कथा ” देउताले पुर्यायो बेश्यालय ”

वाह ! रातका राक्ष्यासहरु …
दिनको उज्यालोमा त सबै सज्जन पो देखें….

मेरो जन्मपश्चात जननीले यस जगत छोडिन रे , यसैले आमाको न्यानो ममताबाट बन्चित भएँ यस जन्ममा । अनि सुरु भयो मेरो दुखदायी जीवन संघर्ष … । केहि समयपछी बाबु पनि सिलाङ् जान्छु भनेर हिडेका कहिल्यै फर्केनन् यसै भन्थे परिवार र आफन्तजन । 

म अभागीलाइ न त आमाको अनुहार थाहा छ न त बाबुको । लछारिदै पछारिदै हुर्के-बढे, हेपाइ र चेपाइको भुब्रोमा । दिन र रात एकै थिए मेरा लागि र त्यसै संघर्षमा बाँचिरहेकी थिएँ ।

स्नेह-प्रेमको अर्थ त मेरा शब्दकोषमै थिएनन् । जे होस् घाँस-दाउरा गर्न सक्ने भए देखि आधा पेट खान पाएकोमा अहोभाग्य ठान्थें , तर जिन्दगी देखि ‘जिन्दगी’ दिग्दार भएको थियो । यस्तैमा एक दिन एक देउता सँग भेट भयो । मलाइ राम्ररि याद छ, जीवनमा म पहिलो पटक लजाएर मुस्काएको । र तिनै देउतामा मेरो एउटा मन बिलिन हुन पुग्यो . . . । जिन्दगीमा कहिल्यै नबुझेको, अनुभूत नगरेको प्रेम उसले बुझाए, अनुभूत गराए । अचानक जीवनमा खुशीको टुकी बलेको महसुस गरें ।

अनि त लाग्यो , आहा जिन्दगी !
फुल जस्तै फक्रेको जिन्दगी, यसरी मुस्काउँदो पनि रहेछ, हाँस्दो पनि रहेछ ।
बिस्तारै हाम्रो निकटता यति बलियो गरि झाँगियो कि कसैको निम्ति मर्न के हो भन्ने अर्थ बुझें ।
र, एक दिन उनै देउतालाई मैले सुम्पे मेरो एउटा मन र जीवन ।

हामी भागेर शहर पस्यौ । जीवनमा कहिल्यै नदेखो शहर । आहा, कति सुन्दर हुँदो रहेछ , कति रात ननिदाईकन हेरे यिनै सुन्दर शहर, जहाँ मलाइ मेरो राजकुमारले भित्र्याए । म टुहुरिलाई यी देउता साक्षात ईश्वर बनि उदाए र मेरो जिन्दगीमा प्रेमको रङ्ग भरिदिए , खुशीको प्रकाश छरिदिए , आफुलाई संसारको भाग्यमानि ठानें त्यतिखेर , साच्चै आहा जिन्दगी !

एकदिन मेरो देउताले एक मनुष्यसँग भेटाए र भने अहिले उहाँसँग जाउ म केहि कार्य सकेर उतै आउनेछु !
हस् , भनि म चुपचाप लागे तिनै मनुष्यको पछी….पछी…..

साँगुरो बाटो हुँदै पुर्याए एउटा अनौठो ठाउँमा, जहाँ अन्या महिलाहरु पनि थिएँ मनलाइ सहारा मिले जस्तो लाग्यो ।
मलाइ देखेर केहिले कर्के नजरले हेरे त केहिले खिसिट्युरीको आभास दिँदै डिच्च दाँत देखाउँदै हाँस्दै थे … खै तिनीहरु के बुझेर हाँसे कुन्नि, मैले भने केहि बुझिन… ।

भगवानको मिठो भजन भने सुने, लाग्यो यो त प्रार्थना गर्ने भजन गाउने ठाउँ हो क्यार ! मन आनन्दित भएर आयो । धराको आँगनमा सुन्दर साँझले आफ्नो आँचल फिजाउँदै थिइन् छपक्कसँग, शहरका सडक र गल्लीहरुमा सप्तरंगी बत्तीहरु झिलिमिली बल्न थालेका थिए … ।

