कविता- आधुनिक आमा


कविता- आधुनिक आमा

के-के मागेको छ आमा
यो आधुनिक समयले
म भन्न सक्दिन।
तर,
मेरी आमाले दिएको सँस्कारलाई
कम्प्युटरमा टाईप गरेर
ईन्टरनेटको काँध टेकेर
विभिन्न भित्ताहरूमा टाँस्ने भएकी छु
हो आमा,
म पनि आधुनिक आमा भएकि छु।
आमा,
हरेक रात खोकिलामा बिताउने न्यानो माया
बहुत याद गरेर
यी आधा रातमा टुटेको नीदबाट
मैले पनि न्यानो मायाका स्टिकरहरू
यस एम यस द्वारा पठाउने भएकी छु
मायाका चुम्बन सहित
र,
भन्ने गरेकि छू "लब यू सो मच बेबी"।
सोचिरहेछू
अरू के के मागेको छ 
यो आधूनिक समयले
यी स्टिकरका मायाले कति न्यानो बनाउँदो हो
ती कलिला दिमागका बच्चाहरूमा
र कसरी निदाउदा  हून्
आमाको काखको अभावमा।
मेरी
आमाले नउडाएको विशाल जहाजमा
जीवनका सारा खुशीहरू
किन्न परदेशीएकी म
मेरी आमाले नचढेको आधुनिक गाडी चडेकोछु
मेरी आमाले नबोकेको आईफोन बोकेर
हिडेकी म
यो गूगोल भित्रको भूगोल हेर्ने।
एउटा सवालले भित्र भित्र खाईरहेछ
के यो आधुनिक समयले फर्काउला त?
आफ्नै आमाको काखमा नबिताएको
ती मासुम बच्चाहरूको वालापन?
र,
जिन्दगीलाई जिन्दगी जस्तो बनाउने
बहानामा छुटेका खुशीहरू।

मूना सिग्देल
मोरंग उर्लावारी
हाल ईजरायल ।



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com