बहिनी बनाएर लुटिएँ, छोरी बनाएर बलात्कृत भएँ - शारदा भुसाल

 काठमाडौं फागुन २६,

 भ्रष्टाचारविरोधी अभिन्यताको 'विवादास्पद' आत्मकथा

 भ्रष्टाचारविरोधी सामाजिक अभियन्ता शारदा भुसालले आफू किशोरी अवस्थामा त्राशदीपूर्ण यौन हिंसामा परेको र बलात्कृत भएको बताएकी छिन् । ‘धरातल’ नामको मोटो आत्मकथा नै लेखेर भुसालले यस्तो दाबी सार्वजनिक गरेकी हुन् ।

अर्घाखाँचीमा जन्मेर अहिले ४० वर्ष पुगेकी सामाजिक अभियन्ता भुसालले किन आफूमाथि बलात्कार भयो भन्ने लेखिन् ? के उनी साँच्चै यौन हिंसामै परेकी हुन् त ? यसबारे चासो राख्दा उनले अनलाइनखबरसँग यस्तो वयान दिइन्:

मेरो जीवनमा भ्रष्टाचारविरोधी अभियानको एउटा पाटो छ भने जीवनीको अर्को पाटो पनि छ । त्यसैले यो व्यक्ति कस्तो हो भन्ने समाजमा पहिचान होस् र समाजले मेरा बारेमा राम्रोसँग चिनोस् भनेर ‘धरातल’ शीर्षकको आत्मकथा किताब लेखेकी हुँ ।

अन्ना हजारेसँगको भेट
भ्रष्टाचारको विरोधमा पहिलोचोटि आमरण अनसन बसेकाबेला भारतको आजतक टीभीले मेरो इन्टरभ्यु लिएको थियो । स्टार न्युजबाट पनि पत्रकारहरु आएका थिए । उनीहरुले अन्ना हजारेको कुरा गरे । मलाई अन्ना हजारेका बारेमा त्यतिबेलासम्म खासै जानकारी थिएन । त्यसपछि हामीले अन्ना हजारेका बारेमा चासो लियौं । उनी दिल्लीमा, जन्तरमन्तरमा अनसन बसेको थाहा पायौं ।

हामीलाई अन्ना हजारेले कसरी भ्रष्टाचार विरोधी अभियान चलाएका रहेछन्, एकपटक उनीसँग भेटौं न त भन्ने लाग्यो । हामीले उहाँलाई इमेल गर्‍यौं । त्यसपछि हामी अन्ना हजारेलाई भेट्न भारत गयौं । उहाँले साढे दुई घण्टाजति हामीलाई समय दिनुभयो ।

हामीले अन्ना हजारेलाई भादगाउँले टोपी उपहार लगिदिएका थियौं । उहाँले भन्नु पनि भयो, अरुले ल्याएको भए उपहार लिन्नथें, तपाईहरु भ्रष्टाचारविरोधी अभियन्ताले ल्याएको हुनाले ग्रहण गर्छु भन्दै आफ्नो टोपी निकालेर नेपाली टोपी लगाउनुभयो । उहाँले नेपाल आउने र एउटै मञ्चमा बसेर कार्यक्रम गर्ने इच्छा पनि गर्नुभयो ।

उहाँले चलाएको अभियानका विषयमा कुरा गर्‍यौं । भारतमा जन लोकपाल विधेयकको माग भइरहेको थियो, नेपालमा त जनलोकपाल जस्तै अख्तियार पहिल्यै छँदैछ, अब भ्रष्टाचार विरुद्ध राष्ट्रिय स्तरबाटै आन्दोलन नउठाई हुँदैन भन्ने कुराकानी भयो । उहाँले सहकार्यबाट कार्यक्रमहरु गरौं भन्नुभयो ।

विवाह भनेको के हो भन्ने थाहा भएन । कसैले बाबु बनाएर, कसैले छोरी बनाएर लिएर गए । पछि मात्रै विवाह गरेको भन्ने थाहा भयो

हजारेले हामीसँग धेरै आत्मियतापूर्ण व्यवहार गर्नुभयो । उहाँले नेपालबाट भ्रष्टाचारको विरोधमा काम गर्छौं भनेर यसरी आफूलाई भेट्न कोही पनि आएको थिएन भन्दै खुशी व्यक्त गर्नुभयो । मैले आफूले जीवनमा भोगेका कुराहरु राखें । उहाँ रुनुभयो । उहाँ एकदमै भावुक बन्नुभयो ।

