सप्तरीका १३ गाविसमा पोषण सप्ताह सुरु

सप्तरी जेठ ३,

विद्यालय स्वास्थ्य पोषण सप्ताह आइतबारदेखि सप्तरीको १३ वटा गाविसमा सुरु भएको छ ।

सेभ द चिल्डेनको सहयोग र जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला शिक्षा कार्यालय सप्तरीको पहलमा आइतबारदेखि सप्तरीका १३ वटा गाविसमा विद्यालय स्वास्थ्य पोषण सप्ताह सुरु भएको जनाइएको छ ।

पोषण सप्ताहको पहिलो दिन सन्तुलित आहार, बालपोषण र साबुनपानीबाट हात धुनेबारे जानकारी गराइएको सेभ द सप्तरी कार्यक्रम अधिकृत रामकुमार साहले बताए ।

सामुदायिक विद्यालयमा पोषण अभावका कारण बालबालिका निकै दुब्लो र पातलो रहेकाले जिल्लाको १३ वटा गाविसमा रहेका करिब ४५ वटा विद्यालयका बालबालिकालाई पोषण तथा सन्तुलित आहारबारे जानकारी दिइने छ ।

जिल्लाको इटहरी विष्णुपर, लोनिया, कोचाबखारी, सकरपुरा, रम्पुरा मल्हानिया, कोमधेपुरा, कोइलाडी, देउरी भरुवा, जमुनी मधेपुरा, बोरीया, बरहीबिरपुर, छिन्नमसता र राजविराज नगरपालिका १० र ८ का समुदायिक विद्यालयमा सप्ताह ब्यापी कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको अधिकृत साहले जानकारी दिए ।

विद्यालय स्वास्थ्य पोषण सप्ताहअन्तर्गत व्यक्तिगत सरसफाइ विद्यालयको सरसफाइ, जुकासम्बन्धी जानकारी रेली तथा प्रदर्शनलगायतको कार्यक्रम रहेको बताइएको छ । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com