सेतो सुतीले धानेको इज्जत

ऋचा भट्टराइ,

एकदिन स्रोह वर्षे इसकन्दर विद्यालयबाट चाँडै घर फिर्छ। सधैँ घर आइपुग्ने समयभन्दा तीन घण्टा अघि ढोकामा ढक्ढक्याउँछ। उसकी आमा पेम्बेले निकै बेरको अलमल पछि ढोका खोल्छिन्। आमाको कपाल जर्खरिएको हुन्छ, अनि एउटा टाँकले आफ्नो टाँकघर बिर्सिएर अर्कै घर ताकेको हुन्छ। आमालाई केही नभनी इसकन्दर आफ्नो कोठामा पसेर ढोका ढ्याम्म लगाउँछ।
Capture
खाटमा डङ्रङ्ग पल्टिएर सुन्न थाल्छ–उसको घरमा कुनै परपुरुषको स्वर, साउतीहरु, अनौठा आवाज। त्यसको एक हप्तापछिको पत्रिकामा खबर छापिन्छ–किशोरद्वारा इज्जत बचाउनका लागि आफ्नी आमाको हत्या।

इज्जत, लाज, प्रतिष्ठा, डर, समाज, बेइज्जत । हामी केटीमान्छेहरुलाई बुझ्ने भएदेखि नै यी पाठहरु कण्ठस्तै हुन्छन्।
‘छोटो लुगा लगाउनु हुन्न, केटाहरुको मनमा नराम्रो विचार आउँछ। त्यसको लागि तिमी जिम्मेवार हुन्छौ।’ ‘राम्रोसँग छोपछाप पारेर बस। तिघ्रा फ्याँ पारेर बस्ने होइन। लुगा सपक्क मिलाउ, यो घाटीँको कपडा माथि तान, गोडाहरु जोड।’

‘लाज त केटीमान्छेको गहना हो, उसको श्रृङ्गार हो। अलिकति निहुरिएर, थोरै शर्माएर, दबेको स्वरमा बोल्ने केटी संस्कारी हुन्छन्!’

‘बाटोबाटोमा जिस्किएर र इत्रिएर हिँड्नु हुँदैन। शरम सक्किएका छडुँल्लीले मात्र त्यसो गर्छन्।’‘कुनै केटाले छिसिक्क छोइदियो भने तिम्रो जिन्दगी सक्कियो त! उसलाई त के छ र, मजा लुट्छ अनि हराउँछ।’

आफ्ना वरपरका सबैजनाबाट सुन्दा सुन्दा लाग्छ, ए होला त नि। छोरीमान्छे भएपछि शान्त र सुशील, दयालु र मृदुभाषी हुनैपर्छ। हाम्रा पहिचान तिनै हुन्, गर्व गर्नु पर्छ। होहल्ला गर्नुहुँदैन, केटाहरुसँग मेलजोल बढाउनु हुँदैन, समूहमा तर्क गरेर आफूतिर ध्यानाकर्षण गर्नुहुँदैन। त्यसो गरे माया पाइन्छ, अनि सम्मान पनि। समाजमा पनि इज्जत हुन्छ।

समाजमा त इज्जत होला, तर आफ्नो लाचारीपन देखेर केटीमान्छेको मनबाट आफ्नै लागि सम्मान बाँकी रहन्छ? अरुको आँखामा संस्कारी बन्ने होडबाजीमा महिलाले आफ्नो पहिचान कोर्न सक्छिन्? समाजका केही शक्तिशाली व्यक्तिहरुले बसालेका यी नियम र पछ्याउने फोस्रा आडम्बर माथि उठेर महिलाले आफ्ना जीवनका निर्णय लिन पाउँछिन्?

