बालबालिकामा थाइरोइड हुने कारण

डा. इन्दु केसी, इन्डोक्राइनोलोजिस्ट, चिरायु अस्पताल

काठमाण्डौ बैशाख ८,

थाइरोइड रोग जुनसुकै उमेरमा पनि हुन सक्छ । तर, यो रोग पुरुषको तुलनामा महिलामा धेरै हुन्छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले गर्दा यो रोग बढी भएको हो । महिलासँगै बालबालिकामा पनि यो रोग देखिन्छ । बालबालिकामा वंशाणुगत कारणले हाइपो थाइरोडिज्म रोग लाग्न सक्छ । यो रोग बच्चालाई गर्भमा रहँदा नै आमाबाट सर्ने गर्छ । आमा गर्भवती रहँदा प्रशस्त मात्रामा पौष्टिक खानेकुरा नखाने, आयोडिनको कमी हुने गर्दा बच्चालाई थाइरोइडको कमी हुन जान्छ ।

गर्भावस्था भनेको विशेष अवस्था हो । बच्चाको दिमागको विकास गर्भमा रहेको पहिलो तीन महिनामा हुन्छ । त्यति बेलामा जति पौष्टिक आहार भयो, त्यति नै बच्चा फुर्तिलो र तेजिलो हुन्छ । हाम्रो समाजमा बुद्धु कमजोर छ भन्नु त्यही तीन महिनामा प्रशस्त मात्रामा नखाएर वा कुपोषित भएर हुने हो ।

थाइरोइड कमी भएको आमाले बच्चा जन्माएमा बच्चामा पनि कमी हुन्छ । त्यस्तो बच्चा जन्मँदा मोटोघाटो देखिन्छ तर सुस्त हुन्छ । घाँटीमा गाँड पनि हुन सक्छ । आमाले औषधि खाइरहेको छ भने आमालाई त नियन्त्रण हुनसक्छ तर त्यो औषधिले बच्चालाई पुग्दैन । जसका कारण गर्भमा रहँदा बच्चाका दिमागको उचित विकास हुन सक्दैन । धेरैजसो ग्रामीण क्षेत्रमा आयोडिनको कमीले यस्तो समस्या निम्त्याएको छ ।

गर्भमा उचित पोषण र आयोडिन नपाएका बच्चा हेर्दा स्वस्थ जन्मिए पनि बोल्दै नबोल्ने, अन्य क्रियाकलाप पनि सुस्त हुने हुन्छ । बच्चा हेर्दा मोटो छ तर जुन रुपमा विकास हुनुपर्ने, त्यो भएन भन्ने थाइरोइडको कमीको कारण हो । थाइरोइडको कमी भएमा बच्चा जिब्रो निक्लेको र शरीर सुन्निएको पनि हुन्छ । नेपालमा भर्खर जन्मने बच्चामा थाइरोइडको कमी हुने समस्या धेरै छ ।

गर्भावस्था र थाइरोइको जोखिम
महिलालाई गर्भावस्था वा सो भन्दा अघि थाइरोइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ । गर्भावस्थामा थाइरोइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ । त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइरोइड परीक्षण गराउनुपर्छ ।

अर्को कुरा, १४/१५ वर्षसम्म पनि केटीहरु महिनावारी नभएमा थाइरोइड परीक्षण गर्नुपर्छ । बच्चालाई धेरै पिम्पल आयो भने पनि थाइरोइड चेक गर्नुपर्छ । केटा मान्छेमा त्यति लक्षण देखापर्दैन । केटीको महिनावारी आमाको वंशाणुगतका आधारमा हुन सक्छ तर १४/१५ वर्षसम्म भएन, मोटो छ भने थाइरोइड चेक गर्नुपर्छ ।

बच्चामा देखिने थाइरोइडलाई पौष्टिक आहार खुवाएर तथा चिकित्सकको सल्लाहअनुसार उपचार गराएमा निको हुन्छ । बच्चामा चाँडो रिकभर हुने क्षमता रहन्छ । बच्चामा निकै सिरियस खालको समस्या रहँदैन । यदि कसैलाई छ भने नियमित उपचार गरेमा निको हुन्छ ।_स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com