अब महिलाले सहानुभूतिले हैन आफ्नै कसरतले स्थान बनाउनुपर्छ...

मनिषा गौचन,

एक साँझ फेसबुकमा मेरो पुरानो मित्रसँग भेट भयो। ऊ मेरो बाल्यकालदेखिकै साथी थियो। कुरैकुरामा हामी नोस्टाल्जिक भयौं। मैले बिर्सेका धेरै कुरा उसले सम्झायो। उसले बिर्सेका कति कुरा मैले सम्झाइदिएँ। 

उसले सोधेको थियो, ‘मनीषा, तिमी त धेरै माथि पुग्यौ। तर हामीले केही गर्न सकेनौं...। हाम्रोभन्दा तिम्रो अवस्था कमजोर थियो तर तिमीले पढ्यौ। नाम पनि छ तिम्रो। यो सब कसरी सक्यौ हँ? ' उसको यो प्रश्नले म विगततिर तानिएँ।

एउटा मध्यमवर्गीय परिवारमा एउटीमात्रै छोरीको रूपमा जन्मिएकी म। अरू सबै दाजु-भाइ थिए। एउटा दुर्भाग्य भन्नुपर्ला मेरो परिवारमा ममात्रै केटी मान्छे थिएँ। मेरी आमा त परिस्थितिको दास बन्दै अन्ततः मृत्युको अँगालोमा पुगिसकेकी थिइन्। 

उनको अनुहारसमेत म सम्झन सक्तिनँ, लाखौं कोसिस गर्दा पनि। आमाबिनाको घरमा लोग्नेमान्छेहरूको हूलमूलमै म हुर्किएँ। सानो बेला म निकै उपद्रयाहा थिएँ। बढी केटा साथीहरूसँग घुम्न र डुल्न मन पराउने। 

हामी जंगल जान्थ्यौं च्याउ टिप्न। मेरा केटा साथीहरूले मेरो च्याउ टिप्ने भाँडा भरिदिन्थे। जसले भरिदियो त्यो मेरो मिल्ने साथी बन्थ्यो। मेरा तीनै केटा साथीमध्येको एउटा साथी थियो- ऊ।

मेरो पढाइ धेरै राम्रो थियो। कक्षामा प्रथम हुनु कुनै नौलो कुरा थिएन मेरो लागि। स्कुलको टप विद्यार्थीको रूपमा मैले मेरो स्थान हासिल गर्न सफल भएकी थिएँ। त्यो दिन मैले गुरुहरूबाट बोक्नै नसक्ने गरी पुरस्कार प्राप्त गरेकी थिएँ। म सम्झन्छु, मेरो गुरुहरूकै कारण म यहाँ छु।

एउटा स्मरणीय घटना, त्यतिबेला म पाँच कक्षाको विद्यार्थी थिएँ। स्कुलमा सदनसदनबीच एउटा दिमागी परीक्षण प्रतियोगिता थियो जसमा एउटा अचम्मको हिसाब मिलाउनुपर्ने थियो। मैले कक्षा आठको फस्ट ब्वाईलाई हराएकी थिएँ त्यो प्रतियोगितामा। 

मेरो त्यो क्षमताले वास्तवमा गुरुहरूलाई निकै प्रभावित बनाएको थियो। हो, मेरो स्कुले जीवन क्षमताको प्रदर्शन गरेरै बित्यो। मेरो क्षमता पढाइमा, नाचमा र लेखनमा प्रस्तुत हुन्थ्यो। म कुनै पनि हालतमा कमजोर थिइनँ। तर मेरो पारिवारिक पृष्ठभूमिले मलाई कमजोर बनाउन एक न एक बहाना गरिरहन्थ्यो। किनकि बढ्दै गरेकी छोरी थिएँ म जसको काँधमा घर उज्यालो पार्ने जिम्मेवारी थपिँदै गएको थियो।

बुबालाई त मैले पढोस् भन्ने चाहना नै थिएन। मैले पढ्दै गर्दा मेरो कक्षाका केटी साथीहरू सबैले धमाधम पढाइ छोडिसकेका थिए। कोही गुरुको कुटाइ खाएर, कोही पढ्न नसकेर र कोही प्रेममा परेर। प्रायः ती सबै साथीको आमाबाबु छोरीहरूले पढोस् भन्ने चाहन्थे। म सोच्थेँ, मेरो पनि त्यस्तै बाबुआमा भइदिएको भए। साँच्ची आमाबिनाको अपूर्ण परिवारमा मैले सबै कुराले पूर्ण हुने अभ्यास गर्दै थिएँ।

