चौतारीमा कथा भन्दै नाटक हेर्दै....

 काठमाडौ बैशाख २,

गुह्येश्वरी खरिबोटकी नीता सुवेदीले केही महिनाअघि ग्यास नपाएर एकदमै दुःख पाइन् । लोडसेडिङले बिजुलीमा खाना पकाउने अवस्था पनि थिएन । काठमाडौं जस्तो सहरमा बसेकी उनले कता दाउरा खोज्ने र कसरी चुल्हो बाल्ने मेसो पनि पाइनन् । सबैले दाउरामा पकाएको देखेपछि चारवटा ढुंगा खोजेर चुल्हो बनाइन् तर आगो बले पो ।

पतपति धुवाँ आउँछ भाँडा डढेर कालो भइसक्यो भात पाक्दैन । केही दिनमा छिमेकीले चुल्हो बाल्न सिकाइदिए बल्लबल्ल भात त पाक्यो भाँडा माझ्न उस्तै सकस । धुवाँले डढेको कालो निख्रिए पो ।

बिहानबेलुका दुवैसाँझ दाउरा बालेर खान पकाउन सम्भव भएन । ब्राह्मण परिवार बेलुका पकाएको खाना बासी भनेर खान नमिल्ने संस्कार । तैपनि त्यस्तो अप्ठ्यारोमा सुनपानी छर्किएर भए पनि काम चल्यो । केही महिनापछि छिमेकीले आधा सिलिन्डर ग्यास उपलब्ध गराइदिए र दैनिकी केही सहज भयो ।

नीताले यति कथा सुनाइसक्दा नसक्दै मञ्चमा बसिरहेका कलाकार जुरुक्कै उठे र उनले सुनाएको कथालाई अभिनय गरेर देखाए । नीताको कथामा कलाकारको अभिनय दुरुस्तै थियो ।

अनामनगरका सन्दीप श्रेष्ठले सानै उमेरमा आफूले देखेको बाबुआमाको झगडा सुनाए । झगडापछि बाबुले घर छोडेर हिँड्दा बालमनोविज्ञानमा परेका असर, झगडा मिलाउन आफू र आफ्ना दाइले गरेका प्रयत्न, कहिले सफल भएको र कहिले असफल भएको कथा मार्मिक थियो ।

कथाभन्दा घरी उनी भावुक हुन्थे त घरी दर्शक । उनको कथा सुनिसकेपछि कलाकारले केही हरफ कविता लेखेर सुनाए । उनको पीडा मििश्रत घटनामा लेखिएको कथामा आधारित कवितालाई तत्कालै मञ्चन गरे ।

भावुक बनेका सन्दीपले भने, 'यो मञ्चन हेर्दा मैले आफूलाई नियन्त्रण गर्न सकिँन ।' बुधबार राजधानीको मोक्षदा स्कुलस्थित मञ्जरी हलमा नाटक हेर्न उपस्थित दर्शकलाई आफूले जीवनमा भोगेका रमाइला र नरमाइला कथा सुनाउन लगाइयो अनि त्यसैमा आधारित रहेर कथा सुनाइयो ।

दर्शकमध्ये कसैले भुइँचालोमा तर्सिएका कथा सुनाए त कसैले बाल्यकालका तीतामीठा अनुभव सुनाए । सबै कथालाई कलाकारले तत्कालै संगीतसमेतका नाटकको रूपमा तत्कालै मञ्चमा उतारे ।

नेपाली रंगमञ्चमा चर्चित राजन खतिवडा, पशुपति राई, सिर्जना अधिकारी, सरस्वती चौधरी, आकांक्षा कार्की, गुञ्जन दीक्षितलगायतका कलाकारले दर्शकका कथालाई नाटकको रूपमा मञ्चन गरेका   थिए ।

चौतारी नाटक अर्थात् प्लेब्याक थिएटर विधाको यो नाटकमा दर्शक र कलाकारबीचको मध्यस्थकर्ता अर्थात् सूत्रधारको भूमिकामा थिए कलाकार सुरेश चन्द । नेपाली समाजमा रंगमञ्चलाई भिजाउन प्लेब्याक थिएटर प्रभावकारी हुने देखिएकोले यो यस्तो नाटक आयोजना गरिएको चन्दले जानकारी दिए ।

विभिन्न नाट्य समूहमा आबद्ध नाट्यकर्मीको सहभागितामा स्थापित नेपाली प्लेब्याक थिएटर ग्रुपले यस्तो नाटक मञ्चन गरेको हो । मञ्जरी हलमा प्रत्येक महिनाको १ गते चौतारी नाटक नियमित मञ्चन गरिने चन्दले जानकारी दिए ।

'आर्थिक रूपमा सक्षम भइएमा अन्य ठाउँमा पनि यस्तो नाटक मञ्चन गर्छांै', उनले भने, 'नभए पनि मञ्जरीमा प्रत्येक महिना यस्तो नाटक देखाउँछौं ।'किर्तन अधिकारी-अन्नपूर्ण;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com