आज विश्व नर्स दिवस, सुरक्षित कार्यस्थलको माग गर्दै नर्सहरु र्यालीमा...

काठमाडौं बैशाख ३०,

अन्तर्राष्ट्रिय नर्सिङ दिवस (मे १२) को अवसरमा आज राजधानीमा बृहद् र्याली एवम् प्रभातफेरिको आयोजना गरियो। सुरक्षित कार्यस्थल, रोजगारीको व्यवस्था, गुणस्तरीय नर्सिङ सेवा, औद्योगिक र स्कुल नर्ससहितको प्लेकार्ड बोकेर माइतीघरबाट निस्केको र्याली थापाथली, त्रिपुरेश्वर, सहिदगेट, वीर अस्पताल हुँदै टुँडिखेलस्थित खुल्लामञ्चमा पुगेर सभामा परिणत भएको थियो। नर्सिङ सेवामा सुप्रसिद्ध फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर यो दिवस मनाइने गरिन्छ।

'स्वास्थ्य प्रणाली सुधारका लागि नर्सिङसेवा' नाराका साथ विश्वका १३६ मुलुकमा आज विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ। नेपालमा सूचीकृत नर्सको सङ्ख्या ६५ हजार छ। मुलुकका १०७ कलेजमा नर्सिङ्ग पढाइ हुने गरेको छ। त्यहाँबाट अनमी, स्टाफ र विएन गरी वार्षिक रुपमा आठ हजारको सङ्ख्यामा नर्स उत्पादन हुँदै आएका छन्।

नेपालमा नर्सिङ विषयमा स्नातकोत्तर तहको समेत पढाइ हुनेगर्छ। उत्पादनको तुलनामा रोजगारीको अवसर स्वदेशमा ज्यादै न्यून भएकाले विदेसिने नर्सको सङ्ख्या उल्लेखनीय रहेको छ। लाखौँ रुपैयाँ खर्च गरेर पढाइ पूरा गरेका नर्स स्वयम्सेवीका रुपमा कार्य गर्न बाध्य रहेको नेपाली नर्सिङ परिषद्को भनाइ छ।

निजी क्षेत्रका अस्पतालले न्यूनतम एक वर्षको कार्यअनुभव भएकालाई मात्र रोजगारी दिने गरेकाले पनि अनुभव हासिल गर्नका लागि स्वयम् सेवा गर्नुपर्ने नर्सलाई बाध्यात्मक अवस्था रहेको छ। स्वास्थ्य क्षेत्रमा नर्सिङ क्षेत्रलाई हेर्ने नीति अझै सकारात्मक बन्न नसकेको गुनासो रहँदै आएको छ। नेपालको जनसङ्ख्या एक करोड भएको अवस्थामा सृजना गरिएको दरबन्दी अझै विस्तार हुन नसकेकाले नर्स विदेसिन बाध्य रहेको नेपाल नर्सिङ सङ्घका पूर्वअध्यक्ष सरला केसीले बताए।

नर्सिङ पेसालाई स्वास्थ्य सेवाको मेरुदण्डका रुपमा लिइन्छ। स्वदेशमा मात्र नभएर विश्व बजारमा समेत यो पेसामा रोजगारी पाइने हुँदा पनि यो पेसालाई आकर्षक मानिन्छ। र्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले सबै जनतामा स्वास्थ्य सेवाको पहुँच सहज बनाउने सरकारको नीतिअनुसार नर्सिङ सेवालाई पनि सुधार र परिमार्जन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे। रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com