विकराल बन्दै गर्भपतन, गर्भपतन गराउने किशोरी र युवतीहरु बडी...

बुटवल बैशाख १६,

रुपन्देही जिल्लामा गर्भपतन गराउने किशोरी तथा युवतीहरुको संख्या बढी देखिएको छ । गर्भपतन गराउने अधिकांश कलिला उमेरका किशोरी तथा युवतीहरु रहेको पाइएको छ । गर्भपतन गराउने यस्ता किशोरीहरु निर्धक्क मान्यताप्राप्त सुरक्षित गर्भपतनको मान्यता पाएका स्वास्थ्य केन्द्रहरुका पुग्ने गरेका छन् । जिल्लामा  सुरक्षित गर्भपतन गराउने अनुमति पाएका स्वास्थ्य केन्द्रहरुको मात्र तथ्याङ्क अनुसार किशोरी तथा युवतीहरुको संख्या बढी देखिएको हो ।

नेपाल परिवार नियोजन संघ वुटवलकी वरिष्ठ नर्स विष्णु गुरुङ्ले गर्भपतन गराउने अधिकांश १५ देखि २५ वर्षका किशोरी तथा युवतीहरु केन्द्रमा आउने गरेको बताइन् । गर्भपतनले कानुनी मान्यतापाएपछि सुरक्षित रुपमा गर्भपतन गराउनेहरुको संख्या बढेको छ । तर, त्यसमा अधिकांश किशोरी तथा युवतीहरु देखिएका छन् ।

नर्स गुरुङले तीन महिना भन्दा बढीको गर्भपतनका लागि आफुहरुले सुविधासम्पन्न अस्पतालमा सिफारिस गर्ने गरेको बताइन् । संघको तथ्यांक अनुसार सन २०१२ मा ४ सय ६१, २०१३ मा ६ सय ३९, २०१४ मा ७ सय ३८, २०१५ मा ६ सय ४० र २०१६ को ३ महिनामा २ सय २२ जना महिलाहरुले नेपाल परिवार नियोजन संघ वुटवल शाखाबाट गर्भपतन गराएका छन् । जसमध्ये सन २०१४ मा १५ वर्ष देखि १९ वर्ष भित्रका ३८ जना, २०१५ मा ४१ जना, र २०१६ को ३ महिनामा १३ जना किशोरीले संघबाट गर्भपनत गराएको तथ्याङमा उल्लेख गरिएको छ ।
अस्थाई साधन प्रयोग गर्ने झन्झट र पसलमा किन्दा लाज मान्ने कारण असुरक्षित गर्भ रहने गरेको अनुमान गर्छिन् । “यसरी गर्भ रहने सवै स्वास्थ्य संस्थामा आउँछन् भन्ने छैन । असुरक्षित गर्भपतन गराएका हुनसक्छन् ।” उनले भनिन् ।

त्यसैगरी लुुम्विनी अञ्चल अस्पताल वुटवलमा आर्थिक वर्ष ०६९÷०७० मा ४ सय ६२, ०७०÷०७१ मा ४ सय २१, ०७१÷०७२ मा ४ सय ४६ जनाले गर्भपतन गराएका थिए  । अबैध रुपमा औषधी प्रयोग गरि गर्भपतन गराउनेको संङख्यामा पनि कमी छैन । जथाभावि औषधी प्रयोग गर्नाले  जटिल स्वास्थ्य समस्या देखापर्ने गर्दछ । ति जटिलताको उपचार गर्न (पोष्ट एवरसन केयर) आउनेहरुमा आ.ब ०६९÷०७० मा ३ सय ९४, ०७०÷०७१ मा ३ सय ५४, ०७१÷०७२ मा २ सय ९७ जना रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

लुम्विनी अञ्चल अस्पताल वुटवलका मेडिकल अधिकृत लक्ष्मिराज रेग्मी गर्भपतन गराउने महिलामा २–३ प्रतिशत मात्रै ३५ वर्षभन्दा माथि उमेरका हुने बताउँछन् । उनका अनुसार गर्भपतन गराउनेमा धेरैजसो किशोरी तथा युवती नै हुन्छन् ।

सुरक्षित रुपमा गर्भपतन सेवा उपलव्ध गराउदै आएको वुटवलको अर्को संस्था मेरी स्टोपमा सन २०१३ मा १ हजार ३ सय ८९, २०१४ मा २ सय ८४, २०१५ मा ४ सय ९ र २०१६ को पछिल्लो ३ महिनामा २ सय ५७ जनाले गर्भपतन गराएका छन् । जसमध्ये उक्क्त संस्थामा महिनामा ५० देखि ६० जना मध्ये ४ देखि ५ जना किशोरी र  युवती आउने गरेको पाईएको छ ।

