छाउपडी की छाउपीडा !

झिसमिसे बिहानी साँघुरो र सयौं मोड घुम्ती भएको अप्ठ्यारो उकालो बाटो  भएकाले गाडी घुम्तीमा मोड्न निकै कठिन भएको बस चालकको अनुहार र शारीरिक क्रियाकलापबाट देखिन्थ्यो ।

गाडीको झ्यालबाट बाहिर आखाँ लगाउँदा छङछङ गर्दै सलल बगरमा छाल हान्दै बगेको कर्णाली नदी तल हेर्दा पनि हंसले ठाउँ छोड्छ । भित्र मुटुमा कताकता डर पसे भए पनि उँभो हेर्दा देखिने रमाइलो दृश्यले मनमा अत्यन्तै सन्तुष्टि मिल्छ । ति दृश्यले स्वर्गिय आनन्द मात्र मिल्दैन वास्तविक स्वर्गमा नै पुगेको जस्तो अनुभूति हुन्छ ।

कर्णालीलाई प्रकृतिले बिना कन्जुस्याई दिएको सुन्दरतालाई सब्दले बर्णन गरेर साध्य छैन । कर्णालीमा रहेको सुन्दरताको भण्डारलाई बखान गर्न सब्द जाल बुन्ने कोसिस गरियो तर त्यो बुनिएको सब्द जाल पनि यसको बर्णन गर्नका लागि त्यति प्रयाप्त भएन् ।

कर्णाली हाम्रो कानले सुन्ने र मस्तिष्कमा यो सब्द पर्ने बित्तिकै भोकमरी, गरिबी, बेरोजगारी, अशिक्षा, अन्धविश्वास, कुरीति, परम्परावादी सोचाइ, नर्क जस्तो ठाउँ भन्ने कुराले डेरा जमाउन थाली हाल्छ । सानोमा स्कुल पढ्दापढ्दै कर्णालीको विषयमा धेरै कुरा हुने गर्थ्यो । हुन त म पनि पूर्वको कर्णाली भनेर परिचित ठाउँ भोजपुरमा जन्मेको मान्छे ।

शिक्षकले कर्णालीको बारेमा व्याख्या गर्दा कताकता नमज्जा लाग्थ्यो । यसको वास्तविकता बुझ्न धेरैलाई कर्णालीको फगत कथा समेत भन्नु पर्यो । आफूलाई निकै जान्ने बुझ्ने छु भनेर ठालु बन्न खोज्ने हरुको कुरा सुन्दा कर्णालीमा बस्ने मान्छे भनेका अर्कै दुनियाँमा भएका मान्छे हुन् भन्ने भान हुन्थ्यो ।

हो, त्यही कर्णालीको एकपटक वास्तविकता खोतल्ने अवसर जुट्यो । कर्णाली स्कुलमा भनिएको जस्तो होइन रहेछ यो त स्वर्गको एक टुक्रा रहेछ । धर्तिको पवित्र ठाउँ रहेछ । न्याय खोज्न गोरखा जानु ,शिक्षा खोज्न काशी जानु भने जस्तै स्वर्ग खोज्न कर्णाली जानु भन्दा अतियुक्ति नहोला भन्ने निष्कर्षमा पुग्न बेर भएन् । कर्णाली धर्तिको स्वर्ग हो भन्ने कुरामा विवाद रहेन ।

कर्णाली नदीका सातवटा सहायक नदीहरुले कर्णाली अञ्चलको प्रतिनिधित्व गर्दो रहेछ । कर्णालीका प्रत्येक जिल्लाको काखमा सेतो सुन भनेर परिचित नदी सदाबहार अटुट र निरन्तर आफ्नै बेगमा कर्णाली ब्युझाउँदै अगाडि बढिरहेका छन् । नदीको गति जति अगाडि बढ्छ त्यो क्षेत्रमा विकासको अधोगति त्यतिकै मात्रामा पछाडि धकेलिएको रहेछ ।

प्राकृतिक सुन्दरता स्रोत साधन लगायतका कुराहरुलाई बैज्ञानिक र यथार्थपरक ढंगले विश्लेषण गर्दा कर्णाली गरिब होइन राज्यले जबर्जस्ती गरिबीको बिल्ला भिराएको रहेछ भन्ने कुरा प्रष्ट हुन्छ । कर्णालीसंग के छैन ? । जलस्रोतको अथाह सम्भावना भएको कर्णालीसँग लगभग २१ हजार मेगावाट जलविद्युत क्षमता रहेको जलभण्डार छ ।