बस भन्ने संकेत दिए , बसे चुपचाप …
उ ‘ मनुष्य भने एकजना महिला सँग मस्किंदै गफ मार्न थाले । कस्तो नकचरो रहेछ हेर , घरमा स्वास्नी छोराछोरी होलान् यहाँ यस्तरी लस्सीदै मस्किएको लबस्तरो मनमनै भने … ।
उनीहरु खै के के बातचित गरे कुन्नि एक महिला आएर भनिन् भित्र जाउँ ।

किन भित्र जाने ? मैले सोधें ..
उ त्यो मालिकनीले नयाँ कपडा दिनु भएको छ तपाइको लागि फेर्न जाउ . . .
तर मैले कपडा किन फेर्ने ? म मेरै वस्त्रमा ठिक छु … मलाइ अरुले यस्सै दिएको राम्रो लाग्दैन ।
चिन्ता नगर्नुस्
उहाँले यस्सै दिनुभएको होइन ..
अनि ?
मान्नुस् उहाँले पैसा लिईसक्नु भएको छ !
तर मैले त दिएकै छैन ?
(ति महिला झर्किदै) ए मुर्ख केटि हिड भनेपछि खुरुक्क हिड न … कति प्रश्न गरेकी … घोक्र्याउँन पो खोजि , मलाइ पनि रिस उठ्यो र हुत्याइदिए ।

गरर… मान्छेहरु आए र एक-एक तिर ताने …
म त्यो अघिको मनुष्यलाइ गुहार्न र खोज्न थाले … उ त थिएन त्यहाँ !
उत्तिनैबेला ती मालिकनी भनाउदी आइन तिनको मुखमा के हो कुन्नि रातो रस आउने हरियो जस्तो पात चपाइरहेकी थिइन एक थप्पड रन्काउदै भनिन् यो साली साँढेलाइ माथिको रुममा लगेर काम पुर्याइदेउ ऐ केटा हो जावा …..

चार/पाँच जना राछ्यसहरु गुरुरु….आए र लगे घिसार्दै माथि ..
त्यसपछि ती महाबलीहरुले शिकारीमाथि शिकार झम्टे झैं झम्टे/हमला गरे … चिथोरे .. . म निरिह चिच्याइ रहे उनीहरु पालैपालो मेरो चिच्याहटको आनन्द लीइरहे …. होस् आउँदा आधा उज्यालो देखिने एउटा कोठामा पाएँ आफुलाई नजिकै एउटी दयालु कृत्यकारी थिईन …

कहाँ छु म ? म चिच्याएँ ..
ती मुर्ती जस्तो बोलिनन्…
फेरी चिच्याएँ … म कहाँ छु ??
वेश्यालयमा ! उनि बोलिन बल्ल…
ना…..इँ …. भन्दै तिनैमाथि झम्टिए
तिनले भनिन् तिमी जतिनै रोए , कराए, चिच्याए पनि यो तिम्रो आवाज सुन्ने कोहि छैन यहाँ । म पनि यस्सैगारी चिच्याएकी थिएँ तिमीले जस्तै….

तिमी बेचियाकी एउटी बेश्या हौ त्यो भन्दा अरु केहि होइन …
मैले स्विकारिन र झोक्किंदै तिनैमाथि कैयौं पटक झम्टिए बाघ झम्टे झैं…

ढोका खोल्न खोजे बाहिरबाटै लक् लगाइएको थियो, ठोक्काए निधार … अनि रोए… यो म कहाँ फसें भन्दै..
तिनलाई बिन्ति गरे, अनुनयविनय गरें मेरो त देउता जस्ता श्रीमान छन् , उहाँले नै त्यो एक जना मान्छेसँग जाँदै गर म केहि कार्य सकेर त्यहीं आउंछु भनेका थिए ।

हो, सबै त्यसै भन्छन् केटिहरुलाई यहाँसम्म ल्याउनका निम्ति …
साइनो बेचेर , सम्बन्ध साटेर , कसैको भावनासँग खेलेर अनेक जुक्ति लाएर तिमी जस्तैगरी यहाँ आइपुग्ने धेरै छन्… ।

हे दैव के सुन्नु परेको यो…. म फेरी ..चिच्याएँ …
म डाँको छाडेर रुएं , भुइँमा लडिबुडी गर्दै…
शरीर ढुट्टोगरि, बेस्सरी दुखेको छ, सिथिल छ, रगताम्य छ..
थाहा छैन, हिजो कतिजना लाठेले मेरो शरीरसँग खेले !

