्यालयका श्रोत व्यक्ति रामबाबु ढकाल र गैडाकोट नगरपालिकाका प्रतितिधि महेन्द्र खनाल रहनु भएको थियो । समारोहलाई सम्बोधन गर्दै विशिष्ट अतिथिद्वय ढकाल र खनालले समेत फाउण्डेसनको कल्पना गर्ने कल्पना पौडेल सांच्चै नै धन्यवादको पात्र रहेको बताउनु भएको थियो । समारोहमा फाउण्डेसनले प्रदान गर्दै आएको छात्रवृत्तिका बारेमा विद्यालयका प्रधानाध्यापक तिलक पराजुलीले प्रकाश पार्नु भएको थियो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलाराम रिजालको अध्यक्षता र शिक्षक रोसन मल्लको सञ्चालनमा अघि बढेको सो समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो । कल्पना फाउण्डेसन नेपालले गैडाकोट–८, विजयनगर, नवलपरासीस्थित श्री विजय निमाविका दुई गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विगत दुई वर्षदेखि  छात्रवृत्ति प्रदान गर्न सुरु गरेको थियो । 

विगत वर्षको असोज महिनामा संस्थाकी अध्यक्ष कल्पना पौडेलकै उपस्थितिमा सो छात्रवृत्ति प्रदान गरिएको थियो । यसको अलावा चेपांग संरक्षण केन्द्रका बालबालिका लगायत भूकम्प पिडित र अन्य बिभिन्न गरिब बालबालिकाहरुको पठनपाठनका सामग्री खरिदको लागि र आर्थिक स्थिति कमजोर भएका गरिब बिरामीहरुको उपचारको लागि बिभिन्न प्रकारले सहयोग गर्दै आइरहेकोछ |   संस्थाकी अध्यक्ष कल्पना पौडेल "जिज्ञासु '' रोजगारीका सिलसिलामा हाल इजरायलमा कार्यरत हुनु हुन्छ । 

कल्पना फाउण्डेसनले सुरु गरेको यो गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको सिलसिला ती छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको विद्यालय स्तरको अध्ययन अवधिभरि जारी रहने जानकारी विद्यालयका प्रधानाध्यापक तिलक पराजुलीले दिनु भयो । “फाउण्डेसन सँग त्यही समझदारी भएको छ, ती गरिब तथा जेहेन्दार दुई विद्यार्थीहरुलाई विद्यालय स्तरको अध्ययन अवधिभरि कापी, कलम, डे«स आदिमा लाग्ने सम्पूर्ण खर्च यही छात्रवृत्तिको रकमबाट गरिने छ” उहांले भन्नु भयो– “कल्पनाजीले सुरु गरेको यो कार्य निकै प्रशंसनीय र अनुकरणीय रहेको छ । 

धेरैले आफ्नै सन्तानका बारेमा मात्र सोच्दछन् । उनीहरुको खुसीका निम्ति मात्र कमाउंछन् । तर कल्पनाजीले समाजका असहाय बालबालिकाका निम्ति सोचेर यो अभियान सुरु गर्नु भयो । उहा“को यो कार्यबाट अरूले पनि पाठ सिक्नु पर्दछ ।” प्रधानाध्यापक पराजुलीका अनुसार फाउण्डेसनले प्रदान गरेको छात्रवृत्तिको यो रकम छात्रवृत्ति प्राप्त गर्ने दुई विद्यार्थीका नाममा छुट्टा छुट्टै खाता खोली सहकारी संस्थामा राखिएको छ । विद्यालयका एक शिक्षकको संरक्षकत्वमा किसान बचत तथा ऋण सहकारी संस्थामा दुवै  बालकको  नाममा खाता खोली सो रकम राखिएको उहांले बताउनु भयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com