‘अनावश्यक औषधि खान लगाएर झन् रोगी बनायो’

काठमाण्डौ चैत्र २७,

बी एन्ड बी अस्पताल बिरुद्ध १ करोड क्षतिपूर्ति दाबी गर्नेको उपचार अनुभूति;

संखुवासभाकी ३८ वर्षीया इन्द्रकुमारी राई खाना नरुच्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने वान्ता हुने जस्ता स्वास्थ्य समस्या लिएर बि एण्ड बि अस्पताल पुगेकी थिइन् । लामो समय उक्त अस्पतालमा उपचार गराइन् । 
उनका श्रीमान् अञ्चल राईका अनुसार उपचारका क्रममा दिइएको औषधिका कारण थप स्वास्थ्य समस्या आए । उनी निको हुनुको सट्टा झन् सिकिस्त हुँदै गइन् । त्यसपछि बि एण्ड बि छाडेर पाटन अस्पताल, किर्तिपुर अस्पताल हुँदै शिक्षण अस्पताल पुगेर उपचार गराए । ‘ज्यान जोगाउन सफल भएपनि अवस्था अहिले पनि गम्भीर छ । औषधिको साइड इफेक्टका कारण छालामा समस्या आएर घाम, पानी र धुलोको एलर्जी हुने समस्या छ । जसले गर्दा घरबाहिर कहिल्यै निस्किन सक्दिनन्,’ उनले भने ।

आफ्नो उपचारमा बि एण्ड बि अस्पताल र उपचार संलग्न डाक्टरले लापरबाही गरेको ठानेर उपभोक्ता हित संरक्षण मञ्चको सहयोगमा प्रमाणसहित उनले १ करोड १७ लाख ९८ हजार ९ सय ७० रुपैयाँ क्षतिपूर्ति मागदाबी जिल्ला प्रशासन कार्यालय, ललितपुरमा उजुरी गरेकी छिन् । नियमानुसार मुद्दा परेको ३ महिनाभित्र फैसला हुनुपर्ने भएपनि झण्डै १ वर्ष पुग्न लाग्दा पनि भएको छैन । ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्मा छानविनका लागि तोकिएका विशेषज्ञ डाक्टर सम्पर्कमा नआएकाले ढिला सुस्ति भएको बताउँछन् ।

राईको उपचार अनुभूति
म उपचारका लागि २०७१ कार्तिक २७ मा बि एण्ड बि अस्पताल पुगेकी थिएँ । अस्पतालमा लामो समय उपचार गराएँ । भर्ना गर्ने, औषधि दिने र डिस्चार्ज गर्ने क्रम चलिरह्यो । तर, म ठीक भइनँ । उल्टै गलत औषधिका कारण अन्य समस्या आयो । उक्त अस्पताल छाडेर अन्त उपचार गराउँदा यस्तो बताइएको हो ।

पहिलो दिन अस्पतालको बिरामी दर्ता शाखाबाट उक्त अस्पतालका कन्सल्टेन्ट न्यूरो सर्जन डा. कृष्ण शर्मालाई जँचाउन पठाइएकाले मैले डा. शर्मासँग जाँच गराएँ । डा. शर्माले सीटी स्क्यान गराउन र पेट सम्बन्धि समस्या भएकाले उक्त अस्पतालका ग्याष्टोइन्टेरोलोजिस्ट  डा. ओम प्रकास अधिकारीसँंग जँचाउन भन्नुभयो । सोही वमोजिम डा अधिकारीसँग जाँच गराएँ । डा. ओमले इन्डोस्कोपी गराउन भने बमोजिम गरें । तर, उनले साधारण ग्याष्ट्रिकको औषधी दिएर कुनै समस्या नभएको जानकारी गराउदै एकपल्ट सर्जनलाई समेत जँचाउनु पर्छ भन्नुभयो । सोही अस्पतालका सर्जन डा महेश अधिकारीलाई जँचाए । तर निजले मेरो स्वास्थ्यमा सर्जरी सम्वन्धी कुनै समस्या नभएको जानकारी दिनुभयो ।

मेरो स्वास्थ्य समस्या समाधान नभएकाले फेरि डा. कृष्ण शर्मा कहाँ गएँ । उहाँले मलाई औषधिहरु (एसओएल इन कर्भिकल रिजन, एनजाइटी (एपीडी भनेर मोक्सागलाइन, ट्रिपलिन, ड्यसलेक्सिटन र मेकोन नाम गरेका) खान भन्नुभयो । यसका साथै एमआरआई ( ब्रेन र स्पाइनको ) गर्न लगाउनुभयो । उक्त औषधी खाएपछि पनि मेरो बिराम ठीक भएन । एमआरआई रिपोर्ट प्राप्त भएकाले फेरि डा शर्माकहाँ गएँ । एमआरआई हेरेर उहाँले ‘सेरेब्रेसपाइनल भाइरल माइलोन्सेफ्लाइटिस’ भएको बताउनुभयो । पुस २१ अस्पतालमा भर्ना गरी उपचार सुरु गरियो । सो समय विभिन्न प्रकारका महङ्गा औषधी र इन्जेक्सन दिइयो । उहाँले ‘यी औषधी सेवन गरे विषेक भैहाल्छ’ भनेर  १० प्रकारका औषधी दुई हप्ताको लागि सिफारिस गर्नुभयो । उक्त औषधी सेवन गर्दा म निको भइनँ । पुनः माघ १८ मा जँचाउन डा. शर्मा कहाँ गएँ । शर्माले औषधिहरु ( म्याक्सग्लाइन–७५, इन्टर्म–१०, ड्युलोट–६० एक्सग्लाइन–७५, इन्ट्राम–७५, इन्ट्राम–१०, क्लोपिरियम–१०, मेकोन, सोमप्रा २ लगायत ७ प्रकारका) खाने सल्लाह दिनुभयो ।