कहिलेकाही औषधी पसलबाट औषधी सेवन गरेपछि गर्भपतन सफल नभएपछि अन्तिम अवस्थामा महिलाहरु उपचारका लागि आउने मेरीस्टोप वुटवल सेन्टरकी टीम लिडर रुपा परियारले बताइन् । उनका अनुसार यस्तो अवस्थामा पुगेका महिला सन् २०१५ मा ४३ र २०१६ को तीन महिनामा ३० जना उपचारका लागि केन्द्रमा आएको उनि बताउछिन ।

यसरी जथाभावी औषधी प्रयोग गरि गर्भपतन गराउन खोज्दा महिलाहरुमा तल्लो पेट दुख्ने,सेतो पानि बग्ने, पाठेघरको क्यानसर हुने, बाझोपन हुने तथा अत्यधिक रक्त्तश्राव भई बेहोस हुने र रक्तअल्पता  जस्ता जटिल स्वास्थ्य समस्या  देखापर्ने गरेको परिवार बताउछिन ।

वुटवलको अर्को संस्था मेरी स्वास्थ्य सेवा केन्द्रमा प्रत्येक महिना कम्तीमा ५० जना महिलाहरुले गर्भपतन गराउने गरेका छन् । जसमध्ये ४ देखी ५ जना किशोरी आउने गरेका छन् । सरकारी निति नियम प्रभावकारी नभएका कारण भन्दै सो केन्द्रले तथ्याङक अध्यावधिक गरेको छैन् । सरकारी निकायबाट अनुगमन, मुल्याकन र जथाभावी औषधी बेच्नेलाई कारबाही नहुदा बजारमा पाईने औषधीको प्रयोग गरि गर्भपतन गराउदा महिलाको स्वास्थ्य झन जोखिममा परेको केन्द्रका कार्यक्रम संयोजक बसन्त सापकोटा बताउछन् । गर्भपतनलाई नियमन गर्न प्रभावकारी कानुन बनाई कार्यन्वयनमा ल्याउन आवश्यक छ उनी भन्छन ।

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीको मातहतमा संञ्चालित १३ बटा सरकारी तथा ५ बटा निजि अस्पताल र मेडिकलले तथ्याङक बुझाउने गर्दछन् । उक्त्त कार्यालयमा आ.ब २०६९।०७० मा ३ हजार ३ सय ४२ जना, ०७०।०७१ मा ३ हजार १ सय ८४ र ०७१।०७२ मा ३ हजार ७ सय ५६ जना महिलाले गर्भपतन गराएको तथ्याङकमा उल्लेख छ । जसमध्ये ०७१।०७२ मा मात्रै १५.०६ प्रतिशत किशोरी रहेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयको रेकर्डमा जति तथ्याङक देखिएको छ त्यसलाई मात्र आधार मान्न सकिदैन किनकी गर्भपतन गराउने मान्यता नपाएका नीजि स्वास्थ्य क्लिनिकहरुमा र भारतका बिभिन्न स्वास्थ्य केन्द्रहरुमा अवैध रुपमा गर्भपतन गराउनेहरुको सङख्यामा पनि कमि छैन । जसको कुनै रेकर्ड हुँदैन ।

असुरक्षित रुपमा गर्भपतन गराउँदा धेरै महिलाहरुले अकालमा ज्यान गुमाएपछि गर्भपतनले कानुनी मान्यता पाएको हो । जसका कारण मान्यता प्राप्त स्वास्थ्य संस्थाहरुमा सुरक्षित रुपमा गर्भपतन गराउने महिलाको संख्या बढेको हो ।

स्त्री रोग विशेषज्ञ डा प्रायश्चित श्रेष्ठ असुरक्षित गर्भधारण स्वास्थ्यका हिसावले जोखिम भएको बताउँदै गर्भपतन गराउन नहुने सल्लाह दिन्छन् । “गर्भपतन गराउनु स्वास्थ्यका दृष्टिकोणले जोखिम हो । गर्भपतन गराउँदा बाँझोपन र क्यान्सरको संभावना हुन्छ ।” उनले भने ।

