मैले पनि नजानेर भ्रष्टाचार गरे कि भन्ने लाग्छ : शान्ता चौधरी

काठमाण्डौ बैशाख १८,

युवा जागौं, भ्रष्टाचारी भगाऔं भन्ने नाराका साथ शनिबार राजधानीमा भएको कार्यक्रममा एक वक्ता थिइन् शान्ता चौधरी ।

झण्डै १० वर्ष कमलरी बसेकी उनी पहिलो संविधानसभामा सभासद भइन् । संंसदीय समितिको सभापति राम्रैसँग चलाइन् । अहिले क्यान्सरलाई जितेर उनी स्कुले शिक्षा अध्ययनमा छिन् । हालै मात्र कक्षा आठ पास गरेकी उनले आफ्ना केही रोचक अनुभव कार्यक्रममा सुनाइन् ।

शान्ता चौधरीको अनुभव उनकै शब्दमाः

म ८ वर्षको उमेरदेखि लगातार १८ वर्षसम्म कमलरी बसेको मान्छे । मलाई त भ्रष्टाचार भनेको के हो र यो कसरी हुन्छ भन्ने थाहा नै थिएन ।

वास्तावमा अहिले पनि के गर्‍यो भने भ्रष्टाचार हुन्छ भन्ने बुझेको छैन । म पहिलो संविधानसभाको सदस्य हुँदा वा व्यवस्थापिका संसदको प्राकृतिक स्रोत साधन समितिको सभापति हुँदा भ्रष्टाचार गरेको भए मलाई थाहा हुन्थ्योहोला । त्यतिबेला कसरी भ्रष्टाचार हुन्छ भनेर म जान्दै जान्दिँनथेँ ।

संविधानसभाको सदस्य हुँदा मलाई ‘शान्ता’ लेख्न ५ मिनेट लाग्थ्यो । त्यस्तो बेलामा भ्रष्टाचार गर्ने क्षमता नै मसँग थिएन । यो विषयमा वास्तविक रुपमा राजनीतिक दलका नेताहरुले बुझ्न जरुरी हुन्छ, नागरिकले बुझ्न जरुरी छ ।

आज यो देशमा देशमा हेर्नुस्, जसले रातदिन खुन पसिना बगाउँछ, जसले रातमा पनि मेहनत गर्छ, जसको काम गरी-गरी हातमा कामले गर्दा ठेला उठ्छ, त्यही मान्छे भात खान नसकेर टालो बाँधेर खाना खान्छ, आज त्यही मान्छे सबैभन्दा बढी गरिब छ । उसैलाई धेरै समस्या छ ।

म गाउँ-गाउँमा देख्छु, हाम्रा आरणीय नेता पुल शिलान्यासमा जानुहुन्छ, घर शिलान्यासमा पुग्नुहुन्छ । अनि त्यो बेलामा उहाँहरुले हातमा पञ्जा लगाएको देख्छु । शिलान्यास गर्दा माटो छुनुपर्छ भनेर उहाँहरु पञ्जा लगाउनुहुन्छ । हेर्नुस् त, उहाँहरु नै यो देशमा सबैभन्दा धनी हुनुहुन्छ । जसले माटो छुन घिन मान्छ, ठूला-ठूला घरमा उहाँहरु नै बस्नुहुन्छ, महंगा गाडी पनि उहाँहरु नै चढ्नुहुन्छ ।

कस्तो बिडम्बना ! जो रात दिन माटोमा काम गर्छ, खुन पसिना बगाउँछ, उसैको घरमा बल्ल-बल्ल आगो बल्छ । यस्तो छ यो देशको स्थिति । त्यही समुदायबाट त्यही वर्गबाट शिकार भएको चेली म पनि हुँ ।

जुन बेलामा पढ्न, स्कुल जान मन लाग्थ्यो, मेरा साथीहरु स्कुल जान्थे । मैले त्यो अवसर नै पाइन । जमिनदारका छोराछोरीलाई ब्याग बोकेर स्कुल पुर्‍याउन म नै जान्थेँ । उनीहरुलाई स्कुल पुर्‍याएर फर्केपछि मेरो आँखाबाट आँशु बग्थ्यो, म स्कुल किन जान नपाएको जस्त्ाो लाग्थ्यो । यो धनी र गरिबको भगवान नै छुट्टा-छुट्टै हुन्छन् कि क्या हो जस्तो सोच्थेँ ।

