स-सना काम टिपेर समृद्ध बन्ने सपना कहिले देख्ने हामी नेपालीले ?

चन्दा थापा,

मकवानपुर चित्लाङका राजकुमार अधिकारीले राजधानीमा मिस्त्री काम गरेर महिनाको ४० हजार रुपैयाँ कमाउँछन् । काभ्रेका कृष्ण परियार दाइ र भाउजुले राजधानीका कालोपुलको छेउँमा एउटा सिलाइ मसिन राखेर महिनामा ३० हजार कमाउँछन् । कृष्ण दाइ भन्दै थिए “असनमा ६ महिने सिलाइ बुनाइको तालिम लिएर सुरुवात गरेको हुँ । म त बिहान मात्र हो, अन्त पनि काम गर्न जान्छु । भाउजुले अझै धेरै कमाउँछिन दिनभर यहि बसेर ।” उनले दुइ छोरालाई कलेज पढाएका छन् ।

चाबहिलको सिफलमा दिनभरी फलफुल बेच्ने गुल्मी धुर्काेटका दाइले फलफुल बेचेरै बुटवल र सालझण्डीमा दुईवटा घर बनाइसकेका छन् । 

गाउँमा साथीहरु भन्दै थिए, स्कुल बन्न लागेको छ हामीहरु काममा लाग्यौं । महिलालाई दिनको ३०० दिन्छ (महिनाका ९ हजार) पुरुषलाई ५०० (महिनाको १५ हजार) दिन्छ । अहिलेको सिजनमा लिची, आप बेच्नेले दिनभरीमा सबै खर्च कटाएर ५ सय रुपैयाँ भन्दा बढी दैनिक कमाउँछन् । भारतको बिहार र अन्य जिल्लाबाट राजधानी र बाहिरी जिल्लामा बसेर गाडा र साइकलमा तरकारी र फलफुल बेच्नेहरुले, चना चटपटे र मकै पोल्नेले पनि महिनाको ३० हजार भन्दा बढी कमाउँछन् ।

 तर, हामी धेरै नेपाली युवा जमात दलाललाई लाखौ रुपैयाँ बुझाएर त्यो भन्दा पनि गए गुज्रेको कामका लागि खाडी र मलेसिया पुगेका हुन्छौं । जहाँ ज्यानै गुमाउने जोखिम समेत मोल्न तयार हुन्छौं । अनि देशमा रोजगारको अभाव र रोजगारी पाएपनि पैसा नबच्ने भन्छौं । अब भन्नुस त, खाडी र मलेसियामा बसेर मजदुरी गरेर कमाएको पैसा उत्पादनको ठाउँमा कहाँ लगानी भएको छ ? अहिले सम्मको कमाइ (रेमिट्यान्स) केवल पारिवारीक खर्चमै सिमिति छ । देशमै स–साना काममा हात हालेर सन्तुष्ट हुन सक्ने हो भने परिवारसँगै बसेर सुख दुःखले दिनभर जोहो गरेको कमाइले साझ विहाँनको मिठो छाक खानु पाउनुमा नै जीवन र जिन्दगी छ जस्तो लाग्छ मलाई । 

कृष्ण परियार दाइ भाउजु, राजकुमार अधिकारी र त प्रतिनिधि पात्र मात्र हुन । खोजि नभएका र समाजका अगाडि नआएका यस्ता धेरै पात्रहरु समाजभित्र लुकेर बसेका छन् । जसले आफ्नै देशमा पसिना बगाएर परिवारसँगै बसेर बिहाँन बेलुका मिठो मसिनो खाएर पौरख गरेर बसेका छन् । 

भनिन्छ, अमेरिका र युरोप र खाडीमै पनि हातमा पढाइको सर्टिफिकेट हुनेहरुको भन्दा पनि बढी काम गर्ने सक्नेको महत्व हुन्छ । उनीहरुले नै धेरै पैसा कमाउँछन् । अहिले लाग्छ, हाम्रो देश पनि त्यस्तै भएको हो की यहाँ जसले मेहनत गर्छ, कामको सम्मान गर्छ अनि कामलाई पुजा गर्छ उसैले धेरै पैसा कमाएको छ । 

