नेपाली समाजमा बढ्दो सम्बन्ध विच्छेद, दोषी को ?

श्रीमान् र श्रीमतीबीचको एउटा पवित्र सम्बन्ध, एउटा मीठो सम्बन्ध, अनि मीठो अनुभव र नौलो संसार । जब एउटी छोरी मान्छे विवाह गर्ने योग्य उमेरमा पुग्छे, तब उसको मानसपटलमा नयाँनयाँ सपना सजिन थाल्छन् । आफूले पाउने श्रीमान् यस्तो होस् भन्ने विभिन्न परिकल्पना आउन थाल्छन्, जुन स्वाभाविक हुन् । कतिले प्रेम विवाह गर्छन त कतिले मागी विवाह गरिरहेका हुन्छन् । हामी अहिले २१ औं शताब्दीमा छौं, जहाँ युवायुवतीले प्रेमविवाहलाई बढावा दिइरहेका छन् भने समाजले मागी विवाहलाई प्राथमिकता दिइरहेको छ ।

कुन चाहिँ महिला या परुष त्यस्ता होलान् र जो विवाहपछि राम्रो जोडि बन्न चाहँदैनन् । विवाहपछि हरेक महिला र पुरुष यही सोच्छन् कि उनीहरु यौटा राम्रो पत्नी र पति सावित हुन सकुन् र एक अर्कासँगको सम्बन्ध खुसियाली र स्वस्थ बनाउन सक्षम पार्न सकुन् भनेर । तर कति जोडी यसमा सफल हुन् सक्छन् भने कति असफल । परम्परादेखि चलिआएको मात्र नभएर आवश्यकताका रुपमा रहेको विवाहलाई समाजमा कसैले नकार्न पनि सक्दैन । कसैले नकार्न खोजे पनि उसले समाजबाट धेरै किसिमका बाधा अड्चन सामना गर्नुपर्ने हुन्छ ।

नेपाली समाजमा सम्बन्ध बिच्छेद सामान्य जस्तो बन्न लागेको छ । कुनै पनि श्रीमान् श्रीमतीबाट तल पर्न चाहँदैनन् या भनौं कोही महिला या पुरुषले बिहेपछि आफूले सोचेको जस्तो जीवन जिउन र स्वतन्त्र हुन पाएनन् भने पनि सम्बन्धमा चिसोपन आउने गरेको छ । सम्बन्ध बिच्छेद भएका मेरा ५–६ जना साथी छन् ।

उनीहरुको विभिन्न कारणले सम्बन्ध बिच्छेद भएका छन् । जस्तो एउटा साथीको श्रीमान्ले धेरै रक्सी पिएर घरमा कुटपिट गर्ने गरेकाले, अर्को साथीकी आमाले बुहारीलाई शंकामात्र गर्ने र छोराले आमाको मात्र कुरा सुन्ने गरेकाले । अर्को साथीको बाहिरका मान्छेले अनेक कुरा सुनाइ दिने र घरपरिवारले आफूलाई विश्वास नगर्नेलगायतका यावत् कारण रहेका छन् । आजकालका सम्बन्धहरुमा समझदारी र विश्वास भन्ने कुराको कमी छ । सायद त्यसैले सम्बन्धहरु लामो समयसम्म टिक्न सकिरहेका छैनन् ।

‘श्रीमान्–श्रीमतीबीच यती ठूलो अविश्वासको खाडल बढेको छ कि साना–साना कुरा पनि सम्बन्ध विच्छेदको स्तरमा गएर टुंगिने गरेका छन् । घरको नेतृत्व कसले लिने, वैदेशिक रोजगार र सम्पत्तिमा कसको स्वामित्व हुने गस्ता कुराले सम्बन्धमा दरार ल्याइरहेको छ ।

