दलाही लिन पुगेका जुंवाई थाममा बाँधिएर कुटाइ खाए र पुगे प्रहरी खोरमा, यस्तोछ नालीबेली....

 रामेछाप, २० वैशाख ,

विवाह पछि पहिलो पल्ट ससुराली पुग्ने ज्वाईंलाई मानमनितो गर्ने कुरा हाम्रो समाजमा सामान्य मानिन्छ । तर रामेछापमा यस्तो घटना भएको छ कि पहिलो पल्ट मानमनितो खान पाइएला भनेर मख्ख परेर आइपुगेका ज्वाईंलाइ थाममा बाँधेर दोहोलो काडिएको छ ।

मन्थली नगरपालिका १ कुडहरमा रहेको ससुराली घर पुगेका तेह्रथुमका दिपक शर्माले ससुरालीको दलानको थाममा बाँधिएर आइतबार एकाबिहानै रामधुलाई खाएका हुन । वैशाख ५ गते छोरी अन्माएका ससुरालीबाटै कुटाइ खाइएला भनेर उनले सोचेका पनि थिएनन्, तर भयो त्यस्तै ।

शर्माले नाम्लाले बाँधिएर कुटाई खाएर मात्र पुगेन, प्रहरीको खोरमा पनि जानु पर्‍यो । ससुराली पक्षबाट नै प्रहरीलाई खबर गरी जिम्मा लगाइदिए । शर्मा अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

नयाँ ज्वाईं आँगनमा पुग्दा खुसी हुनु पर्ने ससुरालीले किन कुटे त उनलाई रु । रामकाहानी लामै छ । शर्माले काठमाडौंको एक अस्पतालकप् स्टाफ नर्स युवतीसँग विवाहको प्रस्ताव गरे । आफूलाई डाक्टर भन्दै उनले विभिन्न पेशा र ठूलो सम्पत्तिको आश्वासन दिए । सानो तिनो जागिर छोड्न आग्रह गरे । बाबु ठूलो तहमा जागिर खाने र आफू विभिन्न संस्थामा ठूलो ओहोदामा रहेको र देशकै ठुला नेताहरुसँग सम्पर्कमा रहेको वताए ।

युवतिलाई विवाह गर्ने भन्दै परिवारका सदस्यलाई काठमाडौं वोलाएर विभिन्न स्थानमा घुमफिर गराए । पटक पटक काठमाडौं जाँदा अलग अलग स्थानमा राखे र त्यो आफ्नै सम्पत्ति भएको वताए । गाडी अलग अलग नै चढाए । पीएचडी डाक्टर र धेरै सम्पत्ति भएको युवक भेटेपछि युवतिका आफन्तले विवाह गरेर छोरी दिने कुरामा मन्जुरी दिए । तर विवाहको टुंगो गरेपछि युवकले केही बाहाना पनि गरे । आफन्त मरेकाले विवाह सार्नका लागि आग्रह गरे । सवै तयारी भएकाले वाहिरबाट अन्मिएर भए पनि बेहुला भएर आउन केटीपक्षबाट आग्रह गरेपछि युवकले त्यहि विधि अपनाए । वैशाख ५ गतेका लागि विवाहको मिति टुंगो लाग्यो ।

चैतको अन्त्यतिर उनी काभ्रेको पनौतिमा पुगे । केहि साथी बनाए । डेरा खोजे । एकसाता बसेपछि आफ्नो विवाहमा जन्ती जानका लागि स्थानीयलाई आग्रह गरे । पनौतिबाट एउटा जीपमा केहि जन्तीसहित अन्मिएर विवाहमा आएका शर्माले मास्क लगाएका थिए । विवाह मण्डपमा बसुन्जेल कालो चस्मा खोल्दै खोलेनन् । विवाह धुमधामसँग भयो । जन्ती थोरै भएपनि बेहुली पक्षले गाउँले सवै बोलाएर ठूलो भोज गरे ।

बेहुली लिएर गएको जीपका जन्ती कोहि बनेपामा झरे । कोहि विचबाटोमै । बेहुली लिएर केटा पनौतिमा अन्मिएकै घरमा पुगे । बेलुका त्यहि वसे । भोलिपल्ट बिहान वेहुलीका केहि गहना गोजीमा हालेर आफ्नो मोवाइल र अरु सामान छोडेर उनी कोठाबाट वाहिरिए । बेहुली कोठैमा थिइन् । धेरै समय कुर्दा पनि बेहुला नआएपछि बेहुलीले खोजी थालिन् । तर उनी भेटिएनन् । फोन छोडेकोले सम्पर्क हुने कुरा भएन । नयाँ ठाउँमा एक्लै परेकी बेहुलीले हारगुहार गरिन् । स्थानीयले केहि बेर खोजे तर भेटेनन् ।

