गर्मि सँगै औलो रोगको जोखिम बढ्दो

धनगढी जेठ ४,

तापक्रम बृद्धिसंगै कैलालीमा औलो रोगको जोखिम पनि बढेको छ । गत चैत्र महिनामै औलो रोगी फेला परिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले खुला सिमाना भएका कारण कैलालीमा जहिले पनि औलो रोगको जोखिम हुने गरेको बताए । गर्मी तथा वर्षायाममा औलो रोगको बढि संक्रमण हुने गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यस पटक गर्मीयाम लाग्नु भन्दा झण्डै डेढ महिना अघि नै लामखुट्टे देखा परिसकेका थिए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार सेती अञ्चल अस्पतालको प्रयोगशालामा चालू आर्थिक वर्षको चैत महिनासम्म औलोका ९४ जना बिरामी रहेका थिए भने बैशाखमा दश जना प्रमाणित औलोका बिरामी फेला परेका छन् ।

कैलालीमा आर्थिक वर्ष २०७१/०७२ मा औलोका प्रयोगशाला प्रमाणित दुई सय ६८ विरामी रहेका थिए । विश्व स्वास्थ्य संगठनको २०१३ को तथ्यांक अनुसार कैलाली जिल्लाका २६ गाविस तथा केही नगरपालिकामा औलोको बढि जोखिम रहेको छ ।

जिल्लाको लम्की–चुहा र टीकापुर नगरपालिका तथा गोदावरी, चौमाला, उदासिपुर, उर्मा सहित २६  गाविसमा औलोको उच्च जोखिम रहेको छ ।

औलोको उच्च जोखिममा रहेको गाविस तथा नगरपालिकामा औलो रोगबाट जोगाउन यस वर्ष झुल वितरण गरिने जनाइएको छ । जिल्लाको उदासिपुर गाविसमा सात हजार पा“च सय ८१ झुल वितरण गरिने सुपरभाइजर भट्टले बताए । ‘औलोको बढि जोखिम भएका जिल्लामा किटनाशक झुल वितरण गर्ने कार्यक्रम छ’ उनले सरकारले सन् २०१८ सम्म औलो नियन्त्रण गर्ने उद्देश्यले झुल वितरण कार्यक्रमलाई पनि निरन्तरता दिएको बताए ।

जनस्वास्थ्य कार्यालयले सन २०१४ सम्ममा उच्च तथा मध्यम जोखिममा रहेका २५ गाविस तथा नगरपालिकामा सो झुल वितरण गरिसकेको उनले बताए । उनले सन् २०१३ र ०१४ मा गरि दुई लाख ८९ हजार तीन सय ६७ थान झुल वितरण गरिसकेको बताए ।

कैलालीमा औलो उन्मूलन गर्ने योजनाअनुरुप जनस्वास्थ्य कार्यालयले वर्षमा दुई पटक लामखुट्टे मार्ने स्प्रे छर्ने कामलाई निरन्तरता दिएको जनाएको छ । कार्यालयले यस वर्ष कैलालीको लम्की–चुहा नगरपालिका र प्रतापपुर गाविसमा स्प्रे छर्ने काम गर्ने जनाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com