मैले भोगेको यौन हिंसा
आफूले जान्ने भएको उमेरदेखि नै परिवारबाट धेरै पीडा सहियो । त्यसपछि फेरि नावालिक हुने बेलामा यौन हिंसामा परियो । त्यसपछि विवाह भनेको के हो भन्ने थाहा भएन । कसैले बाबु बनाएर, कसैले छोरी बनाएर लिएर गए । पछि मात्रै विवाह गरेको भन्ने थाहा भयो ।

२६ वर्षकी भएपछि महिला हिंसा, भ्रष्टाचार विरोधी अभियान अनि पार्टीहरुको आचरण सबै कुराहरु देखें ।
अहिले मेरो उमेर ४० वर्षको भयो । यो उमेरसम्म मैले जे भोगें, ती कुराहरुका बारेमा एउटा लेख लेखेर वा दुई शब्दमा बोलेर सकिँदैनथ्यो । त्यसले यो विषयमा मैले आत्मकथा लेखेकी हुँ ।

हुन त धेरै व्यक्तिहरुले यो आत्मकथा लेख्ने उमेरै हैन पनि भन्नुभयो । तर मभित्र एउटा पीडा छ, त्यो पीडाले गर्दाखेरि अगाडिका कामहरु गर्न दिमाग गहु्रंगो भइराखेको हुन्छ । त्यसैले यी पीडाहरुलाई ‘धरातल’ मा पोखें । र, यसले मलाई अब चिन्तामुक्त गरिदियो । मलाई आफ्नो भ्रष्टाचारविरोधी अभियानमा अगाडि बढ्न सजिलो होस् भनेर मैले यो आत्मकथा लेखेकी हुँ । यो आत्मकथा एकदमै जरुरी थियो । यो आत्मकथा मेरो जीवनको यथार्थ भोगाइ हो ।

म जतिबेला यौनहिंसामा परें, त्यसबेला मलाई कहाँ जाने, कता उजुरी गर्ने भन्ने केही पनि थाहा थिएन । आजभन्दा २६ वर्ष अगाडि १२/१४ वर्षको उमेर भनेको धेरै पुरानो समाज थियो । त्यतिबेला कहाँ जाने, कसलाई भन्ने ? जब आफ्नै बाबुआमा, आफ्नै दाजुभाइहरुबाट पीडित भएको मान्छेले समाजमा कहाँ गएर भन्ने ? त्यस्तो अवस्था थियो ।

दोस्रो कुरा, जतिबेला ममाथि यौन हिंसा भयो, मलाई बलात्कार गरियो, मेरो अस्मिता लुटियो, त्यतिबेला म कस्तो अवस्थामा थिएँ भने मलाई बेहोस हुने सुई लगाइन्थ्यो । मलाई रेप हुँदाखेरि म गाउँ टोल थर्कमान हुने गरी चिच्याउँथें । त्यसपछि मलाई इन्जेक्सनहरु लगाउन थालिएको थियो ।

मेरो सोच्न सक्ने अवस्था थियो, तर पछि ट्याब्लेटहरु खान थालिसकेपछि मलाई निन्द्रा नलाग्ने अवस्थामा म पुगेकी थिएँ । तर, पुलिस प्रशासन वा अरु ठाउँमा भन्नुपर्छ भन्ने मलाई त्यतिबेला ज्ञान भएन । किनभने म भर्खर ६/७ कक्षा पढ्दै गरेकी किशोरी थिएँ । गाउँमा अहिलेजस्तो चेतना थिएन । तुरुन्तै भागेर घरमा जाँदा पनि बाबुआमाले उल्टै मलाई नै गाली गरेर मरणासन्न हुने गरेर पिट्थे । त्यसबेला मधेसका एकजना व्यक्तिलाई पनि मसँग आरोप लगाएर पिटेका रहेछन् ।

यहाँ (काठमाडौंं) बाट निस्केर गइसकेपछि म महोत्तरीमा बसें, सोलुखुम्बु बसें । त्यतिबेला पनि मैले कसैमाथि विश्वासै गर्न सकिँन । दाजु बनेर पनि मलाई लुटे । त्यही मधेसका व्यक्तिले पनि मलाई पढाउने, विवाह गरिदिने भनेर बाबु बनेर लिएर गए । उनले पनि मलाई लुटे ।