क्षमतामा विश्वास गर्ने मेरो बानी त्यतिबेलादेखिकै हो। मेरा गुरुहरू मेरो क्षमताकै कारण मसँग प्रभावित थिए। मसँग क्षमता नहुँदो हो त मैले गुरुहरूबाट प्रेरणा पाउने थिइनँ। र, गुरुहरूबाट प्रेरणा नपाएकी भए म आज अर्कै हुनेथिएँ होला। त्यसैले अहिले पनि म भन्ने गर्छु म कमजोर छुइनँ। 

यहाँ ममात्रै हैन अनगिन्ती महिला छन् जो आफ्नो क्षमतामा विश्वास गर्छन्। बाटोमा मकै पोलेर गुजारा चलाउने महिलादेखि सडकमा औंला उठाएर भाषण गर्नेसम्मका महिलाभित्र यो दम्भ छ। एउटी महिला भएर यो दम्भ पाल्नु र यसलाई प्रमाणित गर्नु हाम्रो समाजमा निकै कठिन काम हो। 

पितृसत्तात्मक सोच यसको मुख्य कारण हो जसलाई भत्काउन सानोतिनो बलले पुग्दैन। हामीमाझ महिलाले केही गर्न सक्तैन र गर्नुहुँदैन भन्ने महारोगी पुरुषहरू अझै छ्यास्छ्यास्ती छन्।

उनीहरूले प्लेटोको दर्शनलाई अझै पछ्याइरहेका छन् कि महिला दार्शनिक विमर्श र बौद्धिक चिन्तनका लायक नै होइनन्। दिनहुँ हुने समारोहहरूमा हेरौं, मञ्चमा आसीन सो-कल्ड बौद्धिक व्यक्तित्वहरू प्रायः पुरुष नै हुन्छन्। मञ्चमा उभिएर उनीहरू आमालाई सम्झन्छन्। तर, आमा महिला थिइन् भन्ने कुरा बिर्सन्छन्। 

मञ्चमा उभिएर महिला अधिकारको कुरा गर्छन् तर घरमा आफ्नै छोरी- श्रीमती दास बनेको कुरा सजिलै भुल्छन्। मैले केही समयअघि संगत गरेकी एकजना दिदी महिलाहरूलाई समूहमा बाँधेर केही गर्नुपर्छ है भनेर लागिपर्थिन्। संगत बढ्दै जाँदा उनको त्यो रूप पनि थाहा पाएँ। 

उनी आफ्नो श्रीमान्ले जे अह्राउँथे, त्यही पालना गर्थिन्। पालना नगरिएको दिन उनको शरीरमा कहीँ न कही चोट लागेको हुन्थ्यो। उनको श्रीमान् एउटा विकासे संस्थामा काम गर्थे जो श्रीमतीको कामप्रति कहिल्यै विश्वस्त हुन सकेनन्। 

मैले थाहा पाउँदापाउँदै उच्च शिक्षा हासिल गरेका मेरा केही मित्रहरू गृहिणीमै सीमित भए। म बुझ्न सक्छु, उनीहरूको मनोभाव। मैले गृहिणी हुनु गलत कुरा हो भनेकी होइन। जब आकांक्षा र आफ्ना सपनाको तिलाञ्जली दिएर एउटी होनहार महिला गृहिणीको रूपमा हरेक दिन एउटै चुलामा पाक्छिन् तब त्यसले उनलाई मात्र हैन, म कमजोर छुइनँ भन्ने म जस्ताहरूलाई पनि पोल्दो रहेछ।
 महिला आफ्नै क्षमताले मञ्चमा मुस्कुराएको देख्न चाहन्छु। कुरा यति हो महिलामा भएको क्षमतालाई मर्न नदिन के महिला के पुरुष सबैजना प्रेरणाको स्रोत बन्न जरुरी छ। जसरी मेरो प्रेरणाको स्रोत मेरा गुरुहरू थिए। आज मेरा साथीहरू छन्।
मान्छेहरू भन्छन्, किन अगाडि आएका प्रायः महिलाहरूको घरबार टुटेको हुन्छ ? याद गर्नुपर्ने कुरा यो छ कि प्राय सफल पुरुषको घर उनका श्रीमतीले धानिदिएका हुन्छन्। तर, यही त्याग प्रायः पुरुषले गर्नै सक्दैनन्।

