रोशनीको उज्यालो अनुहार !

काठमाण्डौ चैत्र २८,

कालो कपाल सर्लक्क कोरिन्। आँखाको डिलमा पेन्सिल गाजल र परेलामाथि 'आइस्याडो' लगाइन्। गुलाबी ओठमा रातो लाली लगाइन् र मन्द मुस्कुराइन्। सुन्तला कलरको सारीमा सजिएलगत्तै रोशनी अधिकारीले सबैले सुन्ने गरी सोधिन्, 'हैन, म कस्ती देखिन्छु?'

'निकै राम्री!' दृष्टिविहीन महिलाका लागि आयोजित तीनदिने 'दैनिक शृंगार तालिम' को अन्तिम दिन आइतबार भृकुटीमण्डपस्थित नेपाल नेत्रहीन संघको कार्यालयमा जम्मा भएका अधिकांश सहभागीले एकै स्वरमा भने। कार्यकक्षमा सहभागी २८ महिला दृष्टिविहीनमध्ये कसैले उनको टाउको छाम्दै कपालका बारेमा त कसैले पिठ्युँ छाम्दै पहिरनबारे सुन्दर प्रतिक्रिया दिए।

आफ्नो सौन्दर्यबारे प्रतिक्रियाले जन्मजात दृष्टिविहीन रोशनीको अनुहार नामजत्तिकै उज्यालो भयो। उनी केहीछिन लजाइन्, अनि खिलखिलाइन्। गोर्खा, हंसपुरकी अधिकारी राजधानीस्थित साउथन वेस्टर्न स्टेट कलेजमा कक्षा ११ अध्ययनरत छिन्।

आमाले रोजिदिएको सारी लिएर तालिममा सहभागी उनी पुतलीजस्तै चिटिक्क देखिन्थिन्। त्यसो त उनी घरबाट निस्कँदा पनि कम्ती सजिएकी थिइनन्। तर उनको सुन्दरता बताइदिने ऐना उनको कोठामा थिएन। आफ्नो लागि मान्छे नै ऐना भएको उनी बताउँछिन्।

'घरमा आमा ऐना बनिदिनुहुन्छ,' उनी हाँसिन्, 'संसारको सबैभन्दा राम्रो ऐना।' कलेजमा साथीभाइ उनका लागि ऐना बनिदिन्छन् अनि सडकमा सर्वसाधारण।

सानै उमेरमा पनि उनले सौन्दर्यको थुपै्र परिभाषा बुझेकी रहिछन्। 'सुन्दरता सधैंका लागि खुसीको कारक हो,' अमेरिकी कवि जोन किट्सको भनाइ उद्धृत गर्दै उनले सुनाइन्, 'यो सधंै रहिरहनेछ।' उनले यसो भन्दै गर्दा उनी झनै सुन्दर देखिइन्। 'आमाले सारी रोजिदिएको हो,' आफंै फेरि लजाइन्, 'किनकिन आज निकै खुसी लागेको छ।'

शृंगार तालिममा सहभागी उनीजस्तै उनका साथी पनि औधी खुसी देखिन्थे। तीनदिने तालिमको पहिलो दिन सामान्य पहिरन र अनुहारमा आएका उनीहरु अन्तिम दिन आइतबार चम्किलो अनुहार र रंगीचंगी परिहनमा खुलेका थिए। कुर्तासुरुवाल, सारी–ब्लाउज र लेहङ्गामा सजिएका उनीहरु एकअर्काको सहयोगमा विभिन्न हेयर स्टाइल बनाउँदै सुन्दरताको भलाकुसारीमा व्यस्त देखिन्थे।

'मान्छेको ध्यान तान्नका निम्ति पनि सुन्दरता जरुरी रहेको बुझ्यांै,' सेन्ट जेभियर्स कलेजमा बिए प्रथम वर्ष अध्ययनरत संजिया श्रेष्ठले सुनाइन्, 'अरुलाई खुसी दिन पनि राम्रो बन्नुपर्दो रहेछ।' उनको विचारमा सबैले ताली ठोके।

संजियालाई सामाजिक क्षेत्रमा काम गर्ने रहर छ। त्यसमा पनि मनोविज्ञानको क्षेत्र उनको रुचि हो। विद्यालय तहमा सौन्दर्यबारे खासै रुचि नभए पनि कक्षा १० पछि यसतर्फ चासो बढ्दै गएको उनी सुनाउँछिन्। आफूले हेर्न नसके पनि अरुलाई आफ्नो सुन्दरता देखाउने रहर उनमा जागेको हो।

तालिमअगावै ओठमा लिपस्टिक र क्रिम लगाउँदै आएकी उनले तालिमपछि अरु थुप्रै कुरा सिकेको सुनाइन्। सुन्दरताका कारण साथीभाइसँग घुलमिल हुन सजिलो हुने उनको बुझाइ छ। 'त्यसो त सुन्दरता भित्री मनमा हुनुपर्छ,' उनले भनिन्, 'सँगसँगै बाहिरी सुन्दरता पनि आवश्यक पर्दोरहेछ।' बाहिरी सौन्दर्य आफूलाई प्रस्तुत गर्ने राम्रो माध्यम रहेको उनको बुझाइ छ।

