आखिरमा बलात्कृत एक्लै

कोकिला ढकाल

२६ असार ०७१ का दिन दिउँसोको घटना हो । सिकुवामा निदाइरहेकी अढाईवर्षे बालिकालाई नाताले दाजु पर्ने १४ वर्षका किशोरले दुर्व्यवहार गरे । छोरी सिकुवामा सुताएर आमा दाउरा लिन जङ्गल गएकी थिइन् । त्यहीबेला दाजु पर्ने किशोर उनका लागि ‘राक्षस’ बनेर आए । आफूमाथि के भएको हो भन्ने थाहै नहुने उमेरमा नाबालिका बलात्कारको सिकार भइन् ।
kopila dhakal
उनको स्वास्थ्य परीक्षण गरियो, तर थप उपचारका लागि आर्थिक अभाव थियो । महमाईस्थित शान्ति समितिकी अध्यक्ष कल्पना केरुङ भन्छिन्, ‘पहिला गाउँमा सहयोग सङ्कलन गरेर उनको उपचार गरियो । फेरि भिडियो एक्स–रे गर्नुपर्ने भएकाले थप आर्थिक सङ्कलन गर्नुपर्ने भयो । रकम नभएकाले थप स्वास्थ्य जाँच हुन सकेन ।’ बलात्कारपीडित बालिकाको उपचार खर्च राज्यले व्यहोर्ने व्यवस्था नहुँदा उपचारमा समस्या भइरहेको उनको भनाइ छ ।

सानैमा छोरी बलात्कृत भएपछि आमा पनि दोस्रो बिहे गरेर झापातिर गइन् । पीडित बालिका अहिले हजुरआमासँग छिन् । साथीहरू स्कुल गएको देख्दा उनलाई पनि स्कुल जाने रहर लाग्छ । तर, पठाउने कसले ? हजुरआमा उनलाई स्कुल पठाउन सक्ने अवस्थाम छैनन् । बालिका धुलो खेलेरै दिन बिताउँछिन् । उनलाई लुगा, पेन्सिल र कापी किनिदिने आर्थिक स्रोतसमेत परिवारसँग नभएको केरुङले सुनाइन् ।

केरुङ भन्छिन्, ‘घटनापछि बालिकामाथि मनोसामाजिक असर परेको त थाहा हुन्छ नै, गाउँ–घर, छर–छमेकीको उनीप्रतिको दृष्टि पनि धेरै फरक पर्दोरहेछ ।’ ६ चैत ०७१ का दिन चरनका बाख्रा फर्काउन गएकी जमुनाकी १३ वर्षीया बालिका बलात्कृत भइन् । बलात्कारको पीडा र समाजबाट हुनसक्ने हेलाको त्रासले उनले ब्लेडले आफ्नै शरीर चिरेर आत्महत्या गर्न प्रयास गरिन् । स्थानीयले उनलाई गाईगोठबाट उद्धार गरे । भारत दार्जिलिङस्थित इडेन अस्पतालमा उपचारपछि पशुपतिनगरस्थित माइती नेपालको संरक्षणमा केही दिन राखेर उनलाई परिवारको जिम्मा लगाइयो ।

घटनाका आरोपी जमुना गाविस– ७ का २५ वर्षे रोशन प्रधानलाई जिल्ला अदालतले २७ वैशाख ०७२ मा ‘आशय करणी भएको’ भनेर सफाइ दियो । घटना गाउँमै मिलाउन आरोपी पक्षले पटक–पटक दबाब दिँदा मिलापत्र गर्न नमानेकी बालिका अहिले कहाँ छिन् ठेगान छैन । एक स्थानीय भन्छन्, ‘घटनापछि प्रहरीले आफन्तलाई उनको जिम्मा लगाएको भन्यो । घटना हुनुअघि उनी ठूलोबुबाको घरमा बस्थिन्, अहिले ती बालिका कहाँ के गर्दै छिन् पत्तो छैन । तर, आरोपीचाहिँ यतै डुलेको देख्छु ।’ आठ वर्षीया अर्की बालिकालाई १२ साउन ०७२ मा जमुना गाविस– ८ का १६ वर्षे सौजन दियालीले बलात्कार गरेको आरोप लाग्यो । पीडित पक्षले भोलिपल्ट जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो ।

उजुरी परेकै दिन पक्राउ गरिएका आरोपीविरुद्ध प्रहरीले १७ साउनमा जिल्ला अदालतमा आशय करणी मुद्दा दर्ता गर्यो । घटनालगत्तै ‘परिवारभित्रको कुरा’ भन्दै गाउँमै मिलाउने प्रयास भइरहेका बेला प्रहरी पुगेपछि अदालतसम्म आइपुगेको घटनामा पीडित बालिकालाई दबाब दिएर ‘होइन’ भन्न लगाइएको पीडितका आफन्तले बताए । पीडक छुटे, अहिले बालिका विद्यालय जान थालेकी छिन् । ८ असोज ०७१ बिहान कलेज जाँदै गर्दा बाटैमा बलात्कृत भएकी १७ वर्षीया एक किशोरी घटनापछि कलेज जान छाडिन् । बजार, सडक र मान्छेको जमघट भइरहने स्थानमा पनि निस्कन गाह्रो लाग्ने उनको भनाइ छ । ‘बलात्कारको पीडा त छँदै छ त्यसपछि समाजमा घुलमिल हुन नसक्नुको पीडाले उनलाई दिनरात सताएको छ । बलात्कृत भएकी भनेर मेरो कुरा काट्न थालेपछिको पीडा सहन धेरै मुस्किल पर्दोरहेछ,’ उनी भन्छिन्, ‘त्यही कारण अनुहार देखाउन नसक्दा कक्षा– १२ को परीक्षा दिन सकिनँ ।’

