‘आइ लभ यु’ आमा !

लुइंटेल दिनेश,

आमाबारे लेख्न खोज्छु । आमा लेख्नासाथ शब्द टुंगिन्छ । शब्दको उचाई नाप्न सक्दिन । लम्बाई झिक्न सक्दिन । गहिराई देख्न सक्दिन र मोटाई पनि थाहा पाउन सक्दिन । अनि कसरी आमाको व्यख्या गरौँ ? 

सधैँभरी आमाको सम्मान गर्नुपर्छ । तर, आज विशेष गरी आमालाई भेट्ने मीठोमीठो खान र राम्रो राम्रो लाउन दिने दिन । आमाभन्दा टाढा हुनेहरुले आमालाई सम्झने दिन ।

बिहानै आमासँग फोनमा कुरा भएपछि फेसबुक खोलेँ । फेसबुकभरी ‘आइ लभ यु मम’ लेखेको देखेँ । मनमा एउटा प्रश्न आयो, ‘आमालाई पनि मया गर्छु भन्नु पर्छ ?’ आफैँ जवाफ दिए, ‘पर्दैन ।’ आमा शब्दको व्यख्या अरु शब्दबाट हुनै सक्दैन । ‘आमा म तिमीलाई माया गर्छु’, भन्नु केटाकेटी खेल मात्र हो । 

आमा शब्द आफैँमा सर्वोपरी उच्च छ । त्यहाँ अरु शब्दको आवश्यकतै पर्दैन । सोच्नुहोस् ‘माया गर्छु’ जोसुकैलाई भन्न सक्नुहुन्छ । तर, ‘आमा’ अरु कसैलाई भन्न सक्नुहुन्न त्यसैले ‘माया’ भन्दा ‘आमा’ धेरै माथि छ । आमा शब्दमा माया राखेर आमाको अपमान गर्ने भूल नगरौँ ।  

वैज्ञानिकहरु पृथ्वी र चन्द्रमाको तौलको कुरा गर्छन् । तर म  जन्म दिने आमाको माया नाप्न सक्दिन । पृथ्वीको तौल नाप्ने वैज्ञानिकलाई सोध्न मन लाग्छ, ‘पृथ्वीको तौल मापन गर्दा तिमीले तिम्री आमालाई कहाँ राख्यौँ ?’ 

पढेर पृथ्वीको तौल जोख्न जान्नेभएपछि कतै तिमीले आमाको तौल त सार्वजनिक गरेनौँ ? 

घर भित्र, छिमेमा, गाउँमा, समाजमा, सहरमा, ठूला बजारमा, देशमा र विदेशमा जहाँ पुगे पनि आमालाई मापन गर्ने केही छैन । मान्छेहरु जीवनमा थुप्रै घमण्ड गर्छन् । आविष्कारको कुरा गर्छन् । खोइ कसले बनाउन सक्यो आमाको माया मापन गर्ने उपकरण ? 

त्यसैले त ठूलाठूला आविष्कारकहरु पनि आमाका अगाडि झुक्छन् ।  ठूलो मानिस भएको घमण्ड गर्नेहरु अर्बौँ र खर्बौँ छन् । तर ती ठूला भनाउदाहरु आमाका अगाडि सधै ‘लिलिपुट’ हुन्छन् । 

सज्जनहरुले त पाइला पाइलामा आमाको सम्मान गरिरहकै हुन्छन् । संसारमा अरु कसैसँग हुन नसक्ने शक्ति आमासँग छ । र त आमा शब्द सुन्नासाथ अपराधी दयालु बन्छ । क्रुरहरुले पनि दया देखाउँछन् । 