सो औषधी खाइरहेकी थिएँ । मलाइ विषेक नहँुदै ज्वरो समेत आएकाले पुनः बि.एण्ड बि अस्पतालमा लगियो । सो समय मलाई पिसाव सम्वन्धि समस्या पनि भएको रहेछ । तर पनि तिनै न्यूरो सर्जन डा. शर्माले रोगको निदानमा कुनै अर्थ नराख्ने विभिन्न प्रकारका महङ्गा औषधी खुवाएर माघ २२ देखि २७ सम्म भर्ना गराई खर्च गराउनुभयो । फेरि म निको नहुँदै ‘औषधी खाएर घरमा बसी आराम गरे बिषेक भैहाल्छ’ भनेर विश्वासमा पार्नुभयो । विभिन्न प्रकारका महंगा औषधीहरु लेखिदिएर डिस्चार्ज गरियो ।

घट्नुको सट्टा बढे समस्या
डा. शर्माले दिएको औषधी खाइरहँदा मलाई  बेहोस हुने, शरीर पोल्ने लगायतका नयाँ समस्या देखिए । सो नयाँ समस्याबाट पुनः म बि एण्ड बि अस्पतालका डा. शर्मा कहाँ मिति २०७२ बैशाख २७ मा जँचाउन लगियो । मलाई पुन भर्ना गरेर विभिन्न  ११ प्रकारका महङ्गा औषधी खान लगाइयो  । म निको भएकी थिइनँ । फेरि औषधी सेवन गर्दा विषेक हुन्छ भन्ने विश्वस दिलाएर मिति फागुन २८ गते  डिस्चार्ज गरिएको थियो ।

डाक्टरले भने अनुसारका ११ प्रकारका औषधी प्रयोग गरेपछि मेरो शरीरमा डरलाग्दा फोकाहरु देखिए । फेरि म बि एण्ड बि अस्पताका डा. शर्माकहाँ गएँ । मलाई के जाति रोग (एफ.यू केस अफ डिमाइएलाइनाटिङ डिजेज अफ द कर्भिकल स्पाइन विद् सिजर डिजेज विद सेभेन जोहनसन डिजेज सिन्ड्रोम हाइपर सेइटिभिटी टू ल्यामोट्रिजिन) भएको भन्ने लेखेर अस्पतालमा केही औषधि खुवाउनुभयो र पुनः ११ थरीका औषधी खान सिफारिस गरी डिस्चार्ज गरियो । यतिबेला अस्पतालमा बस्दा मेरो रोग पत्ता लागेका भनिएको थियो । 

दोस्रोपटक अर्थात् माघ २२ मा भर्ना हुँदा अर्काे रोग (युरिनरी ट्र्याक्ट इन्फेलेक्सन) भनिएको थियो । तेस्रोपटक अर्थात् फागुन २७ मा भर्ना हुँदा एउटा रोग (एफ.यू केस अफ डिमाइएलाइनाटिङ डिजेज अफ द कर्भिकल स्पाइन विद् सिजर डिस्अर्डर) भनेर भनिएको थियो । यसरी हरेक पटक फरक–फरक रोग भनिएपनि अस्पतालबाट सही उपचार नभएकाले मेरो स्वास्थ्यमा कुनै सुधार आएन ।

चैत २९ का दिन डिस्चार्ज गर्दा मेरो शरीरमा देखिएका डरलाग्दा फोकाहरु ठिक हुने भनिएता पनि झन्झन् ती फोकाहरु शरिरको कपालको भागमा  बाहेक ओठमुख सहित पूरै शरीरमा आए  । म आँखा खोल्न समेत नसक्ने अवस्थामा पुगें । सुत्न बस्न समेत कठिन र पिडा हुने भयो । श्वाशप्रश्वाशमा समेत कठिनाई भयो । शरीर पूरै बिग्रियो । अवस्था गम्भीर भएकाले फेरि सोही अस्पतालमा उपचारार्थ लगियोे । मलाई डा. शर्माले नै जाँच गर्नुभयो । पछिल्लोपल्ट औषधिको असर भनियो । डा. शर्माले पहिले सिफारिस गरेको सवै औषधी छुटाएर ७ प्रकारका औषधीहरु लेखिदिनुभयो ।

