सोमबार बैशाख १३,
श्रीमान विदेश गए पछि अब त सुखका दिन फिर्लान भन्ने आशा थियो । ऋण तिरिएला, बालबच्चा राम्रोसँग पढाउन सकिएला भन्ने थियो ।
घरको कमजोर आर्थिक अवस्था पनि सुधार्न सकिएला, यस्तै यस्तै आशा थिए मेरा । श्रीमान बोधनारायण चौधरी एक लाख ५० हजार रुपैयाँ ऋण काडेर मलेसिया जानु भएको थियो । म बालबच्चाको रेखदेख गर्दै घरव्यवहार पनि धानिरहेको थिएँ । यी सबै जिम्वेवारी पुरा गर्न मलाई कत्ति पनि गाह्रो लाग्दैनथ्यो ।
साथैमा नभए पनि परदेशमा श्रीमान हुनुहुन्थ्यो । तर मेरो यो खुसी र आशा लामो समयसम्म टिक्न सकेन । मलेसियामा भएका श्रीमानको अचानक निधन भयो । विदेश पुगेको केहि महिनामै श्रीमान बाकसमा फर्कनुभयो । म एक्लिएँ, बालबच्चा टुहुरा भए । घरको जिम्मेवारी पनि बोझ हुन थाल्यो ।
बाँकी जिन्दगी र अभिभाराले पिडा दिन थाल्यो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट तीन लाख र बिमा कम्पनीले पाँच लाख गरि आठ लाख रुपैयाँ आर्थिक सहायता पाए पनि यसले श्रीमानको अभाव टार्न सक्दैनथ्यो र सकेन पनि । बाँकी जीवनका लागि मैले केहि गर्नुपर्छ । तर के गर्ने ? मैले पढेको पनि छैन् ।
आप्रवासी कामदार हकहित संरक्षण मञ्चले मलाई सहयोगका लागि पहल गरिरहेको छ । मैले मात्र होइन, अरुले पनि दुःख पाउनुभयो । हामी गरिबलाई दुई छाक पेटभरि खाना पाउनु नै ठूलो कुरो हो । बालबच्चाको भविष्य र बाँकी एक्लो जीवनका बारेमा सोच्न पनि सकेकी छैन ।
–सजनी आलेसँग गरेको कुराकानीमा आधारित (उज्यालो)