बासभन्दा पहिले पानी देउ !

 काभ्रे बैशाख १०,

सुनमाया तामाङ उमेरले ६७ कट्नुभएको छ, उमेरका हिसाबले आराम गर्ने समयमा उनी  दैनिक तीन घन्टा हिँड्दै परिवारका लागि पानीको जोहो गर्छिन् । उनी  त्यति लामो बाटोमा २० लिटर पानी बोक्छिन् ।
फोटो फाइल;

फुलेको घुङ्ग्री कपाल, मुजा परेको अनुहार, पुर्पुरोमा हात लगाएर आफ्ना दुःखका कथा सुनाउँदै हुनुहुन्थ्यो काभ्रे जिल्लाको चन्डनी–८ की सुनमाया ।

बुढेसकालमा दिनहुँ पानी बोक्नु उनकाे  दैनिकी बनेको छ । “बुढेसकाल भनेर के गर्नु, जीवन बचाउनै प¥यो, वस्तुभाउलाई पनि खुवाउनु नै पर्यो,”–सुनमायाले भनिन् ।

यति कष्टकासाथ पानी बोकेर भएपनि सातजनाको तामाङ परिवारले एक हल गोरु, एक भैँसी र १० वटा बाख्रा पालेका छन् । टहराको कष्टकर जीवन बिताइरहे पनि उनीहरुलाई बासभन्दा पानीको नै अपरिहार्यता छ ।

गतबर्ष वैशाख १२ को भूकम्पले गाउँका पानीका मुहान सुकेपछि चन्डेनी र आसपासका गाविसमा खानेपानीको हाहाकार भएको छ । यी गाउँका मानिसले एक जर्किन पानीका लागि पूरै दिन बिताउनुपर्ने बाध्यता छ ।

गाउँका प्रत्येक घरबाट तीनदेखि पाँच जनासम्म पानी बोक्न जान्छन् । पानीकै कारण अन्य काम भने गर्न पाउँदैनन् । “खानेपानी नजिक भए अरू काम भ्याइन्थ्यो, पानी ल्याउँदैमा दिन बित्छ । पहिला यस्तो समस्या थिएन, भूकम्पपछि पानीको हाहाकारै भएको छ”, सुनमायाले भनिन् ।

भूकम्पले घर भत्काएपछि अहिले टहराको बास, गर्मीमा पोल्ने, हावाहुरीले सताउने बालबच्चालाई जोगाउन मुस्किल । यो समस्या गाउँको नियति नै बनिरहेको छ । चन्डेनी–९ का ६७ वर्षीय भक्तबहादुर श्रेष्ठको पीडा पनि सुनमायाको भन्दा कम छैन ।

एकातिर खानेपानीको समस्या छँदैछ, अर्कोतर्फ बासको समस्या उत्तिकै छ । हिउँदको जाडो त जसोतसो कट्यो । बर्खायाम सुरु हुनैलाग्दा भक्तबहादुरलाई कसरी परिवारलाई सुरक्षित गर्ने भन्ने चिन्ताले सताएको छ । “हावाहुरी चल्छ, टहरामा पानी चुहिन्छ, अब बर्खा लाग्न लाग्यो, कता भाग्नुपर्ने हो,” पाँच जनाका अभिभावक श्रेष्ठले भने ।

पानीकै समस्याका कारण दुहुना गाई बेचेका श्रेष्ठले अहिले आफूसहित बालबालिकालाई पनि पानीको समस्या भएको बताए । चन्डेनीको माथिल्लो भेगका जनताले छिमेकी जैसीथोक–५ भाटपोल भन्ने स्थानबाट पानी बोक्ने गरेका छन् ।

गाउँमा एउटै मात्र पानीको धारो छ, सानो पानी आउँछ, घन्टौँ हिँडेर पानी भर्न गएकाहरु धारोमा पनि पानी भर्न उत्तिकै लामो समय कुर्नुपर्छ । स्थानीयवासी सुन्तली तामाङले तीनघन्टा हिँडेर धारोसम्म पुगेपनि पानी भर्न डेढदेखि दुई घन्टा लाइन बस्नुपरेको बताए ।

सातजनाको परिवार र वस्तुभाउ धान्दै आएकी उनी दिनमा मुस्किलले दुईपटक पानी ल्याउछ्न् । अरू सबै काम छोडेर पानी बोक्दैमा दिन बिताउनुपरेको उनले  दुखेसो पोखे । गाउँमा पानी बोक्न छोरा मान्छे जाँदैनन्, महिला नै जानुपर्ने बाध्यता छ ।

अधिकांश गाउँलेले गाडीमा बोकेर ल्याएको पानी प्रतिलिटर रु दुईका दरले किनेर बस्तुभाउलाई खुवाउने गरेका छन् । चन्डेनी–९ की सङ्गीता श्रेष्ठले एक गाग्री पानीका लागि राति १ बजे पनि जानुपर्ने र चारदेखि पाँच घन्टामा घरआइपुग्ने गरेको बताए ।

वातावरणविद् एकराज सिक्देलले गाविसमा पानीको हाहाकारलाई मध्यनजर गरी स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमअन्तर्गत पोभर्टी इन्भाइरन्मेन्ट इनिसिएसन पिइए कार्यक्रम सुरु गरिएको बताए ।
संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम युनेपर संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपी०को सहयोगमा चन्डेनीमा खानेपानी परियोजना सुरु गरिएको छ ।

कार्यक्रमअन्तर्गत करिब  ३० लाखको लागतमा गाविसको तल्लोभेगमा पर्ने जरुवा पानीको रिजर्भ ट्याङ्की बनाई माथि पानी तानेर वितरण गर्ने कार्यक्रम छ । युनेपका परामर्शदाता समेत रहेका  वातावरणविद् पूर्णचन्द्रलाल राजभण्डारीले गरिबी निवारण र वातावरण संरक्षणमा उत्प्रेरणा जगाउन कार्यक्रम सञ्चालन गरिएको बताए ।

गाउँमा पानीको हाहाकार भएपछि अधिकांशले दुहुना वस्तुभाउ, हलगोरु बेचिसकेका छन् । पानीकै कारण गोरु पाल्न समस्या भएपछि चन्डेनी–५ का लोकनाथ नेपालले हल गोरु बेच्नुभयो अहिले बारी जोत्न समस्या छ । भूकम्पले चन्डेनी मण्डनमा ३७ जनाको मृत्यु भएको थियो भने कुल ८७१ घरधुरीमा शतप्रतिशत घर भत्किएका थिए । रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com