कलेज छोडेपछि उनी घरैमा बसेर घाँस–दाउरा गर्नुपर्ने बाध्यतामा छिन् । ‘अदालतले मुद्दा फैसला गर्यो । क्षतिपूर्ति रकम पनि दियो । तर, क्षतिपूर्तिले मात्रै पहिलाको जीवन नफर्किंदोरहेछ,’ भक्कानिँदै उनले पीडा पोखिन्, ‘मनभरि गाँठो परेर आउँछ, चित्त बुझ्दैन ।’ इलाम नगरपालिका– ९ पीपलबोटेका १८ वर्षे सुदीप निरौलाले कलेज गइरहेका बेला बिहान बाटो ढुकेर यी किशोरीलाई बलात्कार गरेका हुन् । जिल्ला अदालत इलामले निरौलाविरुद्ध २५ कात्तिक ०७१ मा आठ वर्ष कैद र २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । १४ वर्षको उमेरमा भिनाजुबाट बलात्कृत एक किशोरी अहिले १६ वर्षकी भइन् । कक्षा–४ मा पढ्दै गर्दा बलात्कारको सिकार भएकी उनको न उपचार हुन सक्यो न गाउँ–घर, छरछिमेकीको सहयोगले पीडामा मल्हम नै लाग्यो । बलात्कारकै कारण गर्भमा बच्चा रहेकोसमेत पत्तो भएन । ‘मेरो पेटमा बच्चा भएको ६ महिनापछि मात्र थाहा भयो ।

पुलिसले अदालत लाँदा एकपटक डाक्टरले जाँच्यो । बच्चा जन्मिने थाहा पाएर सहिनसक्नुको पीडा भयो । तैपनि, सहनुको विकल्प थिएन । पछि बच्चा जन्मियो,’ उनले भनिन् । अहिले उनी अढाई वर्षको छोरो काखी च्यापेर मेलापात गर्दै बिहान-बेलुकाको छाक टार्दै छिन् । ‘दिनभर काम गर्यो, डेढ सय रुपैयाँ ज्याला आउँछ । त्यसैले आमा-छोराको छाक टार्दै छु,’ उनले सुनाइन् । बच्चालाई कुन खाना पोषिलो हुन्छ भन्ने जानकारीसमेत उनलाई छैन । दिदी सुत्केरी हुँदा स्याहार्न गएका बेला भिनाजुले आफूलाई बलात्कार गरेको उनको भनाइ छ । भिनाजु पर्ने दिलबहादुर तामाङ अहिले जेल सजाय भुक्तान गर्दै छन् । पीडित बालिकाकी आमाले दोस्रो विवाह गरिन् । दोस्रो बिहे गरेकी आमासँगै पीडित बालिकाले सहारा लिनुपरेको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार आर्थिक वर्ष ०७१/७२ मा १२ बालिका बलात्कृत भएको प्रहरीको तथ्याङ्क छ ।

इलाममा ६ वर्षभित्र बलात्कारका ७९ घटना प्रहरीमा दर्ता भएका छन् । आव ०६६/६७ मा सात, ०६७/६८ मा आठ, ०६८/६९ मा १०, ०६९/७० मा १७, ०७०/७१ मा १७ तथा ०७१/७२ मा जबर्जस्ती करणीका २० मुद्दा दर्ता भएका थिए । १६ वर्षमुनिका ११.७६ प्रतिशत बालिका तथा ४६ वर्षमाथिका ७०.५९ प्रतिशत महिला बलात्कारको सिकार भएको प्रहरीले जनाएको छ । सहायताका लागि स्पष्ट कानुनी प्रावधान नहुँदा पीडितले झन् पीडा भोग्नु परिरहेको छ । सरकारी निकायले विभिन्न सङ्घसंस्था र सङ्घसंस्थाले सरकारको टाउकामा जिम्मेवारी खन्याउने गरेका छन् । ‘अदालतमा मुद्दा चल्दासम्म मात्र प्रहरीले ‘फलोअप’ गर्छ । त्यसपछि पीडितको अवस्था खासै बुझिँदैन,’ इलामका प्रहरी नायव उपरीक्षक प्रकाश रानाभाट भन्छन्, ‘केस चल्दाचाहिँ पीडित आउँदैन कि भन्ने हुन्छ । त्यसपछि उनीहरूको अवस्था के छ, भन्ने बुझिँदैन ।’
(सञ्चारिका फिचर सेवा/कोकिला, इलामकी पत्रकार हुन् ।) _दैनिकनेपल;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com