मैले आमा पालेको छु

डा नम्रता पाण्डे,

मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्व । यस दिन आमा हुने सबै दिदीबहिनीले आमाको मुख हेर्ने पर्व मनाएका छन् । स्वदेशमा हुनेले आआफ्नो खुबी र इच्छाअनुसार उपहार दिए, आशीर्वाद लिए र आमासँगै बसेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरे ।

यसैगरी विदेशमा हुनेले पनि फोन गरेर आमालाई सम्झे, आमाको आशीर्वाद लिए अनि आमासँग बसेर खिचिएका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरे । सबैको हृदयबाट प्रेमरूपी, श्रद्धारूपी र भक्तिभावरूपी आमाबारे उद्गार निस्के, 'आमा तिमी प्रेमकी खानी हौ, आमा तिमी धर्ती हौ, तिमी छौ र न मेरो अस्तित्व छ । आमा तिमीले दुःख, सुख सहेर हुर्कायौ, बढायौ, पढायौ र न आज मेरो इज्जत छ, सान छ आदि–आदि ।'

सबैले आमाप्रति देखाएका सद्भाव र उद्गार सुन्दा र पढ्दा लाग्छ, शब्दबाट जति व्यक्त गरे पनि त्यो अपूर्ण नै हुन्छ, आमाको अगाडि । आमा अर्थात् जननी, मातृत्व, सृष्टिकर्ता त्यो विशाल विशेषण नै आमाको लागि प्रशस्त छ ।

प्रेमले मात्र आमाको परिभाषा र श्रद्धा पूर्ण हुँदैन । किनकि प्रेमले पाउँदा खुसी र नपाउँदा दुःखी बनाउँछ । आमा धैर्य हुन्, आमा धरती हुन् । जसरी धरतीमाताले हरेक परिस्थितिलाई सहजै सहेर सबै अनुकूल प्रतिकूल स्वीकार गरेकी हुन्छिन्, त्यसरी नै आमाले आफ्ना सन्तानका लागि हर परिस्थिति, सुख, दुःख, हर्ष, विस्मात पचाएर सधैँ एकनास आफ्ना सन्तानहरूको अगाडि प्रस्तुत हुन्छिन् । 

सन्तानको असहज परिस्थितिलाई सहजै ढाडस दिने शक्ति आमामा मात्र हुन्छ । आफ्ना सन्तानप्रति प्रतिकूल परिस्थितिमा पनि नआत्तिनु, केही हुन्न, चिन्ता नगर, म छु तिम्रो लागि जस्ता भरोसा र आशा जगाइदिएर आमाहरू सन्ततिलाई अगाडि बढ्न र दुःखबाट मुक्त गराउँछन् ।

आजभोलि हामी आधुनिक भएका छौँ, व्यस्त भएका छौँ अनि आमाप्रति श्रद्धा, सम्मान, सेवा सत्कार गर्ने मामलाबाट पर भागेका छौँ । 

आमालाई स्याहार–सुसार गर्ने र समय दिने फुर्सद छैन हामीसँग अहिले । त्यसैले हाम्रा आमा अब वृद्धा श्रमतिर भेटिन्छन् । नहुने, गरिबले भन्दा आधुनिक, धनी, प्रतिष्ठित र इज्जतदारहरूले आमा–बुबालाई वृद्धा श्रम लगेर राखेका छन् । तीमध्ये पनि कतिपय हामी बुद्धिमानी थियौँ र आफैँले लगेर राख्यौँ, कत्ति आमा आफैँ घर छोडेर, जन्माएका सन्तानले नसहेर वृद्धा श्रम पुगेका छन् । 

वृद्धा श्रम र अनाथा श्रममा पुगेका हाम्रा आमाका हृदयविदारक कुरा सुनेर आमाप्रति श्रद्धा र भक्ति हुनेहरूका आँखाबाट आँसु झर्छन् । जिन्दगीका हरेक अँध्यारा र अप्ठ्यारा मोडहरूमा आफ्ना सन्तानलाई उज्यालो बाटो देखाउने आमाहरूलाई तिनका सन्तान किन अँध्यारोमा धकेल्ने दुष्प्रयास गर्छन् ?

सानो छँदा दाजुभाइ–दिदीबहिनीबीच झगडा हुँदा सबै भन्ने गर्थ्यौं-आमा मेरी हुन् । ठूलो भएपछि, कमाइ सुरु गरेपछि, जिम्मेवारी वहन गर्न सक्ने भएपछि भाइभाइमा झगडा सुरु हुन्छ– आमा तेरी हुन्, आमा मेरी मात्रै हुन् आदि–आदि । 

आफ्नी आमालाई भार सम्झने हामी यही समाजमा छौँ । सानोमा रुँदा, निद्रा नलाग्दा, बिसन्चो हुँदा काखमा राखेर आमाले सुनाएका लोरी, आमाको गुन्गुनाहट, हृदयस्पर्शी संगीत कुनै सन्ततिले बिर्सेका छैनन्, तर आमालाई किन बिर्सन्छन् ? 