चिटिक्क परेर कलेज गएपछि साथीभाइले गर्ने कमेन्टले जीवनमा खुसी दिने उनले सुनाइन्। उनको कुरामा चाबहिलस्थित पशुपति कलेजमा स्नातक प्रथम वर्षमा अध्ययनरत मालती तामाङले सही थपिन्। कक्षा ५ पढ्दासम्म सामान्य देख्थिन्। त्यही समय कमजोर आँखा सुधार्ने प्रयासमा भएको अप्रेसनले पूरै दृष्टि गुमेको थियो। 'आँखाले नदेखे पनि मलाई मानिसले हेर्न दृष्टिकोण थाहा छ,' उनले भनिन्, 'सुन्दर मानिस देख्दा मनै आनन्द हुन्छ।' सुन्दरताको यही गुण थाहा पाएकी उनले अरुको आनन्दका लागि पनि राम्रो बन्नैपर्ने सुनाइन्।

सानो बेलामा नर्स बन्ने सपना पालेकी उनले दृष्टि गुमेसँगै आफ्नो भविष्य अन्योल रहेको सुनाइन्। दृष्टिविहीनले पढेर पनि रोजगारी नपाएको उदाहरणले उनमा निराशा छाएको छ। 'जति पढे पनि बाटोमै बसेर गीत गाउने त होला नि!' उनले दृष्टिविहीनको पछिल्लो अवस्था चित्रण गर्दै भने, 'दृष्टिविहीनका लागि राज्यले अवसर सृजना गरिदिए उनीहरुको भविष्य सुन्दर हुने थियो।'

उनको सुन्दरताको परिभाषामा दृष्टिविहीन महिला संघकी अध्यक्ष सीता सुवेदी सहमत छिन्। सुन्दर अवसरका लागि सुन्दरता पनि जरुरी रहेको उनको बुझाइ छ। सौन्दर्यले दृष्टिविहीनको व्यक्तित्व विकासमा सहयोगी हुने बताउँछिन् उनी। अपांगता भएका मानिस राम्रा हुन्नन् भन्ने संस्कार चिर्नु जरुरी रहेको उनी बताउँछिन्। 'अरुमा जस्तै हामीमा पनि बाहिरी र भित्री दुवै सुन्दरता जरुरी छ,' उनले भनिन्, 'सौन्दर्यले दृष्टिविहीन महिलाका लागि रोजगारीको अवसरसमेत सृजना गर्नेछ। सामाजिक काम, विभिन्न पार्टी भोजमा सहभागी हुन सहज हुने र यसले उनीहरुभित्र रहँदै आएको निराशाको अन्त्य हुनेछ।' मुलुकभर झन्डै एक लाख दृष्टिविहीन महिला रहेको अनुमान छ।

दृष्टिविहीन अभिभावक संघ नेपालका अध्यक्ष राजेशमान केसी छोरीहरु राम्रा देखिए बाआमालाई निकै खुसी लाग्ने बताउँछन्। 'हामीलाई उनीहरु चिटिक्क परेको राम्रो लाग्छ,' उनले भने, 'उनीहरु जीवनको रङसँगै रमाउँदै गएको महसुस हुन थालेको छ।'

ब्लाइन्ड रक्स र ब्राइटर सोसाइटीको संयुक्त आयोजनामा भएको कार्यक्रममा युरोपमा अध्ययन गर्दै गरेकी ब्लाइन्ड रक्सकी अध्यक्ष सृष्टि केसीले स्काइपमार्फत सहभागीलाई शुभकामना दिइन्। 'सौन्दर्यले हामीलाई आत्मबल दिन्छ,' दृष्टिविहीन केसीले भनिन्, 'तपार्इंहरु तन–मन दुवैले सुन्दर रहनुपर्छ।' यस्ता कार्यक्रमले दृष्टिविहीन दिदीबहिनीको आत्मविश्वास बढाउने उनले बताइन्।

कार्यक्रममा तालिम दिन आएकी ब्युटिसियन उषा लिम्बुले दृष्टिविहीनका माझ सौन्दर्य ज्ञान बाँड्न पाउँदा निकै खुसी लागेको बताइन्। 'उहाँहरु निकै राम्रो हुनुहुन्छ,' उनले भनिन्, 'तामिलबाट झन् निखारिनुभएको छ।' सिकाएका कुरा एकै पटकमा बुझ्ने गरेको उनले सुनाइन्।

गीता माता उच्चमाविमा कक्षा ११ मा अध्ययनरत सम्झना रिजाल आफ्ना बाबासँगै कार्यक्रममा भाग लिन आएकी थिइन्। 'गुमसुम भएर घरमा बस्नुभन्दा चिटिक्क भएर छोरी अगाडि बढेको हेर्न राम्रो लाग्छ,' सम्झनाका बुबा अर्जुन रिजालले भने, 'आज निकै खुसी लागेको छ।' सुन्दरताको रहरसँगै छोरीमा जीवनप्रति रहर पलाएको उनले बताए।

