बुढी कन्याहरुको गुनासो !

 बेइजिङ चैत्र २८,

२७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनियाँ समाजले 'बूढीकन्या' भनेर हैरान पार्छ। समयमै बिहे गर्नुपर्ने राय बाँड्ने यहाँको समाज उमेर उकालो लाग्नेबित्तिकै 'छानेर छाडिएकी' वा 'कुनै गम्भीर समस्या भएकी' भन्नेसम्म शंका गर्छ।

बेइजिङस्थित एउटा रेडियो स्टेसनमा काम गर्ने हुआङ युनयुन आफ्नो बढ्दो उमेरदेखि डर लाग्न थालेको बताउँछिन्। यही साता उनी २९ वर्ष लाग्दैछिन्। प्रतिक्रियामा भन्छिन्, 'मलाई डर लाग्न थालेको छ र ज्यादै नर्वस भएकी छु किनभने म अहिलेसम्म एक्ली छु, कुनै केटा साथी पनि छैन। बिहे गर्नुपर्छ भन्ने ठूलो दबाब झेलिरहेकी छु।'

हुआङले चीनको उत्कृष्ट विश्वविद्यालयबाट मास्टर्स गरेकी छन्, राम्रो तलब भएको जागिर खाइरहेकी छन् भने मनमिल्दा साथी पनि पाएकी छन्। यति हुँदाहुँदै पनि एक्ली, सहरी, शिक्षित महिलालाई 'शेङ नु' (छाडिएकी महिला वा 'बूढी कन्या') भन्ने बात लाग्ने र आफूलाई यस्तो मन नपर्ने उनी बताउँछिन्।

बिहेका लागि उनका साथी र परिवारले मात्र होइन देशकै राष्ट्रिय सञ्चार माध्यमले समेत कम्ता दबाब दिँदैन! हुँदाहुँदा अखिल चिनियाँ महिला महासंघले समेत 'बूढी कन्या'बारे लेख लेख्यो तर 'बूढी कन्या'हरूले चर्को आलोचना गरेपछि सो लेख वेबसाइटबाट हटाइयो।

सरकारी सञ्चार माध्यमले नै 'बूढी कन्या' भन्न थालेको २००७ बाट हो। 'एकल सन्तान नीति'पछि देशमा बढ्दो लैंगीक असमानता अन्त्य गर्न र महिलाहरूलाई बिहेप्रति आकर्षित गर्न सरकारले यस्तो नीति लिएको थियो। छोरीहरूको कमीका कारण अविवाहित पुरुषको संख्या बढी भए पनि अविवाहित नै बस्न रुचाउनेहरूप्रति सरकारले विभेद गरेको केही महिला अधिकारकर्मीको धारणा छ।

'क' स्तरको पुरुषले 'ख' गुणस्तरकी युवती पाउँछ, 'ख' स्तरको केटाले 'ग' स्तरको दुहली पाउँछ अनि 'ग' स्तरको पुरुषले 'घ'स्तरकी महिलालाई बिहे गर्छ तर 'क' गुणस्तरकी महिला र 'घ'स्तरका पुरुष प्रायः अविवाहित हुने गर्छन् र त्यस्ता महिलालाई 'बूढी कन्या' भनेर बात लाउने गरेको हुआङ बताउँछिन्। पुरुषका बारे भने समाज चूप हुनेमा उनको असन्तोष छ।

आउँदो पुस्ता उच्च गुणस्तरको बनाउन पुरुषले आफूभन्दा जान्ने युवतीलाई बिहे गर्नुपर्ने लेता होङ–फिन्चरले २००७ को चीनको स्टेट काउन्सिलमा सुझाव दिएकी थिइन्।

पढेलेखेकी र आत्मविश्वासले भरिएकी युवती प्रायः बिहे गर्न नचाहने प्रवृत्ति बढ्दै गएपछि कतिपय चिनियाँ राज्यले बिहेका लागि उपयुक्त वर खोजिदिने कार्यक्रम सञ्चालन गरेका छन्।

एक्ली महिला भन्दा एक्लो पुरुष समाजका लागि खतरा भएकाले महिलाले बिहे गर्नुपर्ने राय फिन्चरको छ तर चेन (नाउँ परिवर्तन)लाई यी सबै कुरा थाहा भए पनि बेइजिङमा एक्लो जीवनमा आफू रमाएकाले थप तनाव निम्त्याउन बिहे नगर्ने सोचमा छिन्। उनी सेयर बजारमा काम गरेर कुस्त कमाउने चेनका बाबुआमा भने ३८ वर्षको उमेरसम्म अविवाहित रहेकामा लज्जित महसुस गर्छन्।