परम्परागत मूल्य–मान्यतामा आएको परिवर्तन होस् वा सामाजिक चेतनामा वृद्धिका कारण नेपाली समाजमा सम्बन्ध विच्छेदको संख्या बढ्दै गएको छ । केही वर्ष अघिसम्म सम्बन्धविच्छेद अर्थात् पारपाचुके शब्दसमेत सुन्न नचाहने नेपाली समाजले अहिले सम्बन्धविच्छेद गर्नुलाई सामान्य ढंगले हेर्न थालेको छ । सामाजिक चेतना र स्वतन्त्रताको अनुभूतिका कारण नेपालमा पछिल्लो समय सम्बन्धविच्छेद गर्नेको संख्यामा बृद्धि भएको अनुमान गरिएको छ । हरेक वर्ष सयौंको संख्यामा सम्बन्धविच्छेद गर्नेहरु बढ्दै गएका छन् । यसले पनि नेपाली समाजको बदलिँदो अवस्थाको चित्रण गर्दछ ।

नेपालको कानुनअनुसार स्वास्नीले लोग्नेलाई निजको मञ्जुरीबेगर लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि छोडी अलग बसेको अवस्थामा सम्बन्धविच्छेद गर्न पाउँछ । यस्तै लोग्नेको ज्यान जाने, अंगभंग हुने वा अरू कुनै ठूलो शारीरिक, मानसिक कष्ट हुने किसिमको काम वा जाल, प्रपञ्च गरेमा पनि सम्बन्ध विच्छेद गर्न सकिने कानुनी प्रावधान छ । स्वास्नीलाई निको नहुने यौनसम्बन्धी कुनै रोग लागेमा पनि स्वास्नीसित लोग्नेले सम्बन्धविच्छेद गर्न पाउँछ ।

यस्तै, व्यवस्था महिलाका लागि पनि छ । लोग्नेले अर्की स्वास्नी ल्याएमा वा राखेमा वा स्वास्नीलाई घरबाट निकालेमा वा खान, लाउन नदिएमा वा स्वास्नीको खोजखबर नलिई हेरविचार नराखी लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि स्वास्नीलाई छोडी अलग बसेको अवस्थामा महिलाले सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था छ । स्वास्नीको ज्यान जाने, अंगभंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको काम वा जाल, प्रपञ्च गरेमा वा लोग्ने नपुङ्सक हुने भएमा पनि सम्बन्धविच्छेद हुन सक्छ । यसबाहेक दुवै थरीको मञ्जुरी भएमा लोग्ने–स्वास्नीको सम्बन्धविच्छेद गर्न सकिने प्रावधान कानुनमा छ ।
 सम्बन्धविच्छेदका लागि कानुनमा महिलालाई केही प्राथमिकता दिएको देखिए पनि व्यवहारमा भने पुरुषहरू नै पहिले सम्बन्ध विच्छेदका लागि तयार देखिन्छन् । राष्ट्रिय महिला आयोगमा आएका उजुरीमध्ये सम्बन्धविच्छेद गर्न चाहने पुरुषको संख्या ७५ प्रतिशत र महिलाको संख्या २५ प्रतिशत छ । आयोगमा परेका उजुरीमध्ये ४० प्रतिशत मात्र सम्बन्धविच्छेदको प्रक्रियासम्म पुग्ने गरेका छन् । ६० प्रतिशत मुद्दा मिलापत्रमै टुंगिन्छन् ।

आधुनिक समाजका महिलाहरु घरको चार दिवारमा बस्न चाहँदैनन् । घरबाहिरको काम गर्न चाहन्छन् भने समाजमा आफ्नो छुट्टै परिचय बनाउन चाहन्छन् । तर कतिपय घरका परिवार बुहारी बाहिर गएर काम गरेको, अरुसँग बोलेको वा अगाडि बढेको मन पराउँदैनन् । त्यसले पछि श्रीमान् श्रीमतीबीच सम्बन्ध चिसिन थाल्छ ।
त्यसैगरी संयुक्त परिवारमा बस्दा पुस्ता नमिल्ने स्थिति देखा पर्ने गरेको छ । जब पुस्ता मिल्दैन, रहन सहन र मानसिकतामा फरक पर्दै जान्छ अनि धेरै कुराको मेल खाँदैन । 

