घरेलु कामदारका रुपमा महिलालाई विदेश पठाउने सरकारका छ शर्त

काठमाडौं बैशाख १६,

सरकारले खाडी मुलुकमा घरेलु महिला कामदार पठाउन रोकेको ३ महिना पुग्न भइसक्यो ।

तर, यसपछि पनि विभिन्न अवैधानिक माध्यमबाट नेपाली महिलाहरुलाई ‘हाउसमेड वर्कर’ का रुपमा खाडी पुर्‍याइएको भन्दै सरकारले सम्बन्धित देशसँग समझदारी (एमओयु) को प्रक्रिया तीव्र बनाएको दाबी गरेको छ ।

श्रम तथा रोजगार मन्त्रालयका अनुसार घरेलु कामदार विदेश पठाउने कार्यविधिमा पनि संशोधनको तयारी भइरहेको छ ।

मानव तस्करहरुले अनेक प्रपञ्च रचेर महिलालाई घरेलु कामदारका रुपमा खाडीमा पुर्‍याउने क्रम नरोकिएपछि श्रम मन्त्रालयले सम्बन्धित देशको सरकार, रोजगारदाता, र मालिकहरुका लागि लागू हुने गरी वैधानिकरुपमा घरलु कामदार पठाउन विभिन्न सर्तहरु अघि सार्ने तयारी गरिररहेको छ ।

गत वर्ष पारित भएको घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका संशोधन गरेर घरेलु कामदारको हकहित र सुरक्षाका ठोस मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।

ती मापदण्डहरु घरेलु कामदार विदेश पठाउनेबारे सम्न्धित देशसँग हुने एमओयुमा पनि समावेश गर्ने नेपालको योजना छ । नयाँ मापदण्डहमार्फत घरेलु महिला कामदारको हित रक्षा गर्न खोजिएको मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले अनलाइनखबरलाई बताए ।

खाडी मुलुकमा रोजगारी गर्नु यसै पनि सहज छैन । झन घरेलु कामदारका रुपमा काम जानेहरुका अधिकांशका लागि खाडी मुलुक नर्क समान बनेका उदाहरण कैयौं छन् ।

विदेशी मालिकको इच्छाअनुसार चल्नुपर्ने, सामान्यभन्दा धेरै र जतिबेला पनि काम गर्नुपर्ने तथा परिवारसँग सम्पर्क पनि गर्न नपाउने लगायतका समस्या खाडीमा गएका घरेलु कामदारले भोगिरहेका छन् ।

यिनै समस्या हटाउन भन्दै अहिले सरकारले घरलु कामदारलाई अहिले विदेश पठाउन रोकेको हो । तर, यसलाई छलेर गैरकानुनी तवरले महिलालाई घरेलु कामदारका रुपमा खाडी लैजाने क्रम अझै चलिरहेको छ ।

अब नेपाल सरकारले राखेका न्युनतम सर्तहरु मञ्जुर गर्ने देशमा मात्रै घरलु कामदार पठाउने प्रक्रिया सुरु हुनेछ ।

प्रवक्ता भूर्तेल न्युनतम् मानवीय आवश्यकता पूरा गर्ने र सुरक्षाको प्रत्याभूति दिने विषयमा ग्यारेन्टी भएमात्रै घरेलु कामदार पठाउन सकिने बताउँछन् ।

सरकारले साउदी अरेबिया, लेबनान र जोर्डनमा घरेलु कामदार पठाउबारे समझदारी पत्र -एमओयु) मा हस्ताक्षरका लागि अन्तिम तयारी गरिरहेको छ । यी मुलुकसँग हुने एमओयुमा घरेलु कामदारको हित हुने गरी विभिन्न विषयलाई अनिवार्यरुपमा समेटन्ने श्रम मन्त्रालयको तयारी छ । ती विषयहरु यस्ता छन्ः

१. सुरक्षा
नेपालले रोजगार दातामुलुकसँग न्युनतम रुपमा कामदारको सुरक्षाको शर्त अघि सार्दैछ । घरेलु कामदारका रुपमा जानेमा अधिकांश महिलाहरु हुने गरेका छन् । घरको कामका लागि जाने ती महिलाहरु विशेष गरी घरका मालिकहरुबाट बढी पीडित हुनुपरेको छ ।

महिलामाथि शारीरिक तथा मानसिक शोषण नहुने ग्यारेन्टी अब सम्बन्धित मुलुकले लिनुपर्ने विषय निर्देशिकाको संशोधनमा समावेश गर्न लागिएको प्रवक्ता भुर्तेलले बताए ।

‘कमसेकम रोजगारदाताले घरेलु कामदारका लागि एउटा प्राइभेट रुम दिनुपर्छ’ भुर्तेलले भने-‘अहिले धेरै महिला कामदारहरुलाई आफ्नो छुट्टै  कोठा नदिँदा शारीरिक शोषण नहुने र गोपनीयता पनि नरहने समस्या देखिएको छ, त्यसैले यो मापदण्ड अघि सारेका हौं ।’