निको नहुँदै जबर्जस्ति डिस्चार्ज
डा शर्माले दिएको औषधी सेवन गर्दा मेरो स्वास्थ्यमा सुधार नआएर झन्झन् बिग्रिदै गयो । पुनः बि एन्ड बि गएर जँचाएकोमा मलाई उपचारका लागि भर्ना गरियो । तर, मेरो रोगको उपचार भएन । म मरणासन्न अवस्थामा पुगें । उपचारमा संलग्न डाक्टर र अस्पतालले मेरो रोगको निदान र उपचारमा खासै वास्ता गरेनन् । अन्यत्र रिफर समेत नगरेर जबरजस्ती डिस्चार्ज गरे । डिस्चार्ज गर्दा मेरो शरिरमा फोकैफोका भएको र कपालको भाग बाहेक अन्य कुनै अंगको छाला पनि सही अवस्थामा थिएन । मेरो शरिर पूरै कुरुप अवस्थाको थियो । मैले असह्य पिडा सहनु पर्याे ।

वि.एण्ड वि. अस्पतालबाट मलाई जवरजस्ती डिस्चार्ज गरेपछि सोही दिन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलको शरणमा मेरा आफन्तले पु¥याए । पाटन अस्पतालमा मेरो उपचार हुँदा मेरा शरीरको कुनै पनि अंगमा छाला ठीक अवस्थामा थिएन । मेरो शरिरको छालामा देखिएको समस्याको कारण बि.एण्ड बि.का डा. शर्माले भनेको कारणले नभएको भन्दै सवै औषधी छुटाइयो । मेरो शरिरको छालामा देखिएको रोगको उपचारका लागि उपयुक्त भन्दै किर्तिपुर अस्पतालमा रिफर गरियो । किर्तिपुर अस्पतालमा गई उपचार गराउँदा मेरो स्वास्थ्यमा क्रमशः सुधार हुँदै आयो ।  अस्पतालबाट मलाई छाला र न्युरो फिजिसियनलाई कन्सल्ट गर्ने गरी रिफर गरियो ।

त्यसपछि शिक्षण अस्पताल महाराजगञ्ज पुगें । उक्त अस्पतालका डाक्टरसँग जाँच गराउँदा मेरो स्वास्थ्यमा आएको समस्याको कारण बि एण्ड बि अस्पतालबाट भएको औषधी उपचार र डा. शर्माको सिफारिस बमोजिम सेवन गरेका गलत औषधीहरु भएको जानकारी पाएँ । मेरो दिमागमा समस्या नरहेको उक्त अस्पतालमा गरिएको परीक्षण पछि थाहा भयो ।
स्वास्थ्य र सम्पत्तिमा हानी गरेकाले क्षतिपूर्ति मागें

औषधिको असरले बिग्रिएको छाला

बि एण्ड बिमा उपचार गराउँदाका अवस्थामा विपक्षीलाई भगवानको दर्जामा राखि विश्वास गरि भएको सम्पत्ति वेचि, ऋण सापटी गरि जीउ ज्यान वचाउन उपचारमा लाखौं रुपैयाँ खर्च गर्नु परेको छ । मेरा परिवारका सदस्यहरुले  र नातासम्वन्धका मानिस र शुभेच्छुकहरुले मेरो उपचारका क्रममा पाउनुसम्म दुख पिडा पाएका छन् । गलत उपचारका कारण मैले र मेरो परिवारले असह्य पिडा सहन गर्नु परेको छ । उपचारमा लापरबाही गर्दा म ३८ वर्षको उमेरमै अशक्त भएकी छु । कुरुप भएकी छु । जसले जीवन र भविश्य अन्धकारमा  पुग्न गएकोे छ । जीवन निर्वाह गर्न गरिरहेको व्यापार व्यवसाय गुमेको छ ।  जीवनभर अर्काको दयामाया, सुसार संरक्षण र उपचारमा वाँच्नुपर्ने अवस्था छ ।

बिरामीको वास्तविक रोग र समस्या तथा उपचारका सम्वन्धमा म बिरामी र मेरा आफन्त संरक्षकहरु कसैलाई जानकारी गराइएन । बरु औषधि मात्रै दिइदै गइयो । महंगा र कडा गलत औषधी सेवन गराउँदा मेरो स्वास्थ्यमा थप जटिल समस्या सिर्जना भएको छ । यो पाटन अस्पताल र शिक्षण अस्पताल, महाराजगंज र किर्तिपुर अस्पतालबाट भएको उपचारहरुबाट प्रष्ट हुन्छ । 

हालसम्म अस्पतालमा उपचार गर्दा भएको खर्च नगद रु करिब १३ लाख (तेह् लाख) पुगी सकेको र उपचारका क्रममा  यातायात, खाजा खाना बस्न बिरामी कुरुवा, सेवा सुसार लगायतका उपचारका क्रममा अन्य बाहिरी  खर्च समेत गरि कूल रु. ४ लाख ९८ हजार ९ सय ७० खर्च भइसकेको छ । उक्त भएका खर्चहरु  गलत उपचारका कारण मैले अनावश्यक बेहोर्नु परेको हो । यो पुष्टि हुने विभिन्न प्रमाणसहित क्षतिपुर्तिका लागि जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी गरेकी छु ।_स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com