छाउपडी न्यूनीकरण अभियानले महिलाको स्वास्थ्यमा सुधार

जुम्ला बैशाख २७,

आत्मसम्मानका लागि सहकार्य (क्याड)ले जुम्लामा प्रारम्भ गरेको छाउपडी न्यूनीकरण अभियानले महिलाको स्वास्थ्यमा सुधार ल्याएको छ ।

नेपालको मध्य तथा सुदूरपश्चिमका ग्रामीण भेकमा अहिले पनि महिला छाउ गोठमा बस्दै आएका छन् । तथापि यो बाध्यताबाट जुम्लाका महिला भने माथि उठ्न सफल भएका छन् । मानवअधिकार उलङ्घनसँग जोडिएको सामाजिक कुप्रथा अन्त्य गर्न क्याड जुम्लाले विगत चार वर्षदेखि थालेको छाउपडी न्यूनीकरण अभियानबाट महिलाको स्वास्थ्य अवस्थामा सुधार आएको अधिवक्ता मीनबहादुर महतले बताए ।

उनले भने, ‘सरकारले जारी गरेको छाउपडी उन्मूलन निर्देशिका, २०६४ सुषुप्त अवस्थामा छ, त्यो कार्यान्वयनमा आउनु पर्दछ ।’

जिल्ला शिक्षा अधिकारी कूलबहादुर फडेराले सबै शिक्षा पाठ्यपुस्तकमा नहुने भन्दै नवयुगमा प्रवेश गर्ने किशोरकिशोरीलाई अतिरिक्त ज्ञान दिने क्याड जुम्लाले सराहनीय कार्य गरेको बताए ।

महिला विकास अधिकृत अनिता ज्ञावलीले यहाँका महिलाको स्वास्थ्य स्थितिमा सुधार ल्याउने कार्यक्रम सबैका लागि स्वागतयोग्य रहेको बताए । उनले कार्यक्रमबाट प्रजनन स्वास्थ्य, मानवअधिकार सुदृढ हुनुको साथै लैङ्गिक हिंसा न्यूनीकरणमा पनि सहयोग पुगेको धारणा राखे ।

छाउपडी न्यूनीकरण अभियान गाविसस्तरीय बाल सञ्जाल र विद्यालयमा गठित बाल क्लबको साथ लिएर सरोकारवालालाई त्यसबाट जिम्मेवार बनाउने ध्येयले अनुशिक्षण दिइएको क्याड जुम्लाका कार्यकारी निर्देशक धनबहादुर गौतमले जानकारी दिए । जिल्लास्तरीय छाउपडी समन्वय समितिले यसअघि नै जिल्लाका ११ वटा गाविसमा छाउपडी निगरानी समिति गठन गरिसकेको छ, तिनलाई सशक्त बनाएर यो कुप्रथा न्यूनीकरण अभियानलाई तीव्र बनाउँछौँ, निर्देशक गौतमले भने ।

उनका अनुसार अभियानले यहाँको महिलाको स्वास्थ्य अवस्थामा सुधार ल्याएको छ भने लैङ्गिक हिंसा न्यूनीकरणमा सघाउ पु¥याएको छ । अनुशिक्षणमा सहभागी सञ्जाल÷क्लबसँग आबद्ध किशोरकिशोरीलाई प्रजनन स्वास्थ्य विषयमा जानकारी दिँदै २० वर्षपछि मात्र विवाह गर्न सुझाइएको छ । यो अभियान लाम्रा, हाँकु, तातोपानी, कुडारी, रारालिही तातोपानी गाविसमा थालिएको छ । रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com