यी तीन प्रश्नहरुको जवाफ साह्रै मन छुने ढंगमा खोजेकी छिन्,टर्कीकी लेखक एलिफ शफकले उनको उपन्यास ‘अनर’ (इज्जत) मा।
चौध वटा कृतिकी रचनाकार शफकले ती मध्ये नौ वटा त उपन्यास नै लेखेकी छिन्। आफ्नो मातृभाषा र अङ्ग्रेजी दुवैमा मीठा सिर्जना गर्ने शफकले टर्कीको संस्कृति, इतिहास, रहनसहन, आध्यात्मिक पहिचान र यसका आप्रवासीहरुका बारे लेख्न रुचाउँछिन्। आफूलाई चित्त नबुझेका राजनीतिक र सामाजिक बुँदामा निर्भिक भइ लेख्नाले शफक झण्डै झण्डै देशद्रोही नै मानिइन्।
Capture
टर्कीभरिकै सबैभन्दा चर्चित र अत्यधिक पाठक भएकी महिला लेखका रुपमा परिचित शफकले आफ्ना कृतिहरुमा महिला मुद्दाहरुलाई अघि सार्छिन् — घरि मातृत्वको मोल खोज्छिन्, फेरि युवतीहरुको सपनाबारे सोच्छिन्, वा बालिकाहरुका जिज्ञासा मेटाउन बोल्छिन्।

‘अनर’मा पनि शफकले बडो शान्त, तर्कशील र बुझ्झकी पाराले महिलाहरुको इज्जतमा अडिएको संसारलाई चुनौती दिएकी छिन्। उनका केही हजार शब्दले सयौँ वर्षदेखि समाजले निर्धारण गर्ने छोरीमान्छेको इज्जतको साँघुरो घेरालाई प्रष्टैदेखाइदिएका छन्।

फेरि रोचक अनि डरलाग्ने कुरा के छ भने उनले आफ्नो जन्मभुमि टर्कीका महिलाहरुको कथा लेखिरहेकी भए पनि यो भयावह अनुभव संसारभरिका जुनसुकै कुनाका महिलाहरुको पनि हुनसक्छ। विशेषगरी दक्षिण एसिया र अझ नेपाली समाजमा महिलाको इज्जतको भार त उपन्यासले ठ्याम्मै ठम्याउँछ। बिलकुलै फरक भुगोल र समुदायका मूल्य मान्यता भए पनि हरेक नेपाली पाठकलाई यो उपन्यासका महिलाहरु आफू वा आफ्नै चिनजानका सदस्य झैँ लाग्छन्। हुँदा हुँदा शफकले उपन्यासमा प्रयोग गरेकी भनाइ र उखानहरु पनि हाम्रै समाजमा प्रचलित भनाइहरुसँग ट्याक्कै मिल्छन्। उपन्यासको पृष्ठ १५ पुग्दै खेरि यस्तो उदाहरण भेटिइहाल्छ।

पेम्बेले मनमनै सिक्का उफार्छे, अनि त्यसका दुइ पाटाको यसरी व्याख्या गर्छे -कि त सम्मान पाइन्छ वा बेइज्जती। उसकी आमा नाजले उसलाई सम्झाउँछे—महिलाहरुलाई सबैभन्दा मिहिन सेतो सुती कपडाले बनाइएको हुन्छ, र पुरुषहरुलाई बाक्लो अनि गाढा रंगको कपडाबाट। पुरुष बन्ने कपडा उत्कृष्ट हुन्छ, यसका कुनै दाग देखिदैँन। तर सेतो कपडामा सबैभन्दा सानो धुलोको कण पनि प्रष्टै देखिन्छ। त्यसैले बेइज्जत भएका महिलाहरुको तुरुन्तै पहिचान हुन्छ र उनीहरुलाई चामलबाट भूस निफनेजस्तै फालिन्छ। यही कारण हो, एउटी कन्या केटीले कुनै पुरुषलाई आफ्नो शरीर सुम्पिइ भने उसले सबथोक गुमाउँछे। केटालाई भने यो नियम लागु हुँदैन।

त्यो भन्दा अगाडी नाजले पेम्बेलाई चेतावनी दिएकी हुन्छे,‘नारीहरुको बचाउ उनीहरुको लज्जाले गर्छ। यो कुरा सधैँ याद राख्नुः तिमीले त्यो गुमायौ भने तिम्रो मोल खोटो सिक्का जति पनि हुँदैन,’आफ्ना छोरीहरुको इज्जत जोगाउनु नै नाजको जीवनको उद्देश्य हुन्छ। त्यसमाथि छोराको रहरमा पाएका आठ आठ जना छोरी!