तितो यर्थात देश पुननिर्माणको क्रममा छ । तर, बाटो बनाउने देखी घर बनाउनेहरु धेरै बाहिरी देशबाट आएका मजदुरहरु देखिन्छन् । यहाँ कम्प्युटर विग्रिएर बनाउने कम्प्युटर इन्जिनियर भनेको समयमा पाइदैन्, इलेक्ट्रिीसियन भनेको समयमा पाइन्न, ढल पाइप फुट्यो भने बनाउने पलम्बर समयमा पाइदँैन । तर इलेक्ट्रोनिक पसलमा फोन ग¥यो भने भारतीय इलेक्ट्रीसियन १० मिनेट भित्र सर्भिस दिन आइदिन्छन् । १०– १२ दिनदेखि मान्छे नपाएर थातिरहेको काम १० मिनेटमा गरिदिएर १० मिनेटको २ सय भन्दा बढी शुल्क लिएर जान्छन् । अझै समान पनि आफैले लिएर आउनेले समानबाट पनि मनग्य कमाउन सक्छन् ।

आफूलाई परेको बेलामा समयमा आएर काम गरिदिनेलाई सम्मान गर्नैपर्ने हुन्छ । अब भन्नुस, यस्तै सर्भिस हामी नेपालीबाटै लिन पाइने भए के हाम्रो परिवार समाज अनि देशभित्र आर्थिक समृद्धि गर्न बेर लाग्थ्यो र ? के खाडीको ५० डिग्रीको तातो घाममा बसेर देश अनि परिवार सम्झेर काम गर्नु पथ्र्यो र ? देशमा स्थिरता भएन भनेर भन्ने हामीले आफू स्थिर आफु रहने बानीको विकास कहिले गर्ने हो ? आफ्नो देशको पैसा बिदेशीन नदिएर आफ्नै देशमा उपयोग गराउन सक्नुपनि देशको समृद्धिमा टेवा पुग्छ । 
सोहि सन्दर्भमा कृष्ण दाइ भन्छन् “खाडीबाट लाहुरे बनेर आउँछन्, दुइचार महिना रमाइलो गर्छन अनि फर्कन्छन्, त्यति मात्र भएको छ खाडी र मलेसियाको बैदेशिक रोजगार अनि कमाई । 

काठमाडौंको गोठाटारकी जयकलाले टमाटर फार्ममा प्लाष्टीकको टनेला बनाउने मान्छे नपाएर विरुवालाई पानीले खाइसेको बताउँछीन् । कमलपोखरीमा वि एण्ड वि फर्निचर चलाएर बस्ने स्याङजाका एक व्यवसायीले नेपालमा कामदार पाउनै छाडेको बताउँछन् । काम गर्न आएपनि मेरो बाउको के जान्छ र मैले यसको काम नगरिदिएर भन्ने कामदारको मानसिकताले आफू आजित भएको समेत बताउँछन् उनी । 

यतिधेरै संभावना हुँदा हुँदै पनि हामी बेरोजगार छौ । भन्छौ, संभावना छैैन । नेताहरुले केहि गरेनन् । अनसन बस्छौं । अनि बाध्यताले विदेश लागेको भन्छौं । तर, देशमा रोजगारी अभाव भनेर कराउनेहरु पनि आफ्नै अगाडि बिहारी नागरिकले पसिनाको धारा चुहाउँदै साइकलमा फलफुल, तरकारी बेचेर हिड्दा क्यारमबोर्ड र तास खेलेर बस्नेहरुको जमातको कम छैन हाम्रो समाजमा । त्यसैले कामको सम्मान गरेर देशको माटोमा धेरै गर्न सकिन्छ भनेर स–सना काममै आफ्नो समृद्धिका साथै देशको पनि समृद्धि हुन्छ भन्ने सपनाले हामीलाई नेपालीलाई कहिले सताउँला ?
 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com