‘हिलिहाङ’ (लिम्बुवान्का अन्तिम हाङ)राजा चिनाउने वृत्तचित्र

काठमाडौँ, २६ चैत ,
हिलिहाङ लिम्बुवान्का अन्तिम हाङ (राजा) भएको पुष्टि गर्दै निर्माण गरिएको वृत्तचित्र ‘हाङ हिलिहाङ को थिए ?’ विहिबार यहाँ प्रदर्शन गरियो ।
hilihang king
हिलिहाङ फाउन्डेसनको निर्माण तथा लोकेन साँवाको निर्देशनमा बनेको वृत्तचित्रमा राजा हिलिहाङले शासन गरेको हिलिहाङ दरबार (खलङ्गा दरबार)लाई केन्द्रविन्दुमा राखिएको छ । हाल पाँचथर जिल्लाका तीन गाविस – नागी, अमरपुर र पञ्चमीको केन्द्रविन्दुको हस्तपुर डाँडोमा हिलिहाङले राज्य सञ्चालन गरेको प्रमाण वृत्तचित्रमा दिइएको छ ।
विसं १८३१ मा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले १७ पटक हिलिहाङको राज्यलाई आक्रमण गरेका थिए । तर जितहार नभएपछि सम्झौता गरेर युद्ध टुङ्ग्याएको वृत्तचित्रमा देखाइएको छ । ऐतिहासिक प्रमाणलाई सङ्कलन गर्दै निर्माण भएको वृत्तचित्रमा योङहाङ (लिम्बूको एक थर) वंशका हिलिहाङलाई एक प्रतापी र कुशल योद्धाका रुपमा प्रस्तुत गरिएको छ ।
विसं १७८३ मा जन्मिएका हिलिहाङको विसं १८४२ मा छिमेकी राज्य सिक्किममा हत्या गरिएको थियो । वृत्तचित्र हेर्न पुग्नुभएका आपूर्ति मन्त्री गणेशमान पुनले वृत्तचित्रले हराएका सभ्यता, संस्कृति र पहिचानको इतिहास खोतलेको बताउनुभयो । उहाँले भन्नुभयो, “इतिहासमा एकपटक हामी हराएका थियौँ, अब फेरि जुटेर नयाँ आधारको पहिचान निर्माण गर्नुपर्छ, त्यसका लागि समावेशी, समानुपातिक र सङ्घीय गणतान्त्रिक संविधान आएको छ ।”
फाउन्डेसनका अध्यक्ष हर्कबहादुर योङहाङले लुकेको इतिहासलाई उजागर गर्न वृत्तचित्र सफल रहेको बताउनुभयो । निर्देशक साँवाले पहिलो वृत्तचित्र भएकाले कतिपय कमीकमजोरी रहेको बताउँदै आगामी दिनमा सच्चिएर अघि बढ्ने बताउनुभयो । रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com