गतसाल भूकम्पमा २२ घण्टा पछी उद्धार सोनिसलाई सेनाले नि:शुल्क पढाउने

काठमाडौँ, १२ वैशाख ,

नेपाली सेनाले गत वर्षको भूकम्पमा परेर बाँच्न सफल नाबालक सोनिस अवाललाई स्नातक तहसम्म पढ्दा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेको छ ।


‘गोरखा भूकम्प’ को एक वर्ष पुगेको दिन पारेर सैनिक मुख्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले अवाललाई शैक्षिक वृत्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

भक्तपुर मूलढोका निवासी श्याम अवालका सुपुत्र सोनिसलाई स्नातक तहसम्मको शिक्षा प्राप्त गरुन्जेल लाग्ने सबै खर्चको व्यवस्था मिलाइने सेनाले जनाइएको छ ।

अघिल्लो वर्ष वैशाख १२ गतेको भूकम्पमा परेका अवाललाई नेपाली सेनाको प्रयासमा २२ घन्टापछि सकुशल उद्धार गरिएको थियो ।

अभिभावकले छनोट गरेको विद्यालयमा कक्षा ५ सम्म शिक्षाआर्जन गर्दा सोनिसलाई लाग्ने सबै खर्च नेपाली सेनाले उपलब्ध गराउने तथा त्यसपछि वीरेन्द्र आवासीय महाविद्यालय भक्तपुरमा स्नातक तहसम्म अध्ययनको व्यवस्था मिलाइने सेनाले जनाएको छ ।

सेनाले भूकम्प गएको २२ घन्टापछि सकुशल उद्धार गरेको नाबालक अवालको तस्बिरले विश्वभर चर्चा पाएको थियो ।

भूकम्पबाट घर भत्किएर बिचल्लीमा परेको अवाल परिवारको जग्गाको लालपुर्जा नभएका कारण सरकारबाट प्रदान गरिने अनुदान हालसम्म प्राप्त गर्न नसकिएको उनकी आमा रस्मिलाले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग गुनासो गरे ।

नेपाल टेलिभिजनबाट प्रस्तुत प्रधानमन्त्रीसँग सिधा कुराकानी कार्यक्रममा सबैले धेरथोर राहत पाएको तर आफूले जग्गाको लालपुर्जा नभएका कारण राहत पाउन नसकेको भन्ने रस्मिलाको चिन्तालाई शान्त तुल्याउँदै प्रधानमन्त्रीले भने, ‘प्रमाणको कुरा होइन, मान्छेको कुरा हो, घर भत्किएको कुरा हो, तपाईंले सहयोग पाउनुहुन्छ ।’ रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com