यस्तै हरेक चार-चार महिनामा सम्बन्धित रोजगारदाताले आफ्ना कामदारलाई नेपालस्थित दुताबासमा स-शरीर उपस्थित गराउनुपर्ने अर्को सर्त पनि छ ।

‘यहाँबाट कामदार गएपछि उसको अवस्थाबारे अहिले हामी अज्ञात हुन्छौं ‘ प्रवक्ता भूर्तेलले भने-‘अब कम्तिमा ५ महिनामा घर मालिक र कामदारसँगै दूताबासमा आएर जानकारी गराउनुपर्ने व्यवस्था गर्न खोजेका छौं ।’

२. घरपरिवारसँग सम्पर्क

अहिले धेरै महिला कामदारको समस्या भनेको घर परिवार र साथिभाइसँग सम्पर्क गर्न नपाउनु हो । घरेलु कामदारलाई अधिकांश मालिकले मोबाइल बोक्न दिँदैनन् । आफुलाई समस्या पर्दा समेत उनीहृरुले घरपरिवारसँग सम्पर्क पाएका छैनन् ।

त्यसैले अब कम्तिमा हप्ताको एकपटक घरेलु कामदारले आफ्नो परिवारसँग सम्पर्क गर्न पाउनैपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । यसले कामदरलाई विदशेमा सुरक्षित रहन र समस्याहरु पर्दा सहयोग माग्न सहज हुने सरकारको विश्वास छ ।

परिवारलाई पनि आफ्नो् सदस्य विदेशमा कुन-अवस्थामा छ भन्ने जानकारी हुन्छ । उद्धार गर्नुपर्ने अवस्था भए यस्तो व्यवस्थाले सहयोग गर्ने सरकारको विश्वास छ ।

३. कामको समय

घरेलु कामदारको अरुको जस्तो ‘अफिस टाइम’ हुँदैन । विदेशमा अर्काको घरमा बसेर काम गर्दा उसले मालिकको चाहना र आवश्यक्ता अनुसार जतिबेला पनि काममा जोतिनुपर्छ । काममा धेरै काम गरेवापत पारिश्रमिक पनि बढी पाउने अवस्था हुँदैन ।

त्यसैले सरकारले अहिले यस्ता कामदारले ८ घण्टाभन्दा बढी काम नगर्ने ग्यारेन्टी मागेको छ । तर, रोजगारदाता अधिकांश मुलुक त्यसमा सहमत भने भएका छैनन् ।

‘हाम्रा नागरिकहरु घरेलु कामदारका नाममा २४ घण्टा नै खटिन सक्दैनन्’ मन्त्रालयका एक अधिकारीले भने-‘कामदारले अन्तर्राष्ट्रिय मान्यता अनुरुप ८ घण्टा काम गर्ने हो । हामीले त्यसैमा अडान लिएका छौं ।’

मन्त्रालयका प्रवक्ता भुर्तेल पनि कम्तिमा मानवीयतालाई हेरेर काम लगाउने ग्यारेन्टी रोजगारदातले लिनुपर्ने बताउँछन् ।

४. पारिश्रमिकको ग्यारेण्टी

घरेलु महिला कामदारहरु पारिश्रमिकको समस्याबाट पनि ग्रसित छन् । सहमतिअनुसार मालिकले तलव नदिने र तथा समयमै भुक्तानी नदिने समस्याले उनीहरु पीडित छन् ।

तलव नदिएर झुलाएर राख्नदा धेरै महिला भिसा अवधि सकिँदा पनि बन्धक जसरी काम गर्न बाध्य छन् ।  यही समस्याले घर छोडेर भाग्ने तथा अवैधानिक भएर बस्ने नेपाली पनि धेरै छन् ।

यसैलाई समाधान गर्न सरकारले बैंकिङ प्रणालीमा समयमै तोकिएको तलव भुक्तानी गर्नुपर्ने सर्तलाई अघि बढाएको छ । यसले घरेलु कामदारलाई आर्थिक शोषण हुनबाट जोगाउने सरकारको विश्वास छ ।

६. साप्ताहिक विदा

घरेलु कामदारले यसै धेरै काम गर्नुपर्छ । विदेशमा रहँदा उनीहरुले एक दिन पनि फुर्सद पाउँदैनन् । लगातारको  कामले उनीहरुमा मानसिक तथा शारीरिक समस्याहरु देखिने गरेका छन् । त्यसैले हप्तामा एक दिन घरेलु कामदारलाई विदा दिनुपर्ने प्रस्ताव पनि अघि सारिएको छ ।

हप्तामा एक दिन विदा दिनुपर्ने नेपालको प्रस्ताव छ । तर, साउदी अरेबियाले यसलाई अस्वीकार गरिसकेको मन्त्रालयसम्वद्ध श्रोतले बतायो । सरकारले घरेलु कामदारको सुरक्षा प्रत्याभूति भएपछि मात्रै पठाउन अनुमति दिने तयारी गरेको छ ।_स्रोत-अनलाइन;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com