कार्यक्रम उद्घाटन समारोहमा सहभागिता जनाएकी नायिका अशिष्मा नकर्मी सुन्दरताले सबैलाई शक्ति प्रदान गर्ने सुनाउँछिन्। दृष्टिविहीनलाई नजिकबाट बुझेकी उनले उनीहरुभित्र रहेको सुन्दरता झनै राम्रो रहेको सुनाइन्। नकर्मीलाई आफ्ना अगाडि पाएका दृष्टिविहीनले आफूहरु कसरी राम्रो देखिने भनेर प्रश्न राखेका थिए। 'यस्ता कार्यक्रमले उनीहरुमा आत्मविश्वासको लेबल बढाउँछ,' नकर्मीले भनिन्, 'सुन्दरताले उनीहरुको जीवनमा उज्यालो छर्छ।'

आयोजक ब्लाइन्ट रक्सकी सहसचिव एवं दृष्टिविहीन नारायणी दवाडी यहाँ सिकेको ज्ञानले आफूहरुमा आत्मबल थपेको सुनाइन्। तालिममा डेली मेकअप, हेयर स्टाइल र फेसनबारे जानकारी लिएकी उनले तालिम जीवनोपयोगी हुने बताइन्। 'समाजमा रहेको ग्याप जोड्ने काममा यो तालिमबाट लिएको ज्ञान सहयोगी हुनेछ,' उनले भनिन्, 'पार्टी तथा विभिन्न सामाजिक कार्यमा चुपचाप कुनामा बस्नुपर्ने अवस्थाको अन्त्य हुनेछ।'

दृष्टिविहीनले गरेको शृंगारले अन्य सर्वसाधारणको ध्यान खिचेको थियो। इमाडोलकी तारा खतिवडाले आँखा नदेख्नेले गरेको शृंगारप्रतिको मोहले आफूलाई हर्षित बनाएको सुनाइन्। उनी निकै समयमा कार्यक्रमस्थल दृष्टिविहीनका माझ बसेर उनीहरुको सुन्दरतासँगै रमाइन्। 'उनीहरुले नयाँ पहिरनमा सजिएर कपालको जुरो बनाउन थालेपछि मैले आफूलाई थाम्न सकिनँ,' उनी भन्छिन्, 'केहीबेर उनीहरुलाई राम्री बनाउन पाउँदा निकै आनन्द मिलेको छ।' फरक क्षमता भएका व्यक्तिलाई समाजका सबै पक्षले सँगसँगै लैजानुपर्ने उनको बुझाइ छ। 'उनीहरु राम्रो देखिन चाहन्छन्, राम्रो बाटो हिँड्न चाहन्छन्,' उनले भनिन्, 'समाजले उनीहरुलाई हौसला प्रदान गर्नु जरुरी छ।'

के–के सिके?

ब्युटिसियन उषा लिम्बु उनीहरुले डेली मेकअप, हेयर स्टाइल र पहिरनको विभिन्न पाटाबारे राम्रोसँग जानकारी लिएको बताउँछिन्। लिम्बुका अनुसार पहिलो दिनमा उनीहरुले डेली मेकअप प्रयोगका बारे जानकारी लिए। क्रिम, पाउडरको प्रयोग कसरी गर्ने, गाजल–आइस्याडो र लिपस्टिक कसरी लगाउने भन्ने विषयमा चाख मानेर सिके। धेरैका आँखा निकै राम्रा थिए। पेन्सिल गाजल लगाउन सिके। फेस वास कतिपटक गर्ने, स्किन विषयमा जानकारी। धेरैको रुचि पार्टी मेकअपमा बढी देखियो। यसबाट उनीहरु समाजमा घुलमिल गर्न चाहन्छन् भन्ने बुझियो।

दोस्रो दिन उनीहरुले पहिरन विषयमा जानकारी लिएको लिम्बुले बताइन्। कलर कम्बिनेसन कसरी मिलाउने, कस्तो जुत्ता लगाउने, ब्याग कसरी बोक्ने भन्ने विषयमा उनीहरुले जानकारी लिए।

तेस्रो दिन हेयर स्टाइलबारे सिके। कपालको जुरो कसरी बनाउने, कसरी कोर्ने, कपालमा कुन तेल कति हाल्ने, आयल मसाज कसरी गर्ने भन्ने विषयमा ध्यान दिएको उनी बताउँछन्।

लिम्बुका अनुसार उनीहरु आँखामात्र देख्न सक्दैन थिए। बाँकी सबै कुरामा उनीहरु निकै सक्षम रहेको उनले बताइन्। एकपटक भनेको कुरा सहजै बुझेर त्यसलाई व्यवहारमा उतार्न सक्थे। शृंगारविना नै उनीहरुलाई औधी राम्रा पाए। तीनदिने तालिमपछि उनीहरुको जीवनमा सुनमा सुगन्ध थपिएको छ।स्रोत-नागरिक;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com