टिकटका लागि ३५ हजार नहुँदा सावित्री लेवनानमा अलपत्र..

  लक्ष्मी चौधरी,
कैलाली वैशाख ९ -

सावित्री सुनारसँग टिकट किन्ने पैसा भइदिएको भए अहिले उहाँ नेपालमै फर्किसक्नु हुन्थ्यो । पैसा नभएकोले उहाँ दुई वर्षदेखि बाध्यताले लेवनानमै हुनुहुन्छ ।  २०७१ चैतमा लेवनान जानुभएकी सावित्री अहिले अवैधानिक भएर बसिरहनुभएको छ । 

नेपाल फर्किन टिकटको पैसा जोहो गर्न उहाँ एक महिनादेखि अवैधानिक भएर काम गरिरहनुभएको छ । तर अहिलेसम्म नेपाल फर्किन चाहिने ३५ हजार रुपैयाँ पनि जुटेको छैन ।  २०७१ चैतमा गाउँकै ईश्वर लामा मार्फत व्यक्तिगत श्रम स्वीकृतीमा लेवनानमा पुग्नुभएको थियो । घरेलु कामदारका रुपमा लेवनानको बेरुत पुगेकी सावित्रीलाई मुसाहमुद भन्ने गाउँको एउटा घरमा पु¥याइएको थियो कामका लागि । 

काठमाडौंबाट उड्दै गर्दा सावित्रीलाई महिनाको २५ हजार रुपैयाँ तलव हुन्छ भनिएको थियो तर उहाँ पुगिसकेपछि तलव भनेजति पाउनुभएन ।  ‘पैसा धेरथोर त त्यस्तै हो भनेर चित्त बुझाएर काम गर्दै थिइ’ सावित्रीकी आमा मायाले भन्नुभयो, ‘तर साहुले नै नराम्रो व्यवहार गरेपछि त्यहाँ बस्नै सकिनछे ।’ लेवनान पुगेदेखि नै सावित्रीले फोनमा आफूलाई साहुले राम्रो ब्यवहार नगरेको बताउँदै आउनुभएको थियो परिवारलाई ।  बस्नै नसक्ने भएपछि उहाँले साहुसँग आफ्नो भिसा माग्नुभयो तर भिसा दिनुको साटो उल्टै घरबाट निकालिदियो । 

साहुले निकालिदिएकी सावित्रीलाई एक फिलिपिनी महिलाले खाने बस्ने व्यवस्था गरेपछि अहिले उहाँ त्यहीँ बसिरहनुभएको छ । तर उहाँसँग आफ्ना कुनै कागजात नभएकाले अवैधानिक हुनुहुन्छ ।  गास र बास पाएपछि सावित्रीले घरमा फोन गरेर आफू नेपाल फर्किन चाहेको तर टिकट गर्ने पैसा नभएको बताउनुभयो । घरको अवस्था पनि त्यो भन्दा फरक छैन । छोरी विदेशमा अलपत्र भएर घर फर्किन चाहँदा पनि उसलाई घर फर्काउन परिवारले सहयोग गर्न सकेको छैन ।  आर्थिक अवस्था कमजोर घरमा वर्षभरिलाई खाना नपुग्ने जेनतेन गरेर गुजारा भइरहेको छ । 

खेतीपाती गरेपनि पारिवार सदस्य बढी भएकै कारण खानालाउन धउ भइरहेको सावित्रीकी आमाले बताउनु भयो ।  सावित्रीको परिवारमा बुवाआमा, बुहारी, दुई जना छोराछोरी, बहिनीकी एउटी छोरी र सावित्रीकै एक जना छोरा छन् । घरपरिवारलाई सम्हाल्ने एक मात्र छोराको मजदुरीका लागि भारतका ज्यान गएपछि परिवारलाई पाल्ने जिम्मेवारी जेठी छोरी सावित्रीको काधँमा परेको छ । सावित्रीले परिवारकै समस्या र राम्रो कमाई गर्नलाई लेवनान पुगेकी सावित्री उल्टै लेवनानमा गैरकानुनी भई नेपाल आउन प्रयास गरिरहेकी छिन् ।  

आफ्नो बलबुताले छोरी फर्काउन नसकेपछि सावित्रीकी आमा माया कैलालीमा सूचना केन्द्रमा पुग्नुभएको छ । केन्द्रमा पुग्दा मायाको अनुहार मलिन थियो । आग्रहका लागि धेरै शब्द पनि थिएन उहाँसँग । त्यसैले उहाँ भन्दै हुनुहुन्थ्यो ‘सावित्री नेपाल फर्किन चाहिरहेकी छे तर फर्किने पैसा छैन सहयोग गरिदिनुपर्‍यो ।’ सूचना केन्द्र पुगेपछि उहाँले छोरीलाई पठाउँदा एजेण्टले ठगेको पनि थाहा पाउनुभयो ।  

एजेण्टले उहाँलाई व्यक्तिगत श्रम स्वीकृतीमा पठाएपछि छोरीका बारेमा सरकारी निकायमा कुनै प्रमाण हुँदैन भन्ने थाहा भएपछि सावित्रीकी आमा अझै आतिनुभएको छ । व्यक्तिगत श्रम स्वीकृतीमा विदेश पुगेकी सावित्रीको गएको फागुन १२ गते श्रम अवधी पनि सकिएको छ । त्यसैले मायालाई छोरीलाई अब कसले कसरी घर फर्काइदिन्छ भन्ने पनि थाहा छैन । स्रोत-उज्यालो;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com