छुवाछुत विरुद्धको तेस्रो विश्व सम्मेलन सम्पन्न

काठमाडौं, ३ जेठ,

छुवाछुत प्रथालाई विश्वका धार्मिक साँस्कृतिक लयागत संपूर्ण समाजलाई नकारात्मक असर पार्ने समस्याका रुपमा लिई यस्तो कहाली लाग्दो समस्यालाई संसारका हरेक समाजबाट सबैको ऐक्यवद्धता र मानवताका बलमा जरैबाट उखेल्ने र समाजमा विघमान छुवाछुत निमूर्ल गर्ने प्रतिवद्धता सहित छुवाछुत विरुद्ध तेस्रो विश्व सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनमा नेपाल लगायत भारत, न्युजिल्याण्ड, बंगलादेश, अष्ट्रेलिया, अष्ट्रिया, अमेरिका लगायतका विभिन्न देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मानववादी समाज (सोच) नेपाल, अन्तर्राष्ट्रिय मानववादी संगठन (आइ.एच.ई.यू), र राष्ट्रिय दलित आयोगको संयुक्त तत्वाबधानमा सो सम्मेलन आयोजना गरिएको थियो ।

सम्मेलनको उद्घाटन गर्दै जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले जात भित्र अन्तरजात र अन्तरविरोध कायम भएकोले जातीय प्रथा हटाउनै पर्छ भन्नु भयो । उहाँले छुवाछुत विरुद्धका कार्यक्रम हरेक पार्टीले घर घरमा पुगाउनु पर्छ भन्नुभयो ।

सो अवसरमा मन्त्री पासवान तथा मानववादी समाज (सोच) नेपालका अध्यक्ष शान्ति गुरुङ्गले दामोदर पुडासैनी ‘किशोर’बाट लिखित पुस्तक धर्मको ह्याङ्ओभरको संयुक्त रुपमा लोकार्पण गर्नु भयो । समाजमा विघमान कुरीति कुप्रथाहरु निर्मूल गर्नका लागि यस किसिमको पुस्तक अत्यावश्यक भएको कुरा मन्त्री पासवान, अध्यक्ष शान्ति गुरुङ्ग, प्रतिनिधि सभाका सभासद जीवन परियार, बद्री पाण्डे, शकुन्तला राजभण्डारी, यज्ञराज सुनुवार र विशाल भट्टराईले बताउनु भयो ।

धर्मको ह्याङ्ओभर कृतिको समीक्षा गर्दै वरिष्ठ साहित्यकार एवं पत्रकार मोहन दुवालले धर्मको ह्याङ्ओभर जस्तो समाजलाई सुधारमा अघि बढाउन सक्ने कृति लेखेर दामोदर पुडासैनी ‘किशोर ’ ले ठुलो साहस गर्न भएको हो भन्नुभयो । लेखक पुडासैनीले धर्मको ह्याङ्ओभर धर्मको विरुद्ध लेखिएको कृति नभै धर्मभित्रका विकृतिहरु सुधार्न सचेत पार्ने कृति हो भन्नु भयो ।

दुई दिनसम्म चलेको उक्त सम्मेलनमा ‘परिवर्तित सन्दर्भमा जाती प्रथाले निम्त्याएका सांस्कृतिक भ्रष्ट्रचार’, ‘छुवाछुत प्रथा र धर्म संस्कृति दलित प्रविधि’ र ‘विकास मानिस कहिलेसम्म दलित भइरहने रु’ र ‘नेपाल र भारतको संविधानमा दलित समुदायको अधिकार’ शीर्षकका कार्यपत्रहरु प्रस्तुत गरी त्यसमाथि छलफल गरिएको थियो ।

ती कार्यपत्रहरु भी.वी.रावत, डा. लेखप्रसाद निरौला, डा गोविन्दराज पोखरेल, सांसद जीवन परियार र डा. उद्धव प्याकुरेलले प्रस्तुत गर्नुभएको थियो । समारोहमा छुवाछुुत तथा जाती भेद विरुद्ध नाटक, गन्धर्व गीत र साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

उक्त सम्मेलनको सम्योजन मानववादी समाज (सोच) नेपालका कार्यकारी निर्देशक उत्तम निरौलाले गर्नु भएको थियो भने सम्मेलन सोच नेपालका अध्यक्ष शान्ती गुरूगँको अध्यक्षतामा सम्पन्न भएको थियो ।दैनिकनेपाल;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com