यसले नेपालालाई मात्र नभएर सिंगो दक्षिण एसियालाई अन्धकारबाट मुक्त गरेर उज्यालो ज्योति फैल्याउने क्षमता राख्दछ । यो कर्णालीमा भएको सुन खानी भन्दा पनि नेपालमा रहेको हिराको भण्डार हो भन्दा फरक पर्दैन ।

कर्णालीमा गरिबी,भोकमरी,अभाव र पीडा कुनै हालतमा हुनसक्दैन यसका लागि राज्यले विशेष योजना र उपयुक्त नीति अवलम्बन गर्नुपर्छ । कर्णालीलाई गरिबीको बिल्ला भिराएर राज्य उम्कन मिल्दैन । कर्णालीसंग प्रचुरमात्रमा रहेको प्राकृतिक स्रोत साधनको दोहन गरेर समृद्ध कर्णाली निर्माणको अभियानमा राज्यको ध्यान जानै पर्छ ।

कर्णालीको विकासको लागि पाँच वटा (व) को सुत्र प्रयोग गर्नुपर्छ । अनि मात्र कर्णाली नेपालको नमुना र विश्वको आकर्षक क्षेत्र बन्न सक्छ । त्यो भनेको वाटो, विजुली, वन, विचार र वजार व्यवस्थापन प्रयोग हो ।

विकासका लागि रोड कनेक्टिभिटी अर्थात् सडक सञ्जाल र सम्पर्क सञ्जाल पहिलो आवश्यकता हो ।
विजुली अर्थात् उज्यालो अर्को मुख्य आधार हो । कर्णालीसंग भएको जलस्रोतबाट ठुलो परिमाणमा जलविद्युत उत्पादन गर्न सकिन्छ । जलविद्युत आर्थिक विकासको महत्वपूर्ण मेरुदण्ड हो ।

त्यस्तै हरियो वन नेपालको धन पनि भन्ने गरिन्छ । वनले पनि आर्थिक स्रोत र वातावरण स्वच्छ बनाउनका लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । कर्णालीमा भएको प्राकृतिक जङ्गलबाट  त्यो क्षेत्रले भरपुर फाइदा लिन सक्छ । कार्वन ट्रेड मार्फत मुलुकले मोटो रकम प्राप्त गर्न सक्छ ।

विचारले नै संसार परिवर्तन गर्न सकिन्छ । हजारौं बन्दुकबाट निक्लिएको गोलि भन्दा पनि सकारात्मक सोच र स्वस्थ मस्तिष्क भएको मान्छेको विचार अझ शक्तिशाली हुन्छ । त्यसैले कर्णालीमा सचेतना फैलाउन जरुरी रहेको छ ।

कर्णाली चीनको महत्वपूर्ण व्यापारिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक क्षेत्र मानसरोवरसंग सिधा सम्बन्ध रहेको  प्रदेश भएकाले चीनको प्रमुख व्यापारिक केन्द्रको रुपमा यसलाई स्थापित गर्नुपर्छ ।  यहाँ प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटन उद्योगको प्रचुरमात्रमा सम्भावना रहेको छ ।

कर्णाली स्याउ ,च्याउ र झ्याउको भण्डार भएकाले यसलाई समुचित प्रयोग गर्नका लागि राज्यले विशेष योजना र नीति अपनाउनु पर्छ । यो एकदमै अमूल्य चिज हो । हामीले भन्दै आएको संजीवनी बुटी नै यही हो भन्दा पनि फरक पर्दैन । यसलाई उचित ढंगले सदुपयोग गर्न सकियो भने मुलुक कायापलट हुन्छ ।

आर्थिक आम्दानीको प्रमुख स्रोत यार्सागुम्बा र जटामसी जस्तै यो पनि कालान्तरमा बहुमूल्य हुनसक्छ ।

यस्तो सम्भावना भएको ठाउँमा पनि गरिबी र भोकमरीका पीडाका साथ साथै सामाजिक अन्धविश्वास यसलाई (सुपर नेचुरल बिलिफ) पनि भन्ने गरिन्छ । यसले यहाँका महिलाहरुलाई प्राकृतिक यातना समेत दिएको छ भन्दा पनि फरक पर्दैन । महिनावारी अर्थात् यहाँका बासिन्दाको भनाइमा छुई हुने महिलाहरुले छाउपडी गोठमा बस्नुपर्ने पर्ने वाध्यताले गर्दा महिलाको समानताको अधिकारमाथि नै प्रहार भएको छ ।