सार्वजनिक कार्यक्रममा तिनका बाबुआमाले उनलाई लैजान चाहँदैनन् किनभने 'यत्री बूढी कन्या पाल्ने भनेर बा–आमाको आलोचना होला भनेर डराउँछन्,' चेनले बताइन्। त्यसो त चेनका बा–आमाले छोरीले पुरुष मन पराओस् भनेर कयौंसँग 'डेट' पनि मिलाइदिए। 'इमान्दार र जिम्मेवार' पुरुष पाए बिहे गर्ने सोचमा आफू भए पनि त्यस्तो नपाउञ्जेल एकल जीवनमै रमाइरहेको चेन बताउँछिन्।

सुन्दर युवती पढेलेखेकी नभए पनि चाँडै बिहे गर्छन् तर सामान्य अनुहार र कुरुप महिलाको समयमै बिहे हुन गाह्रो हुने गरेको छ।

२७–३० वर्ष उमेरका युवतीलाई 'बूढी कन्या' भन्न नहुने केहीको तर्क छ। १९५० ताका सबैभन्दा ढिला बिहे हुने उमेर २० हुन्थ्यो। १९८० को दशकमा २५ भयो भने यतिबेला २७ पुगेको छ।

विज्ञापनले मच्चायो हल्ला
बूढी कन्या'माथि बनेको एउटा चार मिनेटको विज्ञापन डकुमेन्ट्रीले यतिबेला संसार हल्लाएको छ। जापानी सौन्दर्य प्रशाधन कम्पनी एसके–टुले बनाएको सो डकुमेन्ट्री संसारभरका महिलाको सशक्तीकरण र आफ्नो भाग्यको निर्माता आफैं हुन प्रेरित गरेकाले लोकप्रिय भएको कम्पनी अध्यक्ष मार्कुस स्ट्रोबेलले जनाए।

डकुमेन्ट्रीले वास्तविक जीवनका सिर्जनशील, प्रतिभाशाली र हिम्मतिला चिनियाँ महिलाको भावना व्यक्त गरेको छ, जहाँ २७ वर्ष उमेर पार गर्नेबित्तिकै समाजले 'बूढी कन्या' भनेर गरेको दुर्व्यवहारबारे उनीहरूले दुःख, पीडा र चित्त दुखाएका छन्।

'यस्तो दबाबका विरुद्ध महिलाले सहेर पनि कति काम गरिरहेका छन् भन्ने हामीले देखाउन खोजेका हौं,' कम्पनीले डकुमेन्ट्रीबारे टिप्पणी गरेको छ।

चिनियाँ सरकारले २७ वर्षभन्दा बढी उमेरका अविवाहित महिलालाई 'बूढी कन्या' भन्ने गरेको छ। महिलालाई एकल जीवन नरोज्न र रोजेको खण्डमा ठूलो लैंगीक असमानता उत्पन्न हुने बताउँदै आएको छ। तर सरकारी तनाव झेलेर भए पनि पछिल्लो समय अविवाहित नै रहने निर्णय गर्नेको संख्या बढ्न थालेको छ।

डकुमेन्ट्रीमा एक जना महिलाले भनेकी छन्, 'चिनियाँ संस्कृतिमा बा–आमालाई ज्यादै आदर गरिन्छ तर बा–आमाले बिहे गर भन्दा नमान्नु ठूलो अनादर हो।' यसपछि भिडियोमा उनी घुँक्कघुँक्क रुन्छिन्। अर्की महिलाले डकुमेन्ट्रीमा भनेकी छन्, 'चिनियाँ समाजमा अविवाहित हुनुलाई अपूर्ण ठानिन्छ।'

डकुमेन्ट्रीमा आफ्नी छोरीको निर्णयलाई पछि अभिभावकले स्वीकारेको पक्षलाई महत्वका साथ देखाइएको छ। यो भिडियो इन्टरनेटमा निकै लोकप्रिय बन्न पुगेको छ।

यो डकुमेन्ट्रीले चिनियाँ माइक्रोब्लगिङ वेबसाइटमा ठूलो चर्चा बटुलेको छ भने गम्भीर छलफलसमेत चलाउन सफल भएको छ। भिडियो हेरिसकेपछि सर्वसाधारणले लेखेका छन्, 'सभ्य समाजमा हरेक महिलाको छनोटलाई सम्मान गरिनुपर्छ।'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com