मलाइ मर्न मन लाग्यो । आफ्नै शरीर छुन घिन लाग्यो , आफु देखि आफैंलाई घृणा लागेर आयो झ्यालबाट हाम्फाल्न खोजे ती कृत्यकारीले रोकिन । गरूँ त म के गरूँ ! बाँच्नै मन लागेन … वाकवाकी लागेर आयो .. भतभती पोल्यो मन । तर गर्न केहि सकिन . . .
विश्वास, माया/प्रेम यति झुटो पनि हुँदो रहेछ । बरु म मेरै गाउँमा रमाएकी थिएँ । हाँस्न नपाएपनि बाँच्न त पाएकी थिएँ । मनभरी ईश्वर सम्झेर मन्दिरको चौखट कहिल्यै नटेकौ लाग्यो ।

मेरो जिन्दगीको बहिखातामा तिमीले खुशी शब्दसम्म लेकिदिएको रहेनछौ । भनिदेउ अब आँशु र कष्ट कति छ ईश्वर ? ईश्वर देख्न सकिने र उ बोल्न सक्ने भए म यसैगरी सोध्ने थिएँ …. तर यी नबोल्ने पथ्थर सँग के बिलौना गर्नु ।
जसलाई प्रत्यक्षा देउता सम्झेर पुजे र आफुलाई नै समर्पण गरें उसले मेरो पूजालाई खेलौना सम्झियो त्यसको जिन्दगीमा कहिल्यै भलो नहोस्, त्यसलाई खुशी कहिल्यै प्राप्त नहोस् , त्यसलाई मेरो आँशुले भत्भती पोलोस् . . यो मेरो श्राप हो देउता बनि मेरो जिन्दगीमा आउने राक्ष्यासलाइ ।

मेरा हरेक रातहरु नरपशु सँग यसरी बिते दिदी । अब त मलाइ बाँच्ने लालसा एकरत्ति छैन ।मर्ने प्रयास कति गरें गरें तर दुख भोग्नु रछ बाँचिरहे . . . ।

नर्क कहीं छ भने त्यो यहीं छ जो मान्छेले बनाएका छन् । नर्कमा रमाउने नरपिशाचहरुले अनगिन्ति पटक लुछिएकी म मर्ने भन्दा अर्को केहि सोच्दिनथें ।

तर तपाइँ सँग भेटेपछी बाँकी जिन्दगी यहि आश्रममा व्यतित गरूँ लागेको छ दिदी । म जस्तै पीडा अरुको पनि देखेर एक्लो महशुस भएको छैन ।

सभ्य समाजको सज्जनहरुले लुछ्दा यसरी बेश्या/रण्डी भैँदो रहेछ । तर ती सज्जनहरु चाहिं किन बेश्या र रण्डो नकहलिएका ? मेरो प्रश्न छ यो समाजलाई ।

एउटा जीवित लास बनि फेरेको श्वास आफ्नो लाग्दैनथ्यो ।

हरेक रातको अँध्यारोमा हामी बेश्या सिनु हुन्थ्यौं र हाम्रो अस्तित्वको चोक्टा-चोक्टा लुछ्न आउने सज्जन/जेन्टल म्यानहरु गिद्ध हुन्थे । रातका तिनै राक्ष्यासहरु दिनको उज्यालोमा त कति सज्जन पो हुँदारहेछन …हाहाहा…पागल त म र म जस्ता यसो भनौं हामी बेश्या जसको खुलेआम मोलतोल हुन्छ कुनै वस्तु झैँ ।

यस्तो जिन्दगीदेखि आजित भएकी म जस्तै पीडितले त्यो कोठीमा आत्माहत्या गरेपछि बडो खैलाबैला मच्चियो प्रहरी आए कैयौलाइ समातेर लागे यहि मौकामा म भाग्न सफल भएँ , धन्या !।

एउटा भरिलो बैंस बेश्यालयमा रित्याएर खोक्रो खोस्टो झैं बाँचिरहेकी म ‘म’ जस्तै पीडितहरु सँगको पीडा एकठ्ठा गरि प्रेम, सदभाव र खुशीको फुल फुलाउने झिनो आशाको मुना पलाएको छ अब भने । कुनै फिल्मको कथाझैं लाग्ने उनको पीडादायक कहानी सुनेर बस्ने सबैको आँखा छपक्क भिजेका थिए , अनि सबैले उनलाई गतिलो हिम्मत र ढाडस दिए …. ।

सुनिता राई 'सुब्बा'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com