सलिम हुने सपनाले कुलतमा फसायो

काठमाडौं बैशाख ४,

शर्मिला सोच्थिन्– ऐनासामु उभिँदा आफ्नो शरीर 'स्लिम' अर्थात् 'पर्फेक्ट' देखियोस्, देख्नेहरुले उनलाई 'वाह! क्या सुन्दर!' भनून्। उनी जस्तो सोच्थिन्, सपना पनि उस्तै देख्थिन्– स्लिम–स्लिम बडी।

अन्य साथीहरुझैं स्लिम बन्नु र साना साइजका कपडामा फिट देखिनु उनको ठूलो सपना थियो।

सपना मौलाउँदै गयो र त्यही स्लिम बन्ने सपना पूरा गर्न देखासिकीमै उनले अँध्यारो बाटो हिँड्न सुरु गरिन्।

शर्मिलाले २१ वर्षको उमेरमै सिरिन्ज प्रयोग गर्न थालिन्। आफ्नो फिगर मेन्टेन गर्न तीन वर्षसम्म निरन्तर सिरिन्जमार्फत विभिन्न लागुऔषध लिइरहिन्।

अन्ततः उनको शरीर मात्र स्लिम भएन, लागुपदार्थको कुलतमै फस्न पुगिन्।

सिरिन्ज नलिई बाँच्नेबारे उनी सोच्न पनि नसक्ने भइन्।

परिवारले लागुऔषधको कुलतबाट छुटाउन उनलाई सुधारकेन्द्रमा भर्ना गरिदिए। परिवारको आशा थियो– त्यहाँ बसेपछि शर्मिला सुधि्रनेछिन्, असल बाटो रोज्नेछिन्।

परिणाम भने त्यस्तो आएन। सुधारकेन्द्रमा केही समय बस्दा सुधारका लक्षण देखिँदै थियो तर उनलाई बिस्तारै डिप्रेसनले गाँज्न थाल्यो।

'मैैलै लागुऔषध प्रयोग गर्दा म जम्मा ५० केजीकी थिएँ तर सुधारकेन्द्र बसेर आफूलाई परिवर्तन गर्न खोज्दा मेरो तौल बढेर ७० केजीसम्म पुग्यो। जब म त्यहाँबाट निस्किएँ, मैलै पहिलेको भन्दा बढी लागुपदार्थ प्रयोग गर्न थालेँ,' शर्मिलाले नागरिकसँग कुलतको भोगाइ बिसाइन्।

स्लिम बन्ने सपना पछ्याउँदै, उनी हरेक दिन लागुऔषधको दललदमा फस्दै गइन्। उनलाई आफ्नो समाज र परिवारको कुनै पर्वाह रहेन, न बिग्रँदो स्वास्थ्यप्रति नै कुनै मतलब थियो। उनका लागि लागूपदार्थ सेवन नै तौल घटाउने सहज तरिका थियो, साथीहरुका अगाडि सुन्दर देखिने अचुक उपाय थियो।

'जुनै प्रकारका लागुऔषध प्रयोग गरे पनि मलाई एकदम राम्रो लाग्थ्यो। किनकि म आफ्नो पुरानो तौलमा फर्किरहेकी थिएँ र आफ्नो सुन्दर शरीर प्राप्तिमा फेरि सफल हँुदै थिएँ,' उनले सुनाइन्।

शर्मिला जो अहिले जोरपाटीस्थित सोबर रिकभरी टि्रटमेन्ट एन्ड रिह्याबिटेसन सेन्टरमा छिन्।

२८ वर्षकी उनले आफ्नो करिअरमा मोडलिङ क्षेत्रमा समेत काम गरिसकेकी छिन्। 'त्यति बेला लागुऔषध प्रयोगले मलाई चरम आनन्द दिन्थ्यो र क्यामेराका अगाडि पोज दिँदा कन्पि्कडेन्स पनि,' उनले सम्भि्कइन्।

पाँच फिट सात इन्चकी शर्मिलाले जब आफू दुर्व्यसनमा फसिसकेको थाहा पाइन्, एकदमै ढिला भइसकेको थियो। अहिले आफूलाई सुधार्ने चरणमा रहेकी उनमा बल्ल परिवार र समाजप्रति सोच्ने बानी परेको छ।

'आफ्नो शरीरमा रहेको सम्पूर्ण लागुऔषध निकालेर अब म आफ्नो जिन्दगी परिवर्तन गर्न चाहन्छु। मलाई नयाँ जिन्दगी चाहिएको छ,' उनी भन्छिन्।

