बैदेशिक रोजगारमा गएकी सोममायाको सपना चकनाचूर...सहयोगको याचना गर्दै...

काभ्रे, वैशाख २८,

आयस्रोत केही नभएकै कारणले जिल्लाको दुर्गम डाँडापारि गोकुले–७ की १८ वर्षिया सोममाया गोलेले कलिलै उमेरमा वैदेशिक रोजगारको लागि दुबई रोजिन् ।

त्यहाँ पुगेर १० महिना काम गरिन् । काम गर्दै जाँदा मुटु दुखेर वेहोस भइन् । अस्पताल पुगेको ६ घण्टापछि होसमा आउँदा कम्मरदेखि तल चलेन सोममायाको ।

कम्बरमुनिको भाग नचलेपछि कलिलो उमेरमा जिम्मेवारीको भारी बोक्दै आएकीे सोममायामाथि अजङ्गको पहाड थपियो । विदेश गएर कमाउने र परिवार पाल्ने सपना अधुरै रह्यो उनको ।

लोकबहादुर र साइँलीमाया तामाङका पाँच जना सन्तानमध्येमा जेठी सन्तान हुन् सोममाया ।

म सबैसँग के अनुरोध गर्न चाहन्छु भने म बाँच्न चाहन्छु, मलाई उपचारको लागि तपाईंले सकेको सहयोग गर्नुहोस् । मेरो भविष्य तपाईंहरुकै हातमा छ । म एक आर्थिक विपन्न, काभ्रेको विकट ठाउँको तपाईंकै चेली हुँ । मलाई बाँच्ने अवसर दिनुहोस् ।
विद्यालयसमेत टेक्न पाइनन्

अरुले जस्तै उनको पनि पढेर राम्रो मान्छे बन्ने सपना रहेछ । तर, भाइबहिनीहरुलाई पढाउने कर्तव्य पूरा गर्दा उनले विद्यालयको अनुहारै देख्न पाइनन् । पढौँ भने भाइ–बाहिनी र परिवारलाई बिहान–बेलुकाको हातमुख जोर्न धौ–धौ थियो उनको परिवारमा ।

अरु केही नभएपछि वैदेशिक रोजगारीको विकल्प थिएन सोममायाको । तीन जना भाइ र एक जना बहिनीको भविष्य सोममायाको हातमा जो थियो ।

सोममायाको सपना चक्नाचुर

आर्थिक अवस्था कमजोर । त्यसै त काभ्रेको डाँडापारिलाई कर्णालीको रुपमा चित्रण गर्ने गरिन्छ ।

विद्यालयसम्म पाइला टेक्न पाइनन् । तर भाइबहिनीहरुलाई चाहिं राम्रोसँग पढाउनैपर्छ भन्ने लागेकोले विदेश जाने योजना बुनिन् । तर, उनको सपना सपनामै सीमित रह्यो ।

सोममायाले रुँदै भनिन्, ‘हामी नपढेका ४ जना गाउँकै साथीबीच सल्लाह भयो अनि हामी विदेश गयौं ।’

सोममायाले विदेश पनि ऋण गरेरै गएकी थिइन् । भाइबहिनीहरुको भविष्य कोर्न विदेश गएकी सोममायाको यतिखेर सबै सपना चकनाचुर भएको छ । उनको जीवनसमेत धरापमा परेको छ ।

विदेश गएको १० महिनामै उनी विरामी भइन् । उनको कम्मरदेखि तल चल्दैन, हात पनि राम्रोसँग चल्दैन । साहुको ऋण त तिरिन् तर ब्याज तिर्न नपाउँदै उनी विरामी भइन् ।

एकछिनपछि मलाई एक्कासी पिसाब लाग्यो । म ट्वाइलेट जानका लागि उठ्न मात्र के खोजेकी थिएँ, मेरो कम्मरदेखि तल चल्दै चलेन । म बेस्सरी रोएँ । मैले आफ्नो देश सम्झें, आमाबुबालाई सम्झें, आफन्त, परिवार सबैलाई सम्झें । विरानो देशमा मलाई सहयोग गर्ने कोही पनि भएनन् ।
उपचार खर्च धेरै, आशा मार्दै

सुरुमा उपचार हुनेमा उनी ढुक्क थिइन् । उपचारकै क्रममा उनले भाइबहिनीहरुको भविष्य कोर्ने सपना फेरि देखिकी थिइन् ।

‘रोगको उपचार गरेर निको हुन्छु र फेरि विदेश गएर भाइबहिनीहरुलाई पढाउँछु भन्ने लागेको थियो ।’ अब भने आशा मार्दै उनले भनिन्, ‘त्यत्रो खर्च गर्दा पनि उपचार भएन, अब चाहिं भाइबहिनीहरुको लागि केही गर्न सक्दैन जस्तो लाग्छ ।’

निको नहुन्जेल उनी कार्यरत कम्पनीले उपचार खर्च व्यहोर्ने भनिए तापनि सुरुमा पठाएबाहेक कम्पनीले पैसा पठाएको छैन ।

म बाँच्न चाहन्छु मलाई बाचाइदिनुस्

उनले आफू बाँच्न चाहेको बताइन् । उनी निको भएर देश र समाजको सेवा गर्न चाहन्छिन् ।

‘म बाँच्न चाहन्छु, यो रोगबाट मुक्त हुन चाहन्छु ।’ उनले आँसु खसाल्दै भनिन्, ‘विशेक (सन्चो) भएर म देश र समाजको सेवा गर्न चाहन्छु ।’

उनलाई मंगलबहादुर सिङतान नामको दलालले शिखर मेनपावरबाट ८० हजार रकम लिएर पठाएका थिए । यतिखेर उनले सबैसँग उपचारको लागि सहयोगको याचना गरिरहेकी छिन् ।

उनले सहयोगको लागि सम्पर्क नं. ९८१०३०६६५३ तथा ९८१००००१८० मा सम्पर्क गर्न समेत अनुरोध गरेकी छिन् ।_स्रोत-इसमता;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com