म कमलरी बस्दा यति धेरै काम गर्थे कि, भोक पनि त्यति नै लाग्थ्यो । जमिनदारको छोराछोरी ८ बजेसम्म सुत्थे । बिहान उठेर अगेनको छेउमा बसेर लेखपढ गर्थे । काम नभएर उनीहरुलाई खान मन नलागेको होला । उनीहरुलाई जमिनदारहरुले लखेटी-लखेटी हुन्छ कि, फकाएर हुन्छ खाना खुवाउँथे । कहिले काहनी सुनाएर पनि खुवाउँथे । म त्यो दृश्य कहिले कुचो लाउँदै, कहिले मल फाल्दै, कहिले भाँडा माझ्दै हेर्थेँ । कसैले मलाई भोक लागेको छ, म खान्छु भन्दा पनि खान नपाउने, कसैले म खाँदिन भन्दा पनि जवरजस्ती छ । कस्तो यो संसार ?

म अहिलेपनि पत्रिका किन्न जाँदा देख्छु । बाटामा दुईहात फिँजारेर माग्ने बसिरहेको हुन्छ, उसले लेऊ न भन्दा वास्ता गर्दैन । त्यही मान्छे मन्दिर भित्र पसेपछि त्यो मूर्ति, न उसले खान्छ, त्यसलाई लड्डु पनि कोचाइदिएको हुन्छ, दूध पनि चढाएको हुन्छ । कस्तो हो हाम्रो संस्कार । मलाई लाग्छ, यो संकारलाई तोड्न जरुरी छ ।

म त आठ कक्षा पास गरेको मान्छे

मलाई यो बीचमा बोल्न पनि डर लागिरहेको छ । यहाँ थुप्रै विद्वानहरु हुनुहुन्छ, म त आठ कक्षा पास गरेको मान्छे । तर, पनि केही भन्छु ।
मैले पनि नजानेर केही भ्रष्टाचार गरेँ कि भन्ने लाग्छ मलाई । म त्यतिबेला संसदको प्राकृतिक स्रोत साधन समितिको सभापति थिएँ ।

एकदिन एक जनाले मलाई चम-चम चम्किने एउटा कागजको भित्र बेरेर एउटा गिफ्ट दिए । त्यो घरमा लगेर खोलेर हेर्दा त्यो रक्सी हुँदो रहेछ । ब्ल्याक लेभल कि के होे रहेछ । मलाई यति रिस उठ्यो कि कुरै नगरौं । किनकी यो महाशयले मलाई रक्सी खान्छे भन्ने सोचेछ भन्ने लाग्यो ।

मैले सचिवलाई सोँधे-त्यो मान्छेले मलाई यो किन दिएको ? उसले दशैंको बेलामा यस्तो गिफ्ट दिने चलन छ, त्यही भएर दिएको होला भन्यो । अनि मैले दोहोर्‍याएर सोँधे-मैले (रक्सी) खान्छे भन्ने सोचेर त हैन नि ? उसले हैन भनेपछि म चुप लागेँ । केही मिठाइ लिएर आउँथे । तर, त्यसमा पनि केही न केही (भ्रष्टाचार) घुस्या छ, हेर्नुस् ।

मैले सरकारको पैसाबाट आफ्नो उपचार गरेको छु । बिचरा जनता एउटा सिटामोल नपाएर मरिरहेका छन्, समान्य उपचार पनि नपाएर छट्पटाइरहेको अवस्था छ । मैले सरकारी रकमबाट उपचार नगरेको हुन्थ्यो भन्ने अहिले मलाई लागिरेहको छ । मलाई यो मञ्चमा उभिएर बोलिरहँदा यो अनुभुति भइरहेको छ ।

प्रचण्डजी बस्ने कुर्सीमा गएर बसेछु

मैले राष्ट्रपतिको निर्वाचनमा बेलामा अर्काको हात समातेर सिग्नेचर गर्दै भोट हाले । त्यसुमा कति भोट रद्द भएछ, भोलिपल्ट मिडियामा आयो, ‘राष्ट्रपति निर्वाचनमा भोट हाल्न नजान्ने सभासदले के संविधान बनाउँथे ?’