यसै गरी, शशिले पनि २३ वर्ष लाग्नेबित्तिकै गाँजा खान थालेकी थिइन्। उनको पनि लक्ष्य एउटै थियो– मोटाउँदै गएको बडी मेन्टेन गर्ने, स्लिम बन्ने। लगातार पाँच वर्ष गाँजा सेवन गर्दा पनि आफूले चाहेजति तौल नघट्दा भने उनी निराश भइन्। तौल बल्ल ८० केजीमा झरेको थियो।

त्यसपछि बिस्तारै उनी पनि लागुपदार्थको दलदलमा फस्दै गइन् । २५ वर्षको हुँदासम्म त सबै प्रकारका लागुऔषध प्रयोग गर्न थालिन्।

'मेरो विश्वासमा लागुऔषध प्रयोग गर्नाले सहजै तौल कम गरेर सुन्दर शरीर प्राप्त गर्न सकिन्छ भन्ने थियो। त्यही विश्वासलाई पछ्याउँदै मैले ब्राउन सुगर, हेरोइन र सिरन्ज प्रयोग गर्न थालेँ,' उनले सुनाइन्, 'मेरा साथीहरुले पनि उत्तिकै हौसला दिए, स्लिम बन्ने सपना साकार बनाउँदा बनाउँदै मैले आफू दुर्व्यसनमा फसेको पत्तै पाइनँ।'

उनले त्यस समय केही तौल त घटाइन् तर जब लागूऔषध सेवनबाट बाहिर आइन्, तौल झन् बढ्न थाल्यो। '२८ वर्षको उमेरमा मैले आफ्नो परिवारको सहयोगमा लागूपदार्थको संसारबाट बाहिरिन सफल भएँ, मेरालागि सबैभन्दा महŒवपूर्ण कुरा यही हो,' उनले भनिन्।

सोबर रिकभरी टि्रटमेन्ट एन्ड रिह्याबिटेसन सेन्टरका संस्थापक निर्देशक छिरिङ

वाङ्दो भने लागूपदार्थ प्रयोग केटा र केटीमा फेसनका रुपमा उदाएको बताउँछन्। छ वर्षदेखि सो संस्था चलाइरहेका उनले पछिल्लो चार वर्षमा स्लिम बन्नकै लागि लागूऔषध प्रयोग गरेका थुप्रै बिरामी ह्यान्डल गरेको सुनाए।

'ग्ल्यामर र लागुऔषध एकअर्कासँग निकै नजिकको सम्बन्ध छ। हाम्रो संस्थाले अहिलेसम्म यस्ता २० वटा केस ह्यान्डल गरिसकेको छ,' उनले नागरिकसँग भने।

एकपटक लागुऔषध दुर्व्यसनमा फसेकामा सुधि्रसकेपछि पनि वजन बढ्ने सम्भावना बढी रहेको उनी बताउँछन्।

नेपाल प्रहरीको नारकोटिक्स कन्ट्रोल ब्युरो ‐एनसिबी) भने यस्तो नयाँ ट्रेन्डबारे जानकार छैन। 'अहिलेसम्म केटी वा केटाले शरीरको वजन कम गरी फिगर मेन्टेन गर्न लागुऔषध प्रयोग गरेको घटना हाम्रो रेकर्डमा छैन,' एनसिबीका डिएसपी अपिल बोहराले भने। एनसिबीमा दर्ता भएका केसमा दुर्व्यसनका धेरैजसो कारण साथीको दबाब, पारिवारिक समस्या, रमझम र पढाइलगायत रहेको उनले सुनाए।

केन्द्रीय तथ्यांक विभाग ‐सिबिएस) को का अनुसार १० वर्षअघि विभिन्न खालका लागुऔषध प्रयोग गर्ने १५ देखि ६५ उमेरका केटी तथा महिलाको संख्या ३ हजार ३५ थियो। त्यो संख्या पाँच वर्षयता बढेर ६ हजार ६ सय ३० पुगेको छ।

सञ्चालक छिरिङ कतिपय परिवार छोरी कुलतमा लागेको थाहा पाए पनि बाहिर ल्याउन नचाहने अनुभव सुनाउँछन्। 'समाजको डर वा पारिवारिक प्रतिष्ठासँग मिलाएर छोरीलाई हेर्ने सोचका कारण कुलतमा लागे पनि हतपत बाहिर ल्याउन नखोज्ने परिवार धेरै छन्,' उनले भने।स्रोत-नागरिक न्युज;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com