विवाहको भोलीपल्टै अलपत्र भएपछि उनलाई स्थानीयले युवकको व्यवहारमा शंका व्यक्त गरे । र माइत जान भए सुरक्षित पुर्‍याइदिन सहयोग गर्ने बताए । युवतिले माइतीमा सवै कुरा वताइन् । माईतिले आउनु भनेपछि गाडी खोजेर स्थानीयको साथ लागेर उनि त्यसैदिन माइती फर्किइन् ।

विवाह गरेर दिएकी छोरी अलपत्र परेर फर्कनु परेपछि माइती पक्षले शर्माको खोजी सुरु गर्‍यो । उनी फेला परेनन् । कानुन व्यवसायीसँग सल्लाह गरे । कानुन व्यवसायीले शर्मालाइ चेलिबेटी बेचविखन गर्ने हुन सक्ने आशंका गरे । उनले भनेका स्थानमा पेसा सोध्दा उनी ठग भएको पुष्टि गर्दै गए । उनले यसअघि पनि केहि विवाह गरिसकेको खुल्यो । उनको कुनै व्यवसाय र कागजात सद्धे नभएको निचोडमा पुगेका उनीहरुले शर्माविरुद्ध मानव बेचबिखन र ओसारपसार विरुद्धको मुद्धा गर्न सुझाए । त्यति मात्र हैन जवरजस्ती करणीको अर्को मुद्धा पनि हाल्नु पर्ने बताए । युवतिका परिवारले त्यहि अनुरुपको मुद्धा प्रहरीमा दर्ता गरे ।

मुद्धा दर्ता गरेपछि प्रहरी र परिवारका सवै सदस्य खोजविनमा लागे । केहि दिन पछि शर्माले युवतिलाई फोन गरेर काम विशेषले वाहिर गएको र चाँडै आउने कुरा गरे । ससुराली पक्षले पनि मुद्धाको सुइँको नदिई बोलायो ।
श्रीमतिलाई लिन आइतबार ससुराली पुग्दा एकैपटक बाँधिएर कुटाई खानुका साथै प्रहरीको खोरमा पुगे । प्रहरीको हिरासतमा रहेका शर्मालाई सोधपुछ थालिएको छ । अनुसन्धानपछि मात्र रहस्यमय विवाहको बारेमा सत्य बाहिर आउने प्रहरीले जनाएको छ । (कान्तिपुर दैनिकबाट साभार)

ठगीमा पनि सक्रिय
आइतवार विहान शर्मा पक्राउ परेको खवर छिमेकी जिल्ला दोलखासम्म पुग्यो । दिपक शर्मा भन्ने वित्तिकै उनको फोटो खोजियो । फोटो देखेपछि आफूलाई ठग्ने पक्राउ परेकोमा दोलखाली खुसी भए ।

थामी जातिका बारेमा विद्याबारिधी गर्ने निहुँले तीन बर्ष अघि दोलखा छिरेका उनले केहिलाई सहयोग गरेको जस्तो गरे । विद्यालयमा पुगेर बालबालिकाहरुलाई कापी कलम पनि वितरण गरे । कम्प्युटर सहयोग गरे । धेरै ठूलो व्यक्तिको सम्पर्क छ भनेर केहिलाई विभिन्न दलका नेताको घर सम्म पनि लगे ।

उनले धेरैलाई नोकरी लगाइदिने, विदेशबाट सामान ल्याइदिने, फ्रान्स र यूरोपका विभिन्न देशमा पठाइदिने प्रलोभन दिए र ४० हजार देखि लाखौं रकम जम्मा पारे । भनेको समयमा विदेश पठाउने र नोकरी नपाएपछि उनी माथि स्थानीयले निगरानी थाले । त्यसको सुइँको पाएपछि शर्मा कुलेलम ठोके । शर्मा रामेछापमा पक्राउ परेको जानकारी पाएपछि दोलखाका पीडितले ठगीको मुद्धाको तयारी गरेको जानकारीमा आएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com