तीमध्ये दुई कान्छी जीवित जुम्ल्याहा छोरीहरु–पेम्बे र जमिलाको इज्जतको कथा नै अन्ततः उपन्यासको कथा हो। शुरुमा आउँछ जमिलाको इज्जतको कुरा। उसलाई पहिलो भेटमै मन पराएर हुरुक्कै भएपछि उसँग बिहा गर्न खोज्ने केटाले थाहा पाउँछ, जमिलालाई त कसैले अपहरण गरेर पछि फिर्ता ल्याएको हुँदो रहेछ।

‘अब यस्ती केटीको कुमारित्व अनि उसको ‘चोखोपन’को के भरोसा? फेरि अविवाहित केटी कुमारी नरहेपछि उसको के इज्जत बाकीँ रह्यो र?’ यस्तै कुरा मनमा खेलाउँदै एडमले उसकी बहिनी पेम्बेलाई बिहे गर्ने निर्णय गर्छ। इज्जतिली श्रीमतीको खोजमा पेम्बेसँग जोडिन पुगेको एडमले भने उसलाई र तीन छोराछोरीलाई त्यागेर एउटी नर्तकीसँग बस्दा पनि इज्जतिलो नै रहिरहन्छ। किनभने इज्जत नामक चिज जोगाइरख्ने काम त स्वास्नी मान्छे को पो हो!
यस्तो बाउको छोरा इस्कन्दरले आफ्नो र परिवारको इज्जत जोगाउन आमालाई नै छुरी घोपिदिन्छ।

उपन्यासको प्रमुख घटना यही भए पनि कथा क्रमबद्ध रुपमा अघि नबढेकाले यसबारे बुझ्न निकै समय लाग्न सक्छ। यो वास्तवमा एउटा सिलसिलाबद्ध उपन्यास नभइकन अनेकन गाँसिएका कथाहरुको सँगालो हो, पचास वर्ष भित्र एउटै परिवारका पाँच छ सदस्यले भोग्न बाध्य भएका अनुभवहरुको टिपोट। यसको कथनात्मक शैली निकै फरक किसिमको छ, त्यसैले रोचक पनि।

शफकको लेखनी अद्भुतै मिठो र भावपूर्ण छ। उनले प्रयोग गरेका शब्दहरु यस्तो मिलेर बसेका छन्, यति मजाले कसिएका छन् कि एउटा पनि शब्दको थपघटले वाक्यको सौन्दर्य हराउँथ्यो होला। प्रत्येक वाक्य टिपेर डायरीमा र मनभित्रै राखौँ जस्ता छन्, महझैँ मिठो गरि थोपा थोपा चुहेर तिनले मुटु र मस्तिष्कलाई आनन्दित तुल्याउँछन् । फेरि दुखको वर्णन गर्नुपर्दा शफकले नाङ्गो खुट्टाले तातो भुङ्ग्रोमा हिँडेजस्तो गरि मुटुम्मै रोपिदिन्छिन्।

खालेद होसिनी वा कमिला शामशीका उपन्यास जस्तै गरि आफू हुर्केको सामाजिक अवस्थाको चित्रण गर्न उर्जा खर्चिने शफक आफ्ना समसामयिक लेखकहरुभन्दा पनि बढी प्रतिभाशाली लाग्छिन्। उनले भाषालाई प्रेम गरेकी छिन् — उनका सुडौल वाक्य संरचना एवं काव्यिक उद्गारहरुमा यो प्रेम छताछुल्ल भेटिन्छ। यसको बदलामा भाषाले पनि उनलाई माया गरेको छ-उनका चाहनाहरुमा पूर्णतयाः ढलिदिएर पाठकलाई आनन्द दिएको छ।

‘अनर’ को सौन्दर्य भनेकै यसको सरस र ओजपूर्ण लेखनी हो। पूर्ण र विस्तृत पहिचानका साथै वास्तविक संवादहरु पाएका कारण उपन्यासभित्रका सबै पात्रहरु पत्यारिला र जीवन्त छन्।पछिसम्म पनि कुनै आफन्तझैँ मनमा चिहाउन आइराख्छन्।

