अविनासलाइ भूकम्पले लग्यो, वसन्तले ल्यायो पार्वतीको जीवनमा अवहार...

डिबी खड्का,

 मेलम्ची बैशाख २३,

नियतिको खेल पनि अचम्मकै छ । मान्छेलाई सुख–दुःख, संयोग–वियोगको खेलमा यस्तरी अल्झाइदिन्छ कि न खुलेर खुशी मनाउन सक्छ, न मन पखालेर पीडा पोख्नै नै ।

मेलम्ची दनुवार वस्तीकी पार्वती दनुवारलाई पनि त्यस्तै पार्यो नियतीले । दुई वर्षको छोरा भूकम्पमा परी बितेको एक वर्ष नपुग्दै उनको जीवनमा अर्काे छोरा आएको छ । भूकम्पले उराँठ बनाइदिएको जीवनमा नयाँ सन्तानले बहार त ल्याएको छ तर पीडा भुल्न पनि मुश्किल भइरहेको छ उनलाई ।

उले दुई वर्षको छोरा अविनाश गुमाएको वैशाख १२ गते एक वर्ष पुग्यो । तर, त्यसको दुई महिनाअघि उनले छोरा पाइन् वसन्त । ‘वसन्तले हाँस्दा पनि अविनाशको यादा आउँदा, रुँदा पनि उसैको,’ उनले भनिन् ।

त्यो दिन झलझली आँखामा नाँचिरहन्छ उनको । खाना खाइवरी भर्खर मात्रै निदाएको थियो, अविनाश । छोरा सुतिरहेको भन्ठानेर उनी छिमेकीको घरतिर लागिन् । बाटैमा जमिन थरथरायो । उनी थुचुक्क भूइँमा बसिन् । हेरिन् घरतिर । घर त उनले देखिनन् । किनभने माटो र ढुंगाले बनेका गाउँका सबै घर पहिलो धक्कामै भत्किँदा धुलोको कुहिरीमण्डल मात्रै थियो ।

भूकम्प रोकिएपछि उनी घरतिर लागिन् । ‘कहाँ हुनु घर ? घर त खण्डहर भइसकेको थियो,’ उनले सम्झिइन् । भर्खरै सुताएर गएको छोराका याद आयो् उनलाई । नाडीनशा गले । हेरिरहिन्, घरका ढुंगामाटोको थुप्रो, देखिनन् कतै छोरा अविनाश ।

अविनाश घरभित्रै पुरिए । दुईघन्टा पछि ढुंगामाटो पन्छाएर उनलाई निकालियो  । ‘तर प्राणपखेरु त पहिल्यै उडिसकेको रहेछ,’ पार्वतीको गला अवरुद्ध भयो ।

गाउँभरिका घर लडेका थिए । केहीको मृत्यु भएको थियो । सबैमा रुवाबासी चल्यो । रोएर मात्रै के  गर्नु ? जीवनलिला त चलाउनै थियो । रात पर्दै जाँदा सबै ओत खोज्न थाले । ‘कहाँ पाउनु ओत ? ५ दिनसम्म रुखमूनि बस्यौं,’ पार्वतीले भनिन् ।

विस्तारै भत्केका घरको काठ र कुच्चिएको टिन निकालेर उनीहरुले टहरो बनाए ।
फेरि गर्भ बस्यो । एउटा सन्तान, त्यो पनि भूकम्पले हरेर लगेपछि बसेको गर्भले थोरै भएपनि राहत दियो पार्वतीको जोडीलाई ।

जीवनको प्रक्रिया त उही त थियो, खेती र मजदुरी । दुई महिनाअघिको कुरा हो, गर्भावस्थामा थिइन् । बच्चा जन्माउने मिति नजिकिँदै थियो । उनी आलु खन्न गएकी थिइन् । बेथा लाग्यो । जसोतसो घर आइन् । घरमै जन्मियो छोरा । स्वयम्सेविकाले सालनाल काटिदिइन् ।

‘छोरा घरमै जन्मेकाले होला नाइटो ठूलो छ । बिरामी पनि भइरहन्छ,’ पार्वतीले भनिन् ।
वैशाख १८ गते स्वास्थ्यखबरको टोलीले उनलाई भेट्दा बच्चाको गाला सुनिएको थियो । उनी भन्दै थिइन्, ‘अस्पताल पनि लिएकी थिएँ । ठिक भएन । सिमीको पात पिसेर लगाइदिएँ ।’_स्रोत-स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com