लाजका कारण २० बर्षसम्म लुकाएको पाठेघर समस्य उपचार हुँदा भुरी खुशी भइन्...

बैतडी चित्रा २७,

बैतडीको उत्तरी डिलाशैनी गाविसकी ६५ बर्षीया भुरी कार्की जिल्ला अस्पताल बैतडीमा पाठेघर खसेको समस्याको अप्रेशनपछि ज्यादै प्रसन्न मुद्रामा देखिइन । करीब २० बर्ष अगाडि देखिएको समस्या जिल्ला अस्पतालमा निःशुल्क शिविर संचालन भएपछि समाधान हुँदा उनी खुशी भएकी हुन् ।
फोटो फाइल..

पाठेघर खस्ने समस्याबाट पीडित महिलाहरुकालागि क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल डोटीको आयोजना तथा नेपालगञ्ज मेडिकल कलेजको प्राविधिक सहयोगमा चैत २१ गतेदेखि २७ गतेसम्म संचालन भएको शिविरमा ४५ जना बढी पाठेघर खसेका महिलाहरुको अप्रेशन भएको छ । सोही शिविरमा अप्रेशन गराउन आएकी कार्कीले भनिन ‘पाठेघर खस्ने समस्या २० बर्ष पहिला देखिएको हो तर लाजले गर्दा कसैलाई भनिन । जति लुकायो त्यती बढी भयो । एकजना गाउँकै महिलाको यो समस्याबाटै निधन भयो त्यसपछि मात्रै मैले उपचार गर्ने निधो गरँे, अहिले उपचारपछि म धेरै खुशी भएकी छु ।’

पाटन नगरपालिका १२ की माधवी भण्डारीलाई पनि पाठेघर खसेको १० बर्ष भइसकेको थियो । पहिला लाजले कसैसंग नभनेको र पछि उपचारमा जानकालागि समस्या हुँदा उपचार हुन सकेको थिएन । जब जिल्ला अस्पताल बैतडीमा पाठेघर खसेका महिलाहरुका लागि निशुल्क अप्रेशन शिविर संचालन भयो सोही शिविरमा उनले पनि अप्रेशन गरिन । अप्रेशन गरेपछि आफूलाई निकै सजिलो महसुस भएको उनको भनाई छ ।

दार्चुलाका कलावती पाल अहिले ४० बर्ष पनि पुगेको छैन । तर पाठेघर खसेपछि कहाँ गएर उपचार गर्ने भन्ने सोचीरहेका बेला जिल्ला अस्पतालमा संचालन भएको शिविरमा उनले पनि उपचार गराइन । उनले भनिन ‘जिल्ला अस्पताल बैतडीमा शिविर मार्फत अप्रेशन गर्न पाउँदा निकै खुशी लागेको छ । पाठेघर खस्ने समस्याका बारेमा धेरैलाई थाहा छैन् । यो समस्या गाउँका अरु महिलाहरुलाई छ उनीहरुलाई पनि उपचारका लागि सुझाव दिनेछु ।’

बैतडीको पाटन नगरपालिका १२ का खडक भण्डारी आफ्नो श्रीमतिसंग कुरुवा भएर जिल्ला अस्पताल आए । अस्पतालमै शिविर मार्फत अप्रेशन सफल भएपछि उनी पनि धेरै खुशी भएका छन् ।

जिल्ला अस्पताल बैतडीमा पाठेघर खसेका महिलाहरुका लागि निशुल्क अप्रेशन शिविर संचालन भएपछि पाठेघर खसेका महिलाहरुले उपचार पाएका छन् । तर कतिपय महिलाहरु अझै पनि त्यो समस्या लुकाएरै बसेका छन् । कतिपय आर्थिक अवस्था कमजोर भएकाले पनि पाठेघर खसेको समस्या उपचार गराउन सकेका छैनन सोही कुरालाई मध्यनजर गरेर निशुल्क अप्रेशन शिविर संचालन गरिएको जिल्ला अस्पताल बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले बताइन् । उनले भनिन ‘हामीले स्क्रीनिङ शिविरहरु संचालन गर्दा महिलाहरुमा पाठेघर खस्ने समस्या धेरै पायौं । त्यसपछि उनीहरुको सजिलोको लागि जिल्लामै शिविर संचालन गर्योँ । यो शिविरमा उपचारमा पहुँच नपुगेकाहरुले पनि उपचार गराउन सफल भएको उनी बताउँछिन् ।
जिल्लामा पाठेघर खसेका महिलाहरुको लागि अप्रेशन शिविर संचालन भएपछि ग्रामिण क्षेत्रका महिलाहरुले उपचार गर्न पाएको र रोग लुकाउने प्रवृतिको पनि अन्त्य हुने जिल्ला अस्पातल बैतडीका स्टाफ नर्स जमुना प्रटेलले बताइन् । उनले भनिन ‘यस्ता शिविर महिना महिना गर्न सके महिलाहरुमा देखिएको पाठेघर खस्ने समस्याको न्यूनीकरण हुनेछ अनि यसप्रतिका अन्धविश्वास हट्नेछन् ।’

जिल्ला अस्पतालमा यही चैत २१ गतेदेखि पाठेघर खसेका महिलाहरुका लागि संचालन भएको शिविरमा दार्चुला र बैतडीका विभिन्न स्थानका महिलाहरुले उपचार गराएका छन् । धेरै जसो महिलाहरु ५० बर्ष बढीका उपचारमा आएको उपचारमा संलग्न नेपालगञ्ज मेडिकल कलेजका डा. निर्मला शर्माले बताइन् । पहिला देखि समस्या शुरु भएको भएपनि लुकाउने प्रवृतिले उनीहरुले ढिलो गरेको उनले बताइन् । पाठेघर खसेको समयमै उपचार नगर्दा महिलाको ज्यान समेत जाने खतरा रहेको डा. शर्माले बताइन् ।_स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com