धन कमाउने, प्रतिष्ठा कमाउने इच्छा हुँदैमा संसार देखाउने आमाप्रतिको प्रेम र त्याग बिर्सियौँ भने हाम्रो कमाइ दुई कौडी बराबर हुनेछ । सानोमा बोल्न, हाँस्न, हिँड्न, चिन्न आदि–आदि सिकाउने आमालाई ‘पाखे’ भनेर हामीलाई मन पराउँदैनन् र आमालाई चुप लाग्न बाध्य बनाउँछौँ, किन ?


आमा एक मात्र त्यस्ती जीवन्त व्यक्तित्व हुन्, जसले अरू सबैको अभाव पूरा गर्न सक्षम हुन्छिन् । यो संसारमा अरू कुनै त्यस्तो सम्बन्ध छैन, जसले आमाको अभाव पूरा गर्न सकोस् ।
अथाह सम्पत्तिको मालिक हुँदैमा त्यो धनवान् र इज्जतदार हुन सक्दैन । वास्तविक धनवान् र प्रतिष्ठित त त्यो हो, जोसँग आफ्नी आमाको सेवा गर्ने समय छ । सानो छँदा हामीले खाना नखाएसम्म आमाले खानु हुन्नथ्यो र खुवाउन जति जोड गर्नुहुन्थ्यो, त्यसको एक प्रतिशत मात्र पनि उहाँहरूलाई हाम्रो सेवा दिन सके हाम्रो जीवन धन्य हुनेछ । 

आमाको चित्त दुखाउने सन्तानहरू धनी हुन त सकेका होलान्, तर सुखी हुन अवश्य सकेका हुँदैनन् । आमाको जस्तै निःस्वार्थ भाव सन्तानमा हुन सके मात्र असल सन्तानको परिचय मिल्छ । आमा त्यसै पनि आफ्ना सन्तानप्रति गर्वले भरिएकी हुन्छिन्, आमालाई दिने सर्व श्रेष्ठ उपहार हीरामोती होइन, असल चरित्र र सत्कर्म हुन सक्छ ।

आज सन्तानहरू जुन पद र प्रतिष्ठा अनि सम्मानमा छन्, त्यो आमाको देन हो । आमाको बाँकी जीवनमा सन्तानहरूको देनले खुसीयाली ल्याउन सकेमा असल सन्तानको देन हुनेछ । आमालाई दिने सबैभन्दा ठूलो धन  श्रद्धा र प्रेम हो । तर आजभोलि हामी विनाहिच्किचाहट भन्ने गर्छौं– मैले आमा पालेको छु । कति अपमानजनक शब्द प्रयोग गर्छौं, हाम्रो प्रतिष्ठा र सफलताको प्रतीक स्वरूप । 

जन्म दिने, हुर्काउने, बढाउने, पढाउने आमालाई सन्तानले कसरी पाल्न सक्छन् ? ‘मैले आमा पालेको छु होइन, म आमासँग बस्छु’ भनेर गर्वका साथ भन्न सक्ने सन्तान नै असल सन्तान हुन् । आमा उमेर छँदा मात्र होइन, वृद्ध हुँदा पनि आमा नै हुन् । त्यसैले वृद्ध हुँदा भार सम्झने होइन, बरु आमा हाम्री भाग्य हुन् भन्ने सम्झने सन्तानले आमाको दूधको भारा तिर्नेछन् ।

आमा एक मात्र त्यस्ती जीवन्त व्यक्तित्व हुन्, जसले अरू सबैको अभाव पूरा गर्न सक्षम हुन्छिन् । यो संसारमा अरू कुनै त्यस्तो सम्बन्ध छैन, जसले आमाको अभाव पूरा गर्न सकोस् । त्यसैले त भनिन्छ-धरतीमै छ सबै कुरा, खोजे मिल्छ घरीघरी तर जन्म दिने आमा पाइँदैन कसैगरी । पछि पश्चात्ताप नगर्ने गरी वृद्धा आमालाई सेवा, सम्मान, प्रेम, भक्तिभाव र समय दिऔँ । यही नै मातातीर्थ औँसीले प्रदान गर्न खोजेको सन्देशको मर्म हुनेछ ।
 _स्रोत-अन्नपूर्ण;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com