मलाई कस्तो लाग्थ्यो भने हरेक व्यक्ति भनेको लुट्नलाई मात्रै हो । छोरी बनाएर पनि लुट्छन् । बहिनी बनाएर पनि लुट्छन् । म यसरी डराउँथें कि कसैलाई पनि मनको भावना व्यक्त गर्न सकिँन ।

आफ्नै बाबुआमालाई त मैले विश्वास गर्न सकिँन भनें अरु मानिसहरु मलाई विश्वास नै लाग्दैनथ्यो ।
मैले ०५१ सालबाट मधेसमा महिला हिंसाविरुद्ध अभियान सुरु गरें । उनीहरुका व्यथाहरु सुनें । उनीहरुलाई जलाइएका, विष खुवाइएका घटनाबाट म भावुक भएँ ।

यसक्रममा मैले महिला हिंसाका विरुद्ध काम गर्ने विभिन्न संघसंस्थाहरु देखें, जसले महिला हिंसाका विरुद्धमा काम गर्दारहेछन् । तर, जति पनि नारीहरु हिंसाबाट पीडित भएका छन्, उनीहरुले न्याय पाएको देखिँन ।

किनभने त्यस्तो संस्थामा काम गर्नेहरुले पैसा ल्याउनुहुन्छ, फोटो खिच्नुहुन्छ, मिडिया बोलाउनुहुन्छ, प्रशासनमा जानुहुन्छ, डाक्टर बोलाउनुहुन्छ, लड्नुहुन्छ, सारा गर्नुहुन्छ । उहाँहरुको प्रगति पनि हुन्छ । प्रगति विवरण पनि बनाउनुहुन्छ । तर, पीडितले न्याय पाएको अवस्था चाँहि मैले देख्दिँन । दोस्रो कुरो मैले के देखें भने त्यो पैसाको लेनदेन हुँदोरहेछ । प्रशासन, राजनीतिक दल र डाक्टरलाई पनि रेपै नभएको प्रतिवेदन दिनेगरी भित्रभित्रै मिलाइँदोरहेछ ।

यो सबै देखेपछि मलाई के लाग्यो भने त्यसरी पनि मैले न्याय पाउँदिन रहेंछु । मेरो पनि त्यस्तै प्रगति विवरण बन्ने रहेछ । कसैले मेरो नामा प्रचारवाजी गर्ने रहेछ, म रोएको रोयै, उनीहरुले कमाएको कमायै । उनीहरुचाँहि राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा ख्याती कमाउने रहेछन् । पीडित चाँहि गाउँमै रोएको रोयै छ ।

लीलामणि पौडेललाई सुनाएँ
मैले आफ्नो किताबमा उधृत गरेका पूर्वमन्त्री र बहालवाला मन्त्रीका बारेमा अहिलेसम्म कतै उजुर-बाजुर गरेकी छैन । तर, एकजना व्यवसायीका विषयमा भने तत्कालीन मुख्यसचिव लीलामणि पौडेललाई भेटेर भनेकी थिएँ ।
मैले भेटिसकेपछि उहाँले तत्कालीन गृहसचिव नविन घिमिरेलाई फोन गर्नुभयो । ‘शारदाजीले एउटा केस लिएर आउनुभएको छ, त्यो दर्ता गरेर हामीले हेर्नुपर्छ, ह्याण्डल गर्नुपर्छ’ भन्नुभएको हो । ती व्यवसायीले गोर्खा दक्षिणबाहु पनि पाएका रहेछन् । उनी त्यसबेला बैंक डुबाएको आरोपमा वारेण्टकै सूचीमा परेका व्यक्तिसमेत रहेछन् । उहाँले हामी कारवाही गर्छौं भन्नुभयो ।

मैले त्यसरी निवेदन दिएको दुई दिनपछि बुधबार साप्ताहिकले उनका बारेमा समाचार पनि छापेको थियो । मिडियामा आएपछि पत्रिकासमेत जलाइएछ । अर्को दिन गोरखापत्रले ‘बुधबार जलाइयो’ भन्ने समाचार छाप्यो ।

मैले अहिले किताबमा यसरी आफू बलात्कृत भएको र यौन हिंसाको शिकार भएको आत्मकथा लेखेको किन हो भने त्यसबेला ममाथि जुन अन्याय र अत्याचार भएको थियो, त्यसबारे उनीहरु जीवितै हुँदाखेरि मिडियाले पनि सोध्ला, समाजले पनि प्रश्न गर्ला र मैले न्याय पाउँन सकौंला ।

