२० हजार दाइजो नल्याउँदा सरस्वतीले ज्यान गुमाइन

राजविराज चैत्र २४,

राजविराज-७ का करण मेहतरकी पत्नी सरस्वती देवीको आगोले जलेर शुक्रबार ज्यान गयो । घटना हुँदा सरस्वती १८ दिनकी सुत्केरी थिइन् ।

उनको पहिलो सन्तान छोरा थियो । तर, सरस्वतीको ज्यान जानुलाई आत्महत्या भनिएको थियो । शरीरमा आगो लागेर मृत्यु भएकी महिलाले कसरी आत्महत्या गरिन् ? यसको प्रस्ट जवाफ नआइरहेका बेला सरस्वतीका माइती पक्षले २० हजार रुपैयाँ दाइजोको रुपमा नदिएकै कारण छोरीलाई मट्टीतेल छर्केर आगो लगाई हत्या गरेको आरोप लगाएको छ ।

‘छोरी २० हजार लिन गएकी थिइन्’
arun
करण शिवनारायण मेहतरका छोरा हुन् भने सरस्वतीदेवी भारत दरभंगास्थित लोडागदी बेला निवासी अरुण रामकी छोरी हुन् । उनीहरूको हिन्दू परम्पराअनुसार विवाह भएको थियो । विवाह भएको डेढ वर्षभित्रै उनको सरस्वतीको ज्यान गयो ।

छोरीको ज्यान गएपछि पिता अरुण रामले बुधबार राजविराज आएर पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा उनले छोरीलाई परिवारले नै हत्या गरेको आरोप लगाए ।
दाइजोस्वरुप मागेको ५० हजार भारतीय रुपैयाँ दिएका थिए । बिहेमा आउने-जाने भाडाबापत १३ हजार भारु र आधा तोला सुनलगायत गरी साढे तीन लाख भारतीय रुपैयाँ छोरीको बिहेमा खर्च गरेको अरुणले बताएका छन् ।
आफू दरभंगामा शौचालय सफा गर्ने कार्य गर्ने भएकाले जसोतसो बिहे गरी छोरीलाई राजविराज पठाएको उनको भनाइ छ । बिहेपछि जीवन सामान्य नै थियो । बिहेको एक वर्षपछि सरस्वती माइती गएकी थिइन्, उनी गर्भवती समेत थिइन् ।
माइती आएकी छोरीलाई चिन्ताग्रस्त देखेर आमा मञ्जुदेवीले सोधिन् । सरस्वतीले सासुआमालाई २० हजार भारतीय रुपैयाँ आवश्यक परेकाले उक्त रकम लिनका लागि आफू माइती आएको बताइन् ।
baby
‘छोरीको बिहेमा लिएको ऋण चुक्ता गर्न सकेका छैनौं । अब फेरि कहाँऋण माग्ने भन्ने चिन्तामा पर्यौँ । तैपनि छरछिमेक, यताउता ऋण खोज्यौँ, पाएनौँ,’ पिता अरुणले पत्रकार सम्मेलनमा भने, ‘पछि त्यत्तिकै छोरीलाई पठायौँ । त्यही २० हजारका कारण छोरीको हत्या नै गरियो ।’

शनिबार राति अपरिचित व्यक्तिले फोन गरेर छोरीको अवस्था सिकिस्त रहेको बताएपछि आफू राजविराज आएको अरुणले बताए । तर, छोरीकहाँ जाँदा ससुरा र सासु घरमा सुतिरहेका थिए । छोरी अस्पतालमा जलेको अवस्थामा थिइन् । तर, परिवारमा सोध्दा छोरी कहाँ छिन् भन्ने बताएनन् ।

‘उनीहरूले कुनै जानकारी नदिएपछि स्थानीयसँग सोधपुछ गर्यौँ, स्थानीयले छोरी जलेर मरिसकेको बताए,’ अरुणले भने, ‘हामी मुर्छितजस्तै भयौं ।’
छोरीलाई मट्टीतेल खन्याएर हत्या गरेको आफूहरुलाई स्थानीयवासीले बताएको अरुणको भनाइ छ ।

दहेजमुक्त मिथिलाका राष्ट्रिय अध्यक्ष करुणा झाको संयुक्त प्रयासमा भएको पत्रकार सम्मेलनमा सरस्वतीका माइतीपक्षले सरस्वतीको आत्महत्या नभई हत्या गरिएको भन्दै न्याय दिलाइदिन माग गरेको छ ।स्रोत-अनलाइन;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com