छाउपडी गोठमा बसेका महिलाको दु:ख ,पीडा र वेदनारुपी यातना देख्दा जंगलीतन्त्र र जङ्गली युगको पुनरावृति भएको जस्तो लाग्छ ।

छाऊ गोठमा बसेका महिलाहरु सामाजिक हिंसाको सिकार बन्नु परेको छ । बिसालु  र हिंस्रक जङ्गली जनावरको त्रास सर्पको डरका साथ साथै अन्य अकल्पनीय घटना समेत घट्ने गरेको छ ।

कतिपय महिलाहरु मध्य रातमा मस्त निद्रामा परेको बेला बलात्कारको सिकार बन्नु परेको छ । यहाँका युवा मध्यरातमा सिकार खेल्न छाउपडी गोठमा जाने गरेको आरोप पनि लाग्ने गरेको छ । छाउ गोठमा बस्ने महिला बलात्कारीको खजाना हुनु परेको छ ।

मासिक हुने मिन्चुरेसनको समयमा महिलालाई घरबाट कहालीलाग्दो यस्तो गोठमा पठाउने गरिन्छ । पूर्वी क्षेत्रका गोठमा त पशु बस्ने गर्छन के पश्चिमका महिला पशु हुन् ? यस्तो परम्परा हाम्रो समाज विरोधी कार्य  हो ।
महिलाहरु शारीरिक रुपमा कमजोर हुने यो अवस्थामा पारिवारिक हेरचाहको आवश्यकता पर्ने बेलामा पशु जस्तो जङ्गलमा लखेटिनु पर्ने कस्तो परम्परा हो ?

शहरका र  अन्य ठाउँका महिलाहरु महिनावारी हुँदा घरमा परिवारसंगै बस्ता हुने तर कर्णालीका महिलाको हकमा अछूत र अपवित्र हुने यो पनि न्यायोचित कुरा हो ? यो भनेको सामाजिक प्रथा नभई कुप्रथा हो । यसले महिलाहरुलाई छाउपडी पठाउने भन्दा पनि छाउपीडा दिने गरेको छ ।

छाउपडी कुप्रथालाई नमान्नु भनेको धार्मिक हिसाबले पाप हो भन्ने मान्यता रहेको छ । यो एक प्रकारको पीडा तथा यातना भएकाले संविधानको  यातना विरुद्धको हक, घरेलु हिंसा ऐनलाई आधार मानेर महिला विरुद्धको हिंसा (कसुर तथा सजाय ) ऐनको व्यवस्था गरी छाउपडी कानुनी हिसाबले पनि  अपराध  हो भन्ने कानुनको व्यवस्था गर्दै यस्तो कार्य गराउने परिवार र समाजलाई सचेत गराउदै उनीहरुको संलग्नता हेरी २ बर्ष सम्म कैद र १० हजार रुपयाँ जरिवानाको व्यवस्था गरियो भने यो कुप्रथा स्वत अन्त्य हुन्छ ।

प्रथा हुनका लागि सर्वस्वीकार्य र न्यायोचित हुनुपर्छ । नेपालका अन्य भूभागमा वसोवास गर्ने महिलाहरुलाई चाहिँ यस्तो गोठमा नबस्दा केही नहुने कर्णालीका महिलामा चाहिँ सामाजिक बार लाग्ने कस्तो दुनियाँ हो यो ? छाउपडी कुप्रथा भएकाले यस्ता छाउ गोठ तत्काल भत्काउने अभियानको थालनी गर्नुपर्छ ।

हामी सवै मिलेर कर्णाली, सुदुरपश्चिम र यसका आसपासमा भएका यस्ता यातना गृह भत्काउने कार्यमा जुटौ । राज्यले त्यस क्षेत्रका  महिलामा  चेतनाको स्तरमा वृद्धि गर्नुका साथै महिला सशक्तीकरणमा ध्यान दिनैपर्छ । सामाजिक कुप्रथाको बिरुद्धमा विद्रोह गर्न सिकाउनै पर्छ ।

हाम्रो अभियान कर्णाली सुधारमा केन्द्रित हुनुपर्छ । छाउपडी प्रथालाई जरैदेखि उखेलेर फाल्नुपर्छ । यो भनेको महिला मुक्तिका लागि गरिएको एउटा सानो प्रयास हो । छाउपडीको पीडाबाट महिलाहरुले छुटकारा पाउनु पर्छ ।स्रोत-दैनिकनेपल;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com