अमेरिकी नागरिकले गरे नेपाली परम्पराअनुसार विवाह

रासस;
गोरखा बैशाख ३,

भूकम्पले ध्वस्त गोरखाको बुङ्कोटस्थित रामेश्वरी माध्यामिक विद्यालय पुनःनिर्माणमा सघाउँदै आएका एक अमेरिकी नागरिकले नेपाली परम्परा (हिन्दू संस्कार) अनुसार विवाह गरेका छन् ।

अमेरिकास्थित क्यालिफोर्निया राज्यका ५५ वर्षीय डानियल र ४९ वर्षीया लीलाबीच विवाह भएको हो । डानियल क्रिश्चियन धर्म मान्छन् भने लीला हिन्दू धर्मावलम्वी हुन् । गाउँलेहरु दुलही पक्ष र दुलाह पक्षमा विभाजित हुँदै जन्ती आएका थिए ।

स्थानीय बाबुराम वाग्लेको घरबाट दुलाह, दुलही बाजागाजासहित मन्दिर पुगेका हुन् । पुरोहितले भनेअनुसार उनीहरु विवाह मण्डपमा बसे र शास्त्रअनुसार विवाह बन्धनमा बाँधिए । बुङ्कोट–९ मैलुङस्थित सरस्वती मन्दिर परिसरमा ध्वजा,पटका टाँगिएको जग्गेमा उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् ।

विवाहमा ५०० जनाभन्दा बढी गाउँले भेला भएका थिए । भोजभतेरको पनि व्यवस्था गरिएको थियो । विदेशीले नेपाली परम्पराअनुसार विवाह गर्न जुटेपछि हेर्नेको घुइँचो लागेको थियो ।

विवाहको चाँजोपाँजो गर्ने व्यवस्था शिवशक्ति भजन समूहले मिलाएको हो । पुनःनिर्माणमा सघाउँदै आएको पार्मोनियर फाउन्डेसन नेपालका गौतम वाग्ले र चेत भट्टको संयोजनमा उनीहरुको विवाह सम्भव भएको हो ।

वाग्लेका अनुसार डानियल र लीलाले यसअघि नै ‘लभ’ गरेर विवाह गरे पनि लीलाको आग्रहमा हिन्दू धर्म, परम्पराअनुसार पुनःविवाह गरिएको हो । लीला भारतीयमूलकी मलेसियन नागरिक हुन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com