रेविकाको उपचारका लागि सहयोग जुट्दै

 खोटाङ बैशाख २४,

ट्युमर बढेर मुखै बन्द भएकी खोटाङकी एक किशोरीको उपचारका लागि उपचार खर्च जुट्ने क्रम सुरु भएको छ । लामो समयदेखि ट्युमरले ग्रसित बाँझे च्यानडाँडा–८ की १४ वर्षीया रेविका राईको उपचारका लागि साढे पाँच लाख रुपैयाँभन्दा बढी सहयोग जुटेको हो ।

काठमाडौँको बूढानीलकण्ठमा बस्दै आएकी रेविकाको ट्युमरको उपचारका लागि शुभेच्छुकबाट उपचार खर्च जुट्ने क्रम बढेको जनाइएको छ । लगातार बढ्दै गएको ट्युमरका कारण बोल्न, खाना खान र हाँस्नै नहुने अवस्थामा पुगेकी रेविकाको उपचारका लागि पाँच लाख ६० हजार १०७ रुपैयाँ प्राप्त भएको रेविकाको बुबा काँशीनाथ राईले बताए ।

कुबेत, अमेरिका, दक्षिण कोरिया, कतार, हङकङ, नेदरल्यान्ड, युएई र काठमाडौँवासी नेपालीबाट सङ्कलन गरिएको रकम रेविकाका बुबा काँशीनाथ र आमा सन्ध्या राईलाई हस्तान्तरण गरिएको काठमाडौँबाट सहयोग संकलनकर्ता श्रवण बम्जनले बताए ।

यस्तै, तेज राईको संयोजनमा सङ्कलन भएको एक लाख ११ हजार ११५ रुपैयाँ पनि राई परिवारलाई प्रदान गरिएको जनाइएको छ । मलेसियाबाट समेत केही सहयोग रकम प्राप्त भएको रेविकाका बुबा काँशीनाथले बताए । रेविकाको उपचारका लागि सहयोग जुट्ने क्रम जारी रहेको जनाइएको छ ।

रेविकाको ट्युमरको उपचार अभावका विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएको थियो । रेविकाको चौथो पटकको उपचारका लागि बुधबार भारतको कलकत्तातर्फ लगिएको छ । रेविकाका साथमा आमा सन्ध्या र घरबेटी एलिसा कार्की कलकत्ता गएका छन् । माथिल्लो दाँत अडिने हाड र गिजाको ट्युमर बढेर ठूलो आकार लिएपछि रेविकाले कष्टपूर्ण दिन बिताइरहेकी छन् । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com