कमसेकम उनीहरुलाई कानूनी कारवाही भएन भने पनि नागरिकहरुले यी मान्छेहरु गलत र ढोंगी रहेछन् भन्ने थाहा पाउन् । यति भए पनि मलाई न्याय पाएको महसुस हुन सक्छ ।

आज उनीहरुसँग सामनेमा भइयो भने म यसबारेमा भन्न सक्छु । हिजो पो डराउँथें, अब त डराउँदिन ।

समाज अझै भ्रष्ट बन्छ जस्तो लाग्छ
भ्रष्टाचारलाई निर्मूल गर्न त सकिँदैन, तर, न्युनीकरण गर्न सकिन्छ । यसका लागि जनस्तरबाटै अभियान चलाउनुपर्छ । हामी एक/दुईजनाले मात्रै गरेर हुँदैन । त्यसैले हामीले अहिले गाउँ र जिल्लाहरुमा जनशक्ति निर्माण गर्ने र जनआन्दोलन नै चलाउनुपर्ने सोचेका छौं । एकजना व्यक्ति वा मन्त्रीलाई मात्रै कारवाही गरेर समस्या समाधान हुँदैन ।

हामीले ‘शारदा फाउण्डेसन नेपाल’ बनाएका छौं । म त्यसको संयोजक छु । डडेलधुराका रतनबहादुर चन्द अध्यक्ष हुनुहुन्छ । अहिले हामी सूचनाको हकलाई प्रभावकारी बनाउनुपर्छ भन्ने अभियानमा लागिरहेका छौं । नागरिक बडापत्रलाई अनिवार्यरुपमा राख्ने व्यवस्था गरिनुपर्छ भन्ने अभियान पनि हामीले चलाइरहेका छौं । यसै विषयमा जिल्ला-जिल्लामा काम भइराखेको छ ।

हामीले महोत्तरीमा सुशासनका लागि संघर्ष समिति गठन गरेका छौं । त्यसको अध्यक्ष कञ्चन साह हुनुहुन्छ, म त्यसको अभियन्ता हुँ । २४ वटा गाविसमा हामीले कमिटी बनाएका छौं ।

भ्रष्टाचार भनेको राष्ट्रिय समस्या हो, यसलाई समाधान गर्न राष्ट्रिय स्तरकै अभियान जरुरी छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कुरा गर्दा आफैं भ्रष्टाचारमा मुछिएका व्यक्तिहरु आयुक्त बन्नुभएको छ, त्यहाँबाट भ्रष्टाचारलाई नियन्त्रण गर्ने होइन कि भ्रष्टाचारीहरुलाई बचाउने कामचाँहि भइरहेको जस्तो मलाई लागिरहेको छ । मैले त्यहाँ दिएका हजारौं उजुरीहरुको फाइलै हराएको छ ।

प्रधानमन्त्री कार्यालयमा मैले दिएको उजुरीको फाइल हराएर शान्तराम सुवेदीले एकचोटि माफी नै माग्नुपर्‍यो । राष्ट्रिय सतर्कता केन्द्रमा सूचना माग्दा फाइलै छैन भन्छन् ।

अहिले बनेको संविधानले पनि भ्रष्टाचार नियन्त्रण गर्ने कानूनलाई बलियो बनाउनुको साटो खुम्च्याएको अवस्था छ । ‘अनुचित कार्य’ भन्नेलाई खुम्च्याइएको छ । सूचना प्रवाहको हक पनि पर्याप्त छैन । यसले गर्दा नयाँ संविधानले पनि भ्रष्टाचारीलाई कारवाही गर्न सकिने गरी दह्रो कानून बनाउने ठाउँ दिएको छैन । तर, अब कस्तो कानून लिएर आउने हुन्, त्यो हेर्न बाँकी छ ।

पार्टीहरुको हकमा कुरा गर्दा जुन जोगी आए पनि कानै चिरेका भन्छु म त ।

नेपालमा अबको ५/१० वर्ष अझै भ्रष्टाचार बढ्ने सम्भावना देखेकी छु मैले । नेपालीको सोचाइ नै कस्तो भयो भने कोही जन्मिदियोस् भन्ठान्ने, तर आफैं अगाडि नसर्ने । आफूचाँहि नसुधि्रने, अरुले मात्रै गरिदियोस् भन्ठान्ने । कसैले केही गरिराखेको छ भने उसका पछाडिबाट खुट्टा तान्ने । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न नसक्ने प्रवृत्ति छ नेपाली समाजमा ।स्रोत-अनलाइन

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com