बाबुआमा र सासुससुरालाई स्याहार गर्नेलाई पुरस्कार

 इटहरी बैशाख २५,

नेपाली समाजमा आफ्नै सन्तानबाट तिरस्कृत भएर जिन्दगी बिताइरहेका थुपै्र आमाबावु भेटिन्छन्। समाजमा बढ्दो कुसंस्कारलाई रोक्न र आफ्ना बाबुआमालाई हेरचाह गर्नुपर्छ भनेर सन्देश फैलाउँन इटहरी वडा नं. १ को स्वागत टोल बिकास संस्थाले बर्षेनी राम्रो पालनपोषण गर्ने र स्याहार गर्ने छोरा–बुहारीलाई पुरस्कार प्रदान गदैं आएको छ।

संस्थाले आफूले जन्माएका बाबुआमालाई राम्रोसँग हेरचाह गर्ने छोरा–बुहारीलाई बर्षेनी पुरस्कार प्रदान गरेर समाजमा बढ्दो कुसंस्कारलाई तोड्ने सन्देश दिनकै लागि शनिबार ११ औं स्थापना दिवसको अवसर पारेर दुई जोडी छोरा–बुहारीलाई पुरस्कार प्रदान गरेको छ।

इटहरीका ८८ बर्षीय कालीप्रसाद दङ्गाल अशक्त भई ओच्छयानमा परेसँगै स्याहार सुसार गर्ने छोराबुहारी रामप्रसाद–दुर्गा दंगाललाई नगद १० हजार पुरस्कार प्रदान गरियो । टोल बिकास संस्थाकै सदस्य दुर्गा बिष्टका बाबुआमा पदम–पवित्रा अक्षयकोषबाट रामप्रसाद र दुर्गालाई नगद पुरस्कार प्रदान गरिएको हो । बिष्टले दुई लाख रुपैयाँको पदम–पवित्रा बिष्ट अक्षयकोष स्थापना गरेका छन् ।

सोही पुरस्कारबाट इटहरी ७ की ८७ बर्षीया कृष्णमाया बस्नेतलाई स्याहार सुसार गर्ने छोराबुहारी भीम–नारायणी बस्नेतलाई पनि नगद दस हजार रुपैयाँ प्रदान गरियो । समाजमा बढ्दो कुसंस्कारलाई वेलैमा व्यवस्थित गर्न सन्देश दिनकै लागि संस्थाले बर्षेनी बाबुआमालाई तथा सासुससुरालाई स्याहार गर्नेलाई पुरस्कार प्रदान गदैं आएको संस्थाकी अध्यक्ष भद्रा थापामगरले बताइन् । उनका अनुसार संस्थाले यो पुरस्कार पाँच बर्षदेखि प्रदान गदैं आएको छ । अघिल्लो बर्षको वैसाख १२ गतेको भूकम्पले गर्दा त्यो पुरस्कार पनि यसैबर्ष प्रदान गरिएको हो।

यसैक्रममा जेष्ठ नागरिक ७५ बर्षीया गीतादेवी अग्रवाल, ७२ बर्षीया बुद्धिमाया दाहाल, ७० बर्षीया पदमकुमारी कोईराला, ७२ बर्षीया बालकुमारी घिमिरे र ८० बर्षीया रामकुमारी राईलाई पनि दोसल्ला ओढाएर सम्मान गरियो ।

स्वागत टोल बिकास संस्थाको सिको गदैं जेष्ठ नागरिक समाज इटहरीले पनि बर्षेनी अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा छोरा, छोरी र बुहारीलाई पुरस्कार प्रदान गदैं आएको छ । जेष्ठ नागरिकले उपमहानगरपालिकाको सहयोगमा नगद पुरस्कार प्रदान गर्ने गरेको छ। इटहरी उपमहानगरपालिकाले कार्यालय परिसरमै छुट्टै जेष्ठ नागरिकको लागि बसेर दिनभर सुखदुःख साटसाट गर्ने थलोको समेत व्यवस्था गरि दिएको छ।

यसैगरी स्वागत टोल विकास संस्थाले अशक्त सरस्वती बस्नेत र दलित छात्रबृति ललिता रामलाई प्रदान गरियो । संस्थाले प्रवेशिका परीक्षामा उत्कृष्ठ अङ्क ल्याई उत्तीर्ण गर्ने टोल विकास सस्थामा आवद्ध विद्यार्थीहरुलाई नगद र प्रशंशापत्रद्धारा सम्मान गर्यो।

टोल बिकास संस्थाले पत्रकारितामा योगदान पुर्यातउने नागरिकर्मी अमर खड्का र सप्ताकोशी एफएमका लिलाराज भट्टराई जनही १५ हजार १ रुपैयाँ प्रदान गरेको छ । दुवै पत्रकार डेढ दसकदेखि पत्रकारितामा क्रियासिल छन् ।

कार्यक्रममा सुनसरी प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले पुरस्कार र सम्मानपत्र प्रदान गरे । सो क्रममा इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सिना, इटहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रामप्रसाद चौलागाई, महिला बचत ऋण सहकारी सस्थाकी अध्यक्ष अमृता सुब्बा, रेडक्रस इटहरीका अध्यक्ष विमल पौडेल, राजेन्द्रकेशरी घिमिरे, देवी खनाल लगायतले बोलेका थिए ।स्रोत-नागरिक;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com