हराएकी एक वृद्धालाइ फेसबुकाले भेटाइदियो परिवारसँग..

 चितवन, वैशाख १५ ,

हराएकी एक वृद्धाको सामाजिक सञ्जाल फेसबुकका कारण परिवारसँग पुनर्मिलन भएको छ ।

नवलपरासी धौबादी–७ शङ्खदेव टोलकी ८४ वर्षीया इन्द्रकला पाण्डेको यसरी उद्धार भई फेसबुकमार्फत परिवार भेटेर पुनर्मिलन गराइएको हो । मानव सेवा आश्रम चितवनले यही वैशाख ४ गते उद्धार गरेकी वृद्धालाई फेसबुकमार्फत परिवार पत्ता लागेपछि पुनर्मिलन गराइएको आश्रमकी अभियन्ता रुपा केसीले जानकारी दिइन् ।

फेसबुकको माध्यमबाट आफ्नी हजुरआमा आश्रममा रहेको थाहा पाएपछि लिन आएको नाति पुण्य प्रसाद पाण्डेले मङ्गलबार पुनर्मिलनका क्रममा बताए । मानव सेवा आश्रमले उनलाई भेटेपछि फेसबुकमा तस्बिरसहित जानकारी राखेको थियो । सोही जानकारीका आधारमा खोजी गर्दा हजुरआमालाई फेला पारेको पुण्यप्रसादले बताए ।

घरमा कोही नभएको बेला वैशाख १ गते इन्द्रकला निस्किएकी थिइन् । पुण्य प्रसादका अनुसार उनी यसअघि पनि ६ पटक हराइसकेकी थिइन् । उनलाई विभिन्न ठाउँमा गएर खोजी गरी घर ल्याउने गरिएको पुण्य प्रसादको भनाइ छ । अहिले धेरै ठाउँमा खोजी गर्दा भेटिएको थिएन ।

बारा, जितपुर घर हो भन्दै भरतपुर अस्पतालअगाडि गम्भीर घाइते अवस्थामा रहेका बेला नारायणगढ पुल्चोक निवासी अस्मिता गुरुङले उनलाई फेला पारेपछि वैशाख ४ गते नै आश्रममा ल्याइएको थियो । इन्द्रकलाको निधार तथा दाहिने आँखावरपर गहिरो घाउ लागेको अवस्थामा उद्धार गरिएको अभियन्ता सिर्जना ओलीले बताइन् ।

उपचारपछि सबै घाउ ठीक भएको उनको भनाइ छ ।

यसअघि गएको मङ्सिरमा पनि उनलाई आदर्श गृहले उद्धार गरी परिवारको जिम्मा लगाएको थियो । (रासस)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com