११ वर्षीया बालिकाले आफ्नै जिब्रो काटेर शिवलिंगमा चढाइन्

सोमबार बैशाख १३,

भारतको छत्तिसगढस्थित रायगढ जिल्लामा धार्मिक आस्था तथा अन्धविश्वासका कारण एक ११ वर्षीया बालिकाले आफ्नो जिब्रो काटेर शिवलिंगमा चढाएकी छिन् ।

 स्थानीय सागितराई गाउँकी चमेली सिदार नामकी ती बालिकाले भगवान शिवलाई खुसी पार्न भन्दै आफ्नै जिब्रो काटेकी अधिकारीहरुले बताएका छन् ।

घटना धार्मिक आस्थासँग जोडिएको हुनाले गाउँलेहरुले जिब्रो काटिएकी बालिकालाई उपचारका लागि अस्पताल लैजान समेत नमानेको सरकारी अधिकारीको भनाई छ । जिल्ला प्रशासनले बालिकाको उपचारका लागि मन्दिरमै डाक्टर पठाइदिएको छ ।

गत शनिवार शिव मन्दिरमा गएकी शिवभक्त चमेलीले आफ्नो जिब्रो आफैले काटेर शिवलिंगलाई अर्पण गरेकी थिइन् । जिब्रो काटेपछि उनी बेहोस भइन् र ढलिन् । छोरी लामो समयसम्म घर नफर्केपछि उनका बुवाआमाले उनको खोजी गरे र खोज्दै जाँदा मन्दिरमा बेहोस अवस्थामा फेला पारे ।

समाचार अनुसार जिब्रो काटेकी बालिका मन्दिरमै छिन् र उनी वर्तालुहरुको आकर्षणको केन्द्र बनेकी छिन् । मन्दिरमा उनलाई हेर्ने र पुज्नेको भिड लागेपछि भिड नियन्त्रणका लागि पुलिस नै खटिएको छ ।

स्मरण रहोस् उक्त शिव मन्दिरमा यसअघि पनि तिनजना युवतीहरुले आफ्नो जिब्रो काटेर चढाइसकेका छन् । यसरी काटिएको जिब्रा उपचार नगरीकनै निको हुने भएकाले त्यसलाई गाउँलेहरुले चमत्कार मान्ने गरेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com