अझै, छोरा र छोरीमा विभेदको जड गहिरोछ..

सुष्मा श्रेष्ठ, नर्स, चिरायु अस्पताल

काठमाण्डौ जेठ ८,

सानैदेखि बिरामीको सेवा गर्ने चाहना थियो । यसैले एसएलसीको पढाई सकिएलगत्तै अनमी पढेँ । पढाई सकेपछि म कामको सिलसिलामा केही अस्पतालमा पुगेँ । तर जागिर कतै पाउन सकिनँ । कतै भोलुन्टर त कतै अन्य नाममा निःशुल्क काम गर्न बाध्य भएँ । अनमीमा जागिरको अवसर रहेनछ भनेर मैले पिसिएल नर्सिङ पढाई पनि गरेँ । तीन वर्षे पिसिएल नर्सिङ पढेपछि पनि जागिर पाउन उस्तै दुःख र कष्ट परेको थियो । तर हाल म अपरेशन थिएटर (ओटी) नर्सको रुपमा चिरायु अस्पतालमा काम गर्दै छु ।

यसअघि मैले धेरै अस्पतालमा जागिरका लागि भौतारिनु परेको थियो । यो क्रममा मैले धेरै  सिक्ने मौका पाएँ । काम गर्ने क्रममा म पहिलोपटक भरतपुर अस्पतालको प्रसूति वार्डमा पुगेको थिएँ । त्यहाँ गर्भवती महिलाको भीड र सुत्केरी भएका महिलाहरु देख्दा अचम्म लागेको थियो । नेपालभरका सबै महिला सुत्केरी हुन यहीँ आउँछन् कि झैँ लागेको थियो । जताततै गर्भवती थिए । सुत्केरी भएर घर फर्कने तथा शैयामा सुतिरहेका पनि उत्तिकै थिए ।
एक हिसाबले मलाई खुसी पनि लाग्यो । म धेरै कुरा जान्न र सिक्न रुचाउने भएकाले धेरै मानिससँग धेरै कुरा जान्न सकिन्छ भन्ने लाग्यो । त्यसपछि म निरन्तर डिउटीमा खटिएँ । धेरै मानिससँग नजिकिएर आफन्त झँै कुरा गरेँ । उनीहरु खुसी हुने गरी सेवा पनि दिएँ । आफ्नो पेसालाई सम्मान गर्दै काम गर्ने क्रममा एक दिन अस्पतालमा आएकी एक गर्भवतीको पीडाले नराम्ररी छोयो ।

कालिकोटतिर बाट आएकी ती महिला सातौँ बच्चा जन्माउने क्रममा थिइन् । यसअघि उनका ६ वटा छोरी जन्मिसकेका रहेछन् । उनीसँगको कुराकानीका क्रममा म भावुक पनि भएँ । आँखामा आँशु पनि भरिएका थिए । तर नर्सले बिरामीलाई खुसी पार्नुपर्छ भनेर उनको अगाडि आँशु देखाइन । उनलाई हरसम्भव खुसी पार्ने प्रयास गरेँ ।

सुत्केरी वेथाले च्यापेर अस्पताल आएकी उनीसँग उनको श्रीमान तथा घरका आफन्त कोही थिएनन् । श्रीमानले घरबाट फोन गरेर ‘छोरा’ जन्मिएको खबर सुनाइस् भने मात्र लिन आउँछु भनेका रहेछन् । अनि परिवारले पनि यसपटक पनि छोरा जन्माइनस् भने घरमै नआउँनु भनेका रहेछन् । गर्भवती श्रीमतीलाई साथ दिनुपर्ने श्रीमानले नै त्यस्तो भनेपछि ती बिचरी नरोउन् पनि कसरी ? अनि आफ्नो कुनै दोष नै नहुँदा पनि घरबाट निकालिने अवस्थामा पुगेकी ती महिलाको पीडाले हामीलाई नछुने कुरा पनि भएन ।

छोरा वा छोरी जन्माउने कुरामा महिलाको कुनै हात हुँदैन भन्ने सामान्य जानकारी श्रीमान तथा परिवारमा नहुँदा ती महिला पीडा खेप्न बाध्य थिइन् । अनि अझै पनि छोरा र छोरीमा भेदभाव गर्ने हाम्रो समाज पनि उत्तिकै दोषी छ । ती महिलाले पुनः छोरी जन्माइन् । उनलाई लिन न उनका श्रीमान आए न त घरबाट कोही नै आए । ती महिला निरन्तर रोइरहिन् । हामीले उनलाई सम्झाउन हामी नर्सहरुकै उदाहरण दियौँ । भन्यौं– छोरा र छोरी बराबर हुन् । हामी पनि छोरी हौँ, जागिरे भएर तपाईको सेवामा लागेका छौँ  ।’  बिचरा उन्ले त हाम्रो कुरा बुझिन् । तर यो कुरा उनको श्रीमान् र परिवारलाई सम्झाउनु पर्ने थियो । उनी यता थिएनन् । हामीले गाउँमा गएर सम्झाउने सम्भावना पनि थिएन ।

ती महिलाको पीडामा साथ दिन उनकै आफ्नो जन्म दिने आमा आइन् । उनको आमाले उनलाई र भर्खरै जन्मेकी छोरीलाई लिएर माइत गईन । उनी अस्पतालबाट गएपनि उनको पीडाले मलाई छाड्न सकेन । साँच्चै नेपालमा यस्ता समस्या भोग्ने कति महिला होलान् ? चेतनाको अभावमा कति महिला यसरी घरबाट निकालिनु परिरहेको होला ? स्वास्थ्य मन्त्रालयले यस्तो विकराल समस्याको समाधानको लागि केही पहल चलाउँला त ?
_स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com