पढ्न त मैले पनि थुप्रै पढेँ । लेख्न पनि थुप्रै लेखेँ । थुप्रै प्रेम पत्रमा प्रेमिकाको प्रशंसा गरेँ । घरका कुरा लेखेँ । परिवारका कुरा लेखेँ ।  समाजका कुरा लेखेँ । नेता, राजनेता र महान् मान्छेहरुको जीवनी लेखेँ । देशकै बारेमा थुप्रै कुरा लेखेँ । संसार यस्तो र उस्तो भनेर चर्चा गरेँ । अझै पनि लेख्छु । लेखिराखेको छु । संसारका जुनसुकै विषयमा लेख्न सक्छु । तर आमाको बारे एक वाक्य पनि लेख्न सकिन । यथार्थ हो आमा मलाई अझै पनि ‘सानै छस्’ भन्नुहुन्छ । त्यसैले भन्छु ‘आमाका अगाडि सधैँ शून्य छु ।’

हामी तीन सय ६४ दिन बिर्सिएकी आमालाई एक दिन सम्झदैछौँ । कतै समाजमा मायाको नाममा आमालाई अपमान गर्ने संस्कारको विकास हुँदै त छैन ? 

मातातीर्थ औँसीकै दिन आमालाई अपमान गरेको दृश्य प्रत्यक्ष देखेँ । पल्लो घरको छतमा, बोर्डिङ पढ्न जान लागेको केटोलाई आमा भात खुवाउँदै थिइन् । केटो घिनलाग्दो गरी भात खाइरहेको थियो । उसको ओठमा, चिउँडोमा र गालामा पनि भात टाँस्सिएको थियो ।

केटोले एक्कासी चिच्यायो, ‘ह्यापी मदर्स डे, माई मम..ह्यापी मदर्स डे, माई डियर मम’ अनि आमाको घाँटीमा झुन्डिएर गालामा सक्तो टोकिदियो । 

आमाले चिच्याएरै ‘अइया..’ भनिन् । ऊ खित्का छोडेर हाँस्यो । आमाले छिमेकीका घरतर्फ पल्याक पुलुक हेरेर भनिन् ‘मारिस् नि गोरु । मलाई यसरी टोक्ने हो ?’  

बोर्डिङ स्कुलले केटाकेटीलाई मातातीर्थ औँसीमा ‘आइ लभ यु मम’ भन्दै आमाको गाला टोक्न सिकायो । छोराबुहारीलाई आधुनिकताले आमालाई वृद्धाश्रमतर्फ पन्छाउन सिकायो । फेसबुकले आमाको फोटो टाँस्न सिकायो । वैदेशिक रोजगारीले छोराछोरीलाई वर्षौँसम्म आमासँग भेट दिएन । शिक्षानीतिले छोराछोरीलाई सहरमा बन्दी बनायो र आमालाई गाउँको झुप्रोमा थन्क्यायो । 

अधिकांश नेपालीको यथार्थ यही हो । औँसीका दिन बिहानै गाउँमा आमा रातो माटो र गाईंको गोबरले घर लिप्नुहुन्छ । हामी स्क्रीन टच मोबाइलबाट फोन गरेर भन्दैछौँ, ‘आमा तपाईंको मुख हेरेँ है !’ आमा जवाफ फर्काउनुहुन्छ, ‘भाग्यमानी भएस् । कसैले नराम्रो नभनुनन्, मेरा सन्तानको राम्रै राम्रोहोस् । राम्रोराम्रो सोचेका सबै पुराहुन् ।’ 

हामी फेरि आमाले नबुझ्ने भाषामा चिच्याउछौँ, ‘ह्याप्पी मदर्स डे..’ र फोन काटिदिन्छौँ । यसो गर्दा आमाको सम्मान भयो कि अपमान ? त्यो मूल्याङकन् गर्ने जिम्मा तपाईं । यथार्थ तितो छ । हामी यो प्रक्रियालाई नै आमाको सम्मानको संस्कार बनाउँदैछौँ । 

हामी सहरीकरणको सिकार भएका छौँ । त्यो बोर्डिङ पढ्ने केटालाई हाम्रै पुस्ताले आमाको गाला टोक्न सिकायो । हामी ‘फेसबुक’मा आमाको फोटो ‘पोष्ट’ गरेर ‘ह्यापी मदर्स डे’ भन्दै छौँ । सबैलाई प्रश्न गर्न मन लाग्छ । के यही हो त आमाको सम्मान ? _अन्नपूर्णबाट;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com