गर्भपतनले कानुनी मान्यता पाएपनि अहिलेपनि धेरै महिलाहरुले असुरक्षित रुपमा गर्भपतन गराउने गरेको स्वास्थ्य क्षेत्रका विज्ञहरु बताउँछन् । लिङ्ग पहिचान गरि गर्भपतन गराउन कानुनले प्रतिवन्ध लगाएको छ । तर समाजमा रहेको लैङ्गिक बिभेदताका कारण, लुकुछिपि रुपमा भ्रुण पहिचान गरी छोरी भएकै कारण गर्भपतन गराउनाले पनि पछिल्लो समय गर्भपतन गराउनेको सङख्यामा बृद्धी भएको चिकित्सक बताउँछन ।

लुम्विनी अञ्चल अस्पतालका सुपरिटेण्डेन एवं रेडियोलोजिष्ट डा. राजेन्द्र प्रसाद खनाल लैङ्गिक विभेदलाई अन्त्य गर्न सरकारले अल्ट्रासाउण्ड संचालनमा कडाई गर्नुपर्ने सुझाव दिन्छन् । उनका अनुसार भारतमा अल्ट्रासाउण्ड संचालन गर्ने निकायले प्रबिधिमा भएको सबै रेकर्ड सरकारी निकायलाई दिनुपर्ने नियम रहेको छ । नेपालमा पनि यस्तै प्रकारको कानुनी ब्यवस्था भएमा गर्भपतनमा देखिएको लापरवाहीमा केहि न्युनिकरण गर्न सकिने उनि बताउछन् ।

कानुनमा ९ हप्तासम्मको गर्भलाई औषधिद्वारा गर्भपतन गराउन पाउने अधिकार छ । कतिपय महिलाले औषधि नपाउने डरमा ढाँटेर औषधि किन्छन् । समय लम्बिएको गर्भपतन गराउँदा अत्यधिक रक्त श्राव हुनसक्छ । त्यसबाट ज्यानसमेत जानसक्ने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार गर्भपतनका लागि खाने औषधि संवेदनशील भएकाले मात्रा र समय मिलाएर खाएन भने विषमा परिणत हुन्छ ।

गर्भपतनका लागि औषधि व्यवस्था विभागले चारवटा ब्रान्डका औषधिलाई मात्र बिक्री गर्ने अनुमति दिएको छ । तर दर्जनौ ब्रान्डका औषधि बजारमा बिक्री भइरहेका छन् । औषधि व्यवस्था विभागले त्यसको निगरानी गरि जथाभावि औषधि बिक्रि गर्नेलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ ।

२०६० सालमा सुरु भएको सुरक्षित गर्भपतन सेवा यससम्बन्धी राष्ट्रिय नीति लागू भएपछि मुलुकभर विस्तार गरिएको छ । सेवा विस्तारसँगै विकृति बढेको जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती बताउँछिन् । उनका अनुसार औषधिद्वारा गरिने गर्भपतन परिवार नियोजनको साधन बन्दैछ । परिवार नियोजनको साधन प्रयोग गरेर जीवन सुरक्षित बनाउनुको सट्टा महिला जथाभाबी औषधि खाएर मृत्यु अँगाल्न थालेका छन् । ‘पहिले हामीले गर्भपतनलाई मान्यता दिनुपर्छ भन्ने आवाज उठायौं । त्यसले राम्रै प्रतिफल दियो तर पछिल्लो समय त्यसको दुरुपयोग व्यापक रूपमा हुन थाल्यो’, उप्रेतीले भनिन, ‘यसरी जथाभाबी रुपमा औषधि खाएर गरिने गर्भपतनविरुद्ध आवाज उठाउनुपर्छ ।’

गर्भपतनको अर्को कारण बाल विवाह पनि हो ।  सानै उमेरमा गर्भधारण गर्ने र उमेर नपुग्दै गर्भ रहेको भन्दै गर्भपतन गराउन भन्दै  बुहारी लिएर सासु नै आउने गरेको चिकित्सकहरु बताउछन् ।

विद्यमान कानुन अनुसार १२ हप्ता सम्मको गर्भलाई महिलाहरु स्वच्छिक रुपमा गर्भपतन गराउन सक्छन । तर जवरजस्ती करणी वा हाडनाता भित्र गर्भ रहन गएमा १८ हप्ता सम्मको र इजाजत प्राप्त चिकित्सकले आमा र बच्चा वा दुईमध्ये कुनै एकको ज्यान जोखिम रहेको भनि गर्भपतन गराउन सिफारिस गरेको अबस्थामा जुन सुकै बखत महिलाले गर्भपतन गराउन सक्ने कानुनी व्यवस्था छ ।_स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com