तर उपन्यासको अन्त्य भने कसै कसैलाई खड्किन सक्छ। शफकले अतियायार्थिक उपन्यासलाई नाटकीय अन्त्य दिएकी छिन्। यसले कथालाई रोचक त बनाएको छ, तर एक सुरमा किताबमा यात्रा गरिरहेका पाठकलाई भने यो अपत्यारिलो र नाटकीय लाग्ने छ।

उपन्यासमा थुप्रै रसिला र मन छुने विषयवस्तु छन्-आमा र छोराबिचको अगाध स्नेह, आप्रवासीले भोग्नु पर्ने कठिनाइ, महिला अधिकार, घरेलु हिंसा, आत्मसम्मान र स्वप्रेम, संस्कृति र विकृति। तर शुरुदेखि अन्त्यसम्म अटुट रुपमा गाँसिदै जाने विषय हो, इज्जत। महिलाको इज्जत र यसको मापदण्डमाथि थुप्रै प्रश्न चिह्न लगाइसकेपछि शफकले यसबारे विचार विमर्श गर्ने कार्य पाठकलाई छोडिदिन्छिन्।

अलिकति पनि बुद्धि, विवेक र संवेदना भएको पाठक भए उसले बुझिहाल्छ, महिलाको कुमारित्व र यौन जीवनसँग जोडिएको‘इज्जत’ को परिभाषा साह्रै फितलो छ। यो परिभाषामा परिवर्तन हुनु अत्यावश्यक छ।

कुनै पुरुषको इज्जत उसको शरीरको अङ्गसँग वा उसको यौन जीवनसँग जोडिएको हुँदैन भने महिलाको इज्जत मात्र यति नाजुक किन? महिला र पुरुष दुवै संलग्न हुने क्रियाकलापमा महिलाको चरित्रबारे मात्र किन टिका टिप्पणी?

शफकले उठाएकै जस्ता प्रश्नहरु नाइजेरियाकी लेखक चिमामान्दा नोजी अडिचीले पनि आफ्नो भाषणमा सोधेकी छिन्। उनले महिलाहरुको इज्जतबारेका सङ्कीर्ण सोचाइहरुको उदाहरण पनि दिएकी छिन्।

उनी भन्छिन्, ‘नाइजेरियाको एउटा विश्वविद्यालयमा भर्खरै एउटी युवतीको सामुहिक बलात्कार भयो। यसको बारे नाइजेरियाका थुप्रै युवाहरुको एउटै सोचाइ थियो – बलात्कार हुनु त गलत हो, तर त्यो केटी चारजना केटासँग कोठामा के गर्दै थिइ त?’

चिमामान्दाको विचारमा हामीले पुरुषहरुलाई जङ्गली जीवका रुपमा र महिलाहरुलाई हरबखत दोषीका रुपमा देख्न सिकिसकेका छौँ। हामीले नै बालिकाहरुलाई लाज सिकाउँछौ। ‘खुट्टा नफट्टाउ। आफूलाई छोप।’ उनीहरु महिला भएर जन्मिएकै कारणले उनीहरुको दोषी भइसकेको आभाष हामी उनीहरुलाई दिलाउँछौ। त्यसैले बालिकाहरु आफ्ना इच्छा व्यक्त गर्नै नसक्ने महिलाहरु बन्छन्। उनीहरु आफैँलाई चुप लगाउँछन्। उनीहरु आफूले सोचेको कुरा भन्न पनि सक्दैनन्।
लाखौँ महिलाहरुले बोल्न खोजिरहेका वाक्यहरु यी दुई लेखकले शब्दका माध्यमबाट अति सरल रुपमा अभिव्यक्त गरेका छन्। त्यस्तै सरल रुपमा हामीले बुझ्नुपर्ने एउटै कुरा छ – यो इज्जत को भार महिलाहरुलाई थेग्न अति गाह्रो भइसक्यो।
अब यो गहु्रङ्गो र अर्थहिन शब्दको जिम्मा उनीहरुको अस्तित्वलाई नदिऔँ, भो ! _साभार-सेतो पाटी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com