तसर्थ परिवारभित्रै विस्तारै सम्बन्ध चिसिँदै जान्छ । त्यस्तो बेलामा श्रीमतीले आफ्नो श्रीमान्बाट ठूलो अपेक्षा राखेको हुन्छ कि उसले आफ्नी आमा र श्रीमतीलाई बराबरी माया र सुझाव दिएर समस्याको जड खोजी घरभित्रै समाधान होस् । तर कतिपय ठाउँमा यो हुँदैन । किनकी श्रीमानहरु श्रीमती हजार पाइन्छ तर जन्म दिने आमा कहिल्यै पाईंदैन् भन्ने घमण्डमा अडेर श्रीमतीलाई उनीहरुको चाहना, इच्छा सबै दबाएर कुण्ठित पार्न खोजिन्छ । यो सबैका लागि सैह्य हुँदैन ।

आफ्नो जन्मे हुर्केको ठाउँ र आमाको माया सब त्यागेर पराई घरमा गइसकेपछि कुनै पनि युवतीले श्रीमान्को माया आमाको माया जत्तिकै अपेक्षा गरेकी हुन्छिन् । किनकी जन्म भरी ऊसँगै जिउनुपर्ने हुन्छ । जुन घरमा कुनै पनि कुरा दुवै जनाको सहमतिमा हुँदैन त्यो घर हैन आगो बल्ने चुलो बन्न जान्छ । जुन श्रीमान् श्रीमतीबीच आपसी समझदारीमा कुनै पनि कामको सर सल्लाह हुँदैन त्यो सधंै अपुरो हुन्छ । जब श्रीमान्ले श्रीमतीलाई इज्जत नै गर्दैन भने त्यो घरमा श्रीमतीको कुनै इज्जत रहँदैन । 

किनकी आफ्नो अन्तिम श्वास फेर्दासम्म सँगै जिउनुपर्ने श्रीमान्ले नै निच व्यवहार गर्छ भने समाजले त्यो महिलाको कहिल्यै इज्जत गर्दैन । अनि महिलाले बाध्य भएर सोच्नुपर्ने हुन्छ कि त्यो घर जुन घरमा आफ्नैबाट लुटिनु, कुटिनु पर्छ, त्यो घरको इज्जत सम्झेर आफ्नो जिन्दगीका ब्यथा लुकाएर कुण्ठित भै बाँच्ने या बाहिरी संसारमा आएर एक बारको जिन्दगीलाई खुसि साथ जिउने अलिकति अधिकार आफैंले आफैंलाई दिने ? यी दुईवटा प्रश्नको उत्तर खोज्दा खोज्दा श्रीमतीहरु स्वच्छ हावामा स्वास फेर्न पाउने अधिकार खोजेर आफ्नै घर परिवारबाट टाढिनुपर्ने रहर हैन बाध्यता बन्छ । तर समाजले फेरि त्यही महिलालाई मात्रै दोषी ठानेर बाँच्न कठोर बनाइ दिन्छ । हरेक पाइला पाइलामा आगो टेकेर हिँड्नुपर्ने हुन्छ ।

सम्बन्ध विच्छेदमा महिला र पुरुष दुवैको समान भूमिका हुन्छ । दुई जनाबीचको विश्वासमा संकट सिर्जना भएपछि सम्बन्ध विच्छेदको प्रक्रिया शुरु हुन्छ । तसर्थ आफूहरुबीच विश्वास र सम्मान भन्ने भावना हुनुपर्छ । सम्बन्धको महत्व हुनुपर्छ । अनि मात्र सम्बन्धलाई बलियो बनाउन सकिन्छ ।स्रोत-दैनिकनेपल;
 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com