 अन्ततः आफ्नो सफलताको लागि घर छोड्न बाध्य हुन्छन् धेरै महिला। समाजमा केही पुरुष यस्ता उदार प्रवृत्तिका पनि छन् जसको साथ पाएर महिलाहरू अगाडि पुगेका छन्। तर, तुलनात्मक हिसावमा यो एकदमै न्यून हो।
...
अहिले साहित्यिक चर्चा पनि बढ्दो छ। नाम कहलिएका लेखक हस्तीहरू पुरुष नै छन्। साहित्यिक मञ्चहरूमा पुरुष लेखकहरू गर्वले छाती फुलाएर बसेका हुन्छन्। महिला लेखक उनीहरूको सामुन्ने कवितावाचनका लागि बोलाइन्छन्। 

कतिपय ठाउँमा त खादा र फूलमाला ओइराइदिन भए पनि बोलाइन्छिन्। कुनैकुनै कार्यक्रममा महिलालाई अतिथि या वक्ता बनाइए पनि सहानुभूति दिएको छनक पाइन्छ। अब महिलाले सहानुभूतिले हैन आफ्नै कसरतले स्थान बनाउनु आवश्यक छ। 

सहानुभूतिले मञ्चमा मुस्कुराएका महिलाहरू मलाई साँच्चिकै दयनीय लाग्छ। मैले बाँचेको मेरो विगत र वर्तमानले यस्तै सिकाएको छ मलाई। कडा प्रतिस्पर्धा नै एउटा उच्चतम विकल्प हो आफ्नो अस्तित्व दाबी गर्ने। र प्रतिस्पर्धा गर्न क्षमता र कडा अभ्यास चाहिन्छ। 

किनकि महिलाले राम्रो लेखे पनि एउटा कमजोर पुस्तक निकाल्ने पुरुष लेखकको पाठक संख्याभन्दा धेरै न्यून छ। केही समयअघि एउटा कुनै पत्रिकामा पढेकी थिएँ, नोबेल पुरस्कार विजेता क्यारेवियाली लेखक भी एस नैपालले संसारमा उनका बराबरीका महिला लेखकहरू छैनन् भनेको कुरा। 

जब कि उनलाई लेख्न सिकाउने डायना एटिहल एउटी महिला लेखक थिइन्। अहिले हाम्रो साहित्यिक बजारमा पनि यस्तै भ्रम छ। यो भ्रम चिर्नु महिला लेखकको दायित्व हो।

यसरी लेखिरहँदा म अलि आक्रोशित देखिएँ होला। वास्तवमा अवस्था यस्तै छ। म हरेक क्षेत्रमा महिलाको उपस्थिति बलियो भएको हेर्न चाहन्छु। र, महिला आफ्नै क्षमताले मञ्चमा मुस्कुराएको देख्न चाहन्छु। 

कुरा यति हो महिलामा भएको क्षमतालाई मर्न नदिन के महिला के पुरुष सबैजना प्रेरणाको स्रोत बन्न जरुरी छ। जसरी मेरो प्रेरणाको स्रोत मेरा गुरुहरू थिए। आज मेरा साथीहरू छन्। र, केही पुरुष लेखक पनि। जसले मलाई विश्वास गरेर साथ दिएका छन् तर सहानुभूतिमा हैन भन्ने कुरामा म प्रस्ट छु।

हुन त, पछिल्लो समय नेपालमा ठूलो परिवर्तन आयो महिला नेतृत्वको सवालमा। महिला राष्ट्रपति भइन्। सभामुख पनि महिला नै बनिन्। न्यायालयको क्षेत्रमा पनि महिलाकै नाम अग्रपंक्तिमा आयो। यो एउटा ठूलो सकारात्मक परिवर्तन हो। 

यी महिलाहरू धेरैजसो आफ्नै क्षमताले आएका हुन् भन्ने मेरो विश्वास छ। भलै त्यो क्षमतामाथि प्रश्न गर्ने नै किन नहुन्। यसरी माथि पुग्न सफल भएका महिलाले बौद्धिक लडाइँ लडेर आफूलाई बलियो र क्षमतावान् प्रमाणित गर्नु नै महिलामाथि दुनियाँको विश्वास जगाउनु हो। विश्वाससँग सम्मान जोडिएको हुन्छ। अबका महिलाले खोज्ने चीज भनेकै स्वच्छ प्रेरणा, विश्वास र सम्मान हो।

साथीसँग कुरा गर्दै जाँदा मैले यी तीन शब्द उसलाई पनि पठाइदिएँ इन् बक्समै। उसले लाइक बटन थिच्यो र एउटा मीठो मुस्कान पनि पठायो।_साभार-अन्नपूर्णबाट;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com