त्यतिबेला त्यो मलाई नै भन्या जस्तो लाग्थ्यो । फेरि चुरा बेच्दा-बेच्दै सभासद, भाँडा माझ्दा-माझ्दै सभासद भनेर ब्यापक आयो । त्यो बेलामा पनि मलाई नै भन्या होला जस्तो लाग्थ्यो । म पनि अर्काको घरमा भाडा माझ्दा-माझ्दै आएको मान्छे । त्यो मलाई नभनेपनि मलाई नै भनेको जस्तो हुन्थ्यो ।

अर्को घटना पनि छ, म सांसदको सपथ ग्रहण गर्न गएको थिएँ । मलाई त्यो अझै सम्झना छ, त्यहाँ मोओवादी, एमाले, काँग्रेस कहाँ-कहाँ बस्छ भन्ने मलाई के थाहा ? सबै जना गफमा ब्यस्त थिए । म त प्रचण्डजी बस्ने कुर्सीमा गएर बसेछु । एमालेको सभासदले च्याप्प हात समातेर यता आउनुस्, यो त प्रचण्डजी बस्ने ठाउँ कुर्सी हो भनेर मलाई भन्नुभो । यो अवस्थाबाट मैले मेरो यात्रा सुरु गरेँ ।

अंग्रेजीमा परिचय गर्ने रहर

परिचय भन्ने जीवनमा मैले कहिल्यै सुनेको थिइनँ । एउटा कार्यक्रममा मलाई पनि बोलाइयो । म कमलरी नै थिएँ । म घाँस काट्न जाँदै थिएँ । कार्यक्रममा थारु पनि र महिला पनि राख्नु पर्ने रहेछ, मलाई राखियो । परिचय गर्नु पर्ने भयो । मेरो छेउमा एक जना दाइ बस्नु भएको थियो । उहाँले नमस्कार म प्रेमप्रकाश देवकोटा भनेर आफ्नो परिचय दिनु भयो । त्यसपछि मेरो पालो आयो । मैले त सबैले परिचयमा त्यही भन्छन् होला भन्ठानेँ र, मैले उठेर नमस्कार म प्रेमप्रकाश देवकोटा भनेँ । त्यसपछि सबैले तिम्रो नाम भन, तिम्रो नाम भन भने । अघि नै तेरो नाम भन भन्नु पर्दैन, किन परिचय भनेको भनेर मैले भनेँ ।

मान्छेले सिक्ने क्रममा यति धेरै गल्ती गर्दोरहेछ । मैले थुप्रो गल्तीहरु गरेको छु ।

भिडियो हेर्नुस् 

यस्तै एउटा घटना छ, म सभासद हुँदा प्रधानमन्त्री माधवकुमार नेपालसँग डेनमार्क गएँ । सबैले इंग्लिसमा परिचय दिने म मात्र नेपालीमा दिनु पर्ने भएकाले एकदम ग्लानी महसुस हुन्थ्यो । कांग्रेसको सभासदलाई मलाई इंग्लिसमा परिचय गर्न सिकाइदिनु न म रातभरी घोकेर भन्छु भनेँ । उहाँले एक हप्ता लाग्छ भन्नुभयो । त्यसो भए लेखेर दिनुस् भन्दा उहाँले इंग्लिसमा सक्नुहुन्न, नेपालीमा लेखिदिन्छु भन्नु भयो । उहाँले लेखेको रातभरी घोकेँ ।

तत्कालीन प्रधानमन्त्री माधव नेपाल पनि कार्यक्रममा हुनुहुन्थ्यो । अंग्रेजीमा परिचय गर्ने भएकाले मुटु ढुकढुक गरेको छ । पालो आउन लाग्यो, बिर्सिन्छु कि भन्ने डर पनि लाग्यो । जे सुकै होस् भनेर उठेँ, र, ‘आई एम शान्ता चौधरी, मेम्बर अफ पाल्र्यामेन्ट, न्याचुरल रिसोर्स कमिटी चेयरम्यान, आइएम फ्रम नेपाल’ भनेँ । त्यसपछि माधव नेपाल रातारात के भयो भनेर छक्क पार्नु भयो । आखिर त्यसमा केही गलत लेखिदिएको भए बर्बाद हुन्थ्यो । त्यसैले सिक्ने क्रममा गल्तीहरु हुन्छ ।

उपचारका लागि मैले पैसा लिएँ र, उपचार गरेर फर्किएँ । तर, मसँग २/३ लाख रुपैयाँ बच्यो । जुन प्रयोजनका लागि मैले पैसा लिएको हो, त्यो प्रयोजनमा खर्च नभएपछि मैले यो पैसा राख्दा मलाई आत्माग्लानी हुन्छ भन्ने लाग्यो । किनकी मेरै गाउँमा थुप्रो मानिस उपचार नपाएर मरिरहेका छन् । कसैलाई क्यान्सर हुन्छ, कसैलाई के हुन्छ । मरिरहेका छन् । मैले त्यो पैसा राखेँ भने जिन्दगीभर पोल्छ भन्ने लाग्यो र मैले जनताको पसिना जनतालाई फिर्ता गर्छु भनेर केसैलाई थाहा नदिई राज्यलाई फिर्ता गरेँ ।

हामी लालची स्वभावका छौं

हाम्रो प्रवृत्ति कस्तो छ भने एउटै अफिसमा काम गर्ने छिमेकीको ठूलो विल्डिङ भयो भने घरमा किचकिच हुन्छ । एउटै अफिसमा काम गर्ने उसको त्यस्तो, तपाईले पैसा कमाउनु हुन्न, कमाएको पनि कहाँ फाल्नुहुन्छ भनेर किचकिच हुन्छ । घरमा कहिल्यै शान्तसँग बस्न पाउँदैन । उसले कसरी कमाएको छ भनेर चासो लिँदैनौं । अति लालची स्वभाव हुन्छ । मलाई गाउँमा भन्नुहुन्छ, सांसद भयो काठमाडौंमा घर बनाउन सकेन । एउटा स्कुटी चढेर पनि हिड्न सक्दैन । म, मलाई खुसी लागेको छ, तपाईँहरुसँगै बसेको छु भन्छु ।

पहिले गाउँलेहरु नै भन्थे, पढ्नै नजान्ने औंठाछापलाई पनि सभासद बनायो, के को संविधान बन्नु । संविधानसभामा हुँदा नपढेकै कारणले पटक-पटक चुकेको र अपहेलित हुनु परेको महसुस गरेँ । र अहिले पढ्न थालेँ । हिजो औठाछापे सभासद भने । अहिले पढ्न थालेपछि ‘हेरे हेर के नाटक गरेको बुढेसकालमा पढ्न थालेर’ भन्छन् । जे गर्दा पनि नहुने ।

मैले अघि राज्यले दिएको रकम फिर्ताको कुरा गरेँ । ठिक त्यही बेला मैले आफ्नो छोराको स्कुल फि तिर्न सकिरहेको थिइँन । त्यो वर्ष छोराछोरीलाई काठमाडौंमा पठाउन नसक्ने भएर दाङ लैजान्छु र म पढ्ने स्कुलमा नै पढाउँछु भनेर निर्णय पनि गरेँ । तर, उनीहरु जान मानेनन् । दुःख सुख गरेर पढाउँदैछु । साथी नेत्र केसीले मेरो छोरीलाई कापी कलम किनेर सहयोग गर्नु भएको छ । म उहाँलाई सलाम गर्छु । आफूसँग नहुँदा कतै न कतैबाट सहयोग जुट्दो रहेछ । खुसी लागेको छ । थ्याङ्क यू सो मच भन्न चाहन्छु ।

र, मेरो प्रतिवद्धता

कुनै बेला उचित ठाउँमा गएछु भने, मन्त्री अथवा केही बनेछु भने मेरो त कुनै चान्स नै भएन भ्रष्टाचार गर्ने । आजै छातीमा हात राखेर कसम खुवाउनु भएको छ । कठघरामा उभेको अवस्था हो । त्यसकारण हिजोका दिनमा कमलरी हुँदा पनि शान्ता चौधरी बाँचेको थिइन्, आज पनि शान्ता चौधरी बाँच्छे भन्नेमा ढुक्क छु । त्यसैले मबाट भ्रष्टाचार हुँदैन ।

(भ्रष्टाचारविरोधी अभियान अन्तरगत शनिबार राजधानीमा आयोजित कार्यक्रमा पूर्व सांसद चौधरीले राखेको विचारको सम्पादित